सरकारसँग प्रभुका कार्यकर्ताको सहमति, आन्दोलन स्थगित
प्रभु साहको आम जनता पार्टी (आजपा) निकट आम सम्पर्क मञ्चको आन्दोलन स्थगित भएको छ ।
भन्सारसँग सम्बन्धित विभिन्न माग राखेर महिनौँदेखि आन्दोलनमा रहेको मञ्चले सरकारसँग सहमति भएसँगै आन्दोलन स्थगित गरेको हो । भन्सार विभागले ६ बुँदे माग सम्बोधन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने सहमति जनाएको मञ्चले जानकारी दिएको छ ।
मञ्चका अनुसार भन्सार ऐनले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्बाट पारित भएको ‘भन्सार नियमावली, २०६४’ मा रहेको भन्सार क्षेत्र बाहिरबाट हुने चोरी निकासीका सूचना दिनेलाई सुराकी पुरस्कार दिने प्रावधान हटाउन, राष्ट्रसेवक प्रतिवेदकहरुलाई दिइने पुरस्कारसम्बन्धी व्यवस्था खारेज गर्न अर्थ मन्त्रालयलाई लेखी पठाउने सहमति भएको छ ।
त्यस्तै, भन्सार सुधारका लागि प्रविधिमैत्री आधुनिक पूर्वाधारसहितको स्तरोन्नति तथा सेवाग्राहीलाई सहजीकरण, अवैध कारोबार नियन्त्रणजस्ता विषयमा निरन्तर सम्पर्क र संवाद गरी सुधार कार्यलाई निरन्तरता दिने, भन्सारसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्ने, कानुनमा रहेको चोरी निकासी पैठारीको सट्टामा निकासी पैठारीमार्फत राजस्व छली शब्द राख्नका लागि अर्थ मन्त्रालयलाई पत्र लेख्नेलगायतका सम्झौता भएको छ ।
मञ्चले विभिन्न माग राख्दै गत भदौ ३१ गते भन्सार विभागमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । तर, माग सम्बोधन नभएपछि मञ्चले लामो समयदेखि विभागबाहिर निरन्तर धर्ना र प्रदर्शनका कार्यक्रम गर्दै आएको थियो । मञ्चले राखेका मागहरुबारे हिजो र अस्ति विभागमा छलफल तथा संवाद भएको हो ।
छलफलमा विभागका तर्फबाट महानिर्देशक ढुण्डिप्रसाद निरौला, उपमहानिर्देशकद्धय टंकप्रसाद पाण्डेय, रमेश अर्याल, निर्देशक पुण्यविक्रम खड्का र मञ्चका तर्फबाट वरिष्ठ उपाध्यक्ष तिलक थापामगर, उप–महासचिव एवं प्रवक्ता चन्द्रभुषण साह, संयोजक रञ्जुकुमारी साह, उपाध्यक्ष देवेन्द्र ठाकुर र मधेश प्रदेश अध्यक्ष उपेन्द्र साहको उपस्थिति थियो ।
टिप्पणीहरू