प्रभुका एक सय कार्यकर्ताद्वारा सामुहिक राजीनामा

प्रभुका एक सय कार्यकर्ताद्वारा सामुहिक राजीनामा
सुन्नुहोस्

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का एक सय बढी नेता-कार्यकर्ताले पार्टी छोडेका छन् । 

पार्टी केन्द्रीय सचिव तथा मुस्लिम मोर्चाका केन्द्रीय ईञ्चार्ज इसलाम हवारीसहित १०५ जनाले साधारण सदस्यसमेत नरहने गरी आजपा परित्यागको घोषणा गरेका हुन् । उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा अध्यक्ष साहको मनोमानीविरुद्ध बिद्रोह गरेको भनेका छन् । 

विज्ञप्तिमा पार्टीलाई मुलुकभर फैलाउनुको साटो प्रभुले आफ्नो गृह जिल्लामा मात्रै सीमित गरेको आरोप लगाइएको छ । आजपाले मुलुकलाई विकासतर्फ निकास दिन नसक्ने पार्टी छोड्नेहरुको तर्क छ । 

‘पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले पार्टीको विधि विधानविपरीत तानाशाही तरिकाले नातावाद, कृपावाद, जातिवादलाई अहंकार गरी पार्टीलाई बढाउनका सट्टा आफ्नो स्वार्थको लागि गृह जिल्लामा सीमित गरी देशभरीका पार्टीका नेता तथा कार्यकर्तालाई उपेक्षित गरेको हुनाले यस पार्टीले मुलुकलाई विकासतर्फ निकास दिन नसक्ने निष्कर्षमा पुगेका छौ’, विज्ञप्तिमा भनिएको छ,‘तसर्थः आजको मितिबाट यस आम जनता पार्टीका साधारण सदस्य नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट हामी तपसिलका सदस्यहरु सामूहिक राजीनामा साथ पार्टीलाई बहिस्कार गर्दछौ ।’

राजीनामा दिनेमा इस्लाम हवारी, फिरोज हवारी, फुलझरी देवी, मुकेश साह, फहिम हवारी, कासिम मिया, कृष्ण दुवेदी, नाजरा खातुन, रिना गिरी, समिम हवारी, हुसेनी हवारी, मुमताज आलम, सहिद मिया, फनेस साह सोनार, रामबाबु साह, अलिअकबर मिया, सिकु साह, जगदेव राम, सुजन साह, मञ्जुर मिया, पप्पु साह, सैना खातुन, धर्मराज साहलगायत छन् ।
 

टिप्पणीहरू