मुगल सम्राट् वादशाह अकवर

मुगल सम्राट् वादशाह अकवर

हामीले एउटा किस्साको रूपमा कता हो कताको अनि कहिले हो कहिलेको कुरा तथा कथाको रूपमा वादशाह अकवर र उनका मन्त्री वीरबलको बारेमा सुन्ने गरेका छौं । इतिहासको न्युन चासो राख्नेहरूको लागि मात्र किस्सामा सीमित हुन सक्छन् सम्राट् अकवर तर वास्तवमा भारतीय भारतीय उपमहाद्धिपमा शासन गर्ने महान राजा अकवर थोरै सुनेका भन्दा धेरै हुन् । यसर्थ, वास्तवमै को हुन् भन्नेबारे प्रस्तुत आलेखमा केही पस्कने जमर्को गरिएको छ । 

हामीले मुगल सम्राट् र चिनियाँ मिंग अर्थात् छिंग सम्राट्लाई कता कति पानाहरूमा वादशाह भनेर पढ्ने गरेका छौं । भनिन्छ हाम्रै इतिहाससँग जोडिएका कुलमण्डन शाहलाई अवधका राजाले नै शाहको उपाधि दिए । पछि सायद थरको रूपमा आयो वास्तवमा शाह मुगलकालीन अवस्थामा सम्राट् अर्थात् राजाको पदवीको रूपमा देखिन्छ वादशाह । मुगल साम्राज्य पर्सियन शब्द मंगोलबाटै आएको हो तिमुरिदहरू जातीय र धार्मिक रूपमा तुर्कीहरूसँग सम्बन्धित हुन् ।

मंगोलियाका चँगेज खाँका सन्ततिहरू भने हैनन । पछि त्यही मंगोल मुगलको रूपमा अघि बढ्न गयो । कोरियादेखि बुल्गेरिया सम्म फैलिएको चँगेज खाँको साम्राज्य विभाजित हुन थालेपछि सन् १३७० मा उज्वेकिस्तानको समरकण्दमा तिमुरले शासन गरे । उनै तिमुरले खैवर पास पार गरेर दिल्लीका तुगलक उपर आक्रमण पनि गरे । उनैका सन्तती बाबर फरगानामा जन्मिए तर उज्वेकीले शासनमा कब्जा जमाएपछि आफ्नो पुर्खाको शासनमा पकड जमाउन नसक्ने देखेर दक्षिण लागेर १५०४ मा काबुल कब्जा गरे । तिनै बाबरले १५२६ मा दिल्लीका इब्राहिम लोधीउपर हमलामा पहिलो पानीपतको युद्धमा हराएपश्चात् मुगल साम्राज्यको जग राख्न सफल भए । १५२७ मा राना संघ सिसोधियाका शासकसँग युद्ध भयो । बाबरले अफगानिस्तानदेखि गंगाको मैदानसम्म राज्य फैलाए । आग्रालाई राजधानी बनाए । तिमुरिद संस्कार विस्तारै भारतको आग्रामा अघि बढाए । 

जेठो छोरा हुमायूँलाई उत्तराधिकारी घोषणा गरेर १५३० मा बाबरको देहावसान भयो । तर तिमुरीदहरूको परम्पराअनुसार जेठो छोरा नै राजा बन्नु पर्ने नियम नभएको कारण हुमायुँका भाइहरू वीचमा तिब्र शक्ति संघर्ष चर्कियो । भाइहरू कमरान, असकारी र हिन्दालले अनेक षड्यन्त्र गरे । बिभिन्न अरु शासकहरू समेत विरोधमा लागेपछि हूमायूँ पश्चिम लागे । सिन्धमा पर्सियन हमिदा बानु सँग विहे गरे । राजा हुमायूँ र हमिदा बानुबाट सन् १५४२ मा अकवरको जन्म भयो । युवराज छोरालाई छाडेर कान्दाहार जान लागेका वादशाह भाइहरूको डर, अरु शासक तथा भाइभारदारको समेत बलियो साथ नहुनाको कारण पर्सिया ( इरान) मा शरण लिन बाध्य भए । 

पर्सियाका राजाको सहयोगमा १५४४ मा कान्दाहार आक्रमण गरे । भाइ अक्सारी पराजित भए । काबुलमा छोरा अकवर सँग भेट भयो । यस जितमा भब्य भोज भयो । अब अकवरको पढाइ शुरु भयो । तर पढ्नमा भन्दा परेवा उडाउन मन पराउने परे अकवर । त्यसैले उनी लगभग अनपढकै रूपमा रहे । दुख दिइरहने भाइ कामरान सँग लडाइं जारी भयो तर पछि हुमायूँको फौजले समात्यो । उनलाई भारदारी सभाले सजायँ स्वरूप अन्धो बनाउने फैसला ग¥यो । दाजु भाइ वीच भएको सत्ता संघर्ष पश्चात् १५५४ मा मात्र अकवरलाई लिएर हुमायूँ दिल्ली तर्फ अघि बढे । सक्षम सेनापति बहिराम खाँको साथले दिल्ली कब्जा गरे । शिकन्दर शाह सुर पराजित भए पछि १५५५ मा दिल्ली प्रवेश गरे । 

१३ बर्षको उमेरमा राजाले छोरा अकवरलाई सेनापति बहिराम खाँको साथ लगाएर समस्याग्रस्त पन्जावको गभर्नर बनाएर पठाए । बाबु बाबरले लिएको हिन्दुस्तान लिन सफल भएको ६ महिनामा १५५६ मा राजा हूमायूँ विते । दिल्लीभन्दा ५०० किमी पर कलानौरमा रहेका अकवरलाई १३ बर्षको उमेरमा सेनापति बहिराम खाँले ढुँगाको श्रीपेच बनाएर वादशाह घोषणा गरे । यसरी उनी तेश्रो मुगल सम्राट् बने । आमा हमिदा बानु, गुलवदन ( अकवरकी फूपू) लगायत राजपरिवारका सदस्यहरू काबुलबाट दिल्ली आए । वादशाहको निधन भएको र नयाँ वादशाह बालक र कमजोर भएको मौकामा आदिल शाहको सेनाले सेनापति हेमुको नेतृत्वमा आग्रा कब्जा गर्न प्रयास ग¥यो । दोश्रो पानीपतको लडाइंमा बहिराम खाँको नेतृत्वको सेनाले हेमुको सेनालाई पराजित ग¥यो । पक्राउ परेका हेमुको टाउको काबुल पठाइयो र शरीर दिल्लीमा प्रदर्शन गरियो । 

आग्रालाई भने राजधानी बनाइयो । काबुलमा रहेका मुमा रानी लगायत आग्रा फर्किएपछि दरवारियाहरू बालक वादशाहको स्थानमा बहिराम खाँको स्थिति बलियो भएकोमा सतर्क भए । लोधीको समयमा हर्ताकर्ता रहेका अफगानीहरू विहार र बंगाल तर्फ लागेका थिए । बहिराम खाँलाई सत्ताको बर्चश्वबाट बेदखल गर्नको लागि सवै सचेत भए । उनीहरूलाई मक्का पठाउने निर्णय भयो । काबुलदेखि साथ दिएका मुनिम खाँ वकिल भए । बहिराम खाँ मक्का नपुग्दै गुजरातमा अफगानीहरूद्वारा मारिए । मालवामा त्यहाँका शासक बाज बहादुरले धेरै दुःख दिएकोले मालवा लिइयो । अजमेरमा मुइनुदिन चिस्ती ठूला सुफी सन्त थिए, हिन्दुहरूले पनि सम्मान गर्ने । अकवरले ठूलो सम्मान गरे । हिन्दुहरूको साथ बिना राज्य चलाउन मुश्किल थियो । सुब्बा, सरकार, फौजदार, कोतवाल र मानवसवदारहरूको ब्यवस्था गरे । १५६२ मा अजमेहरका राजा भरमलकी छोरी हर्कवाईसँग वादशाह अकवरको विहे भयो । एउटा बलियो राज्य मुगलको संरक्षणमा आयोे । अकवर भारदारको क्षमता पहिचान गर्ने राजा थिए त्यसैको आधारमा पदहरू दिने गर्थे । 

वादशाह अकवर मथुरा गए । हिन्दु मन्दिरहरूमा करको बोझ धेरै ठूलो थियो । जिजिया नामक करलाई बन्द गरिदिए । गुरु गोविन्द देवलाई २०० बिघा जग्गा दान गरे । १५५६ मा मुगल दरवारमा चतुर विद्धान महेश दास प्रवेश गरे । पछि उनै मन्त्री तथा भारदारको रूपमा वीरबलको नामले प्रसिद्ध भए । अकवरले तानसेन कलवन्त ग्वालियारीको नाम सुने । उनी ध्रुपद रागका माहिर वाद्यवादक थिए, मुगल दरवारमा ल्याइयो । अकवर अनुशासनमा ज्यादै कडा थिए । देशको खवर बुझ्न जासुसहरू पठाउँथे । राति खवरवालाहरू बाटोमा हिंड्थे । अकवरको पढाइ लेखाइ थिएन तर दरवारमा उनलाई पर्सियन र भारतीय कितावहरू पढेर सुनाइन्थ्यो । तुर्की, तिमूरीद, ब्रज भाषा दरवारमा प्रचलीत थियो । कलाका ज्यादै सोखिन थिए अकवर । 

गोन्दवानामा रानी दुर्गावतीले शासन गर्थिन् त्यसलाई मिलाउनको लागि सेना पठाइयो लडाइंमा रानी मारिइन् । सवै श्रीसम्पती मुगल दरवार ल्याइयो । १५५६ मा मालवा मुगलको साम्राज्यमा आयो । लोधीको पालामा बनेको आग्रा दरवारलाई मर्मत गरेर विशाल बनाइयो । गुजराति र बंगाली तवरमा बनाइयो । संसारबाट आग्रा दरवार हेर्न आउन थाले । 

१५६५ मा बेगा बेगम अर्था अकवरकी अर्की आमा हज गर्नको लागि मक्का गइन् । काबुलको समस्या भने खडा भैरह्यो मिर्जा हाकिमको कारण । त्यसको समस्या समाधान गरे पश्चात् लाहोरमा नयाँ शिख धर्मका गुरु अमरदासलाई भेट गरे, हजारौं भक्तालुलाई भोजन गराउने प्रबन्ध भएको लंगरमा खाना खाए । १५६७ मा रायबरेलीमा उज्वेक अलि कुली खाँले समस्या निकाले मिर्जा हाकिम नै मुगलका दावेदार हुन् भनेर टक ढाल्न लगाएको खवर आयो । अकवर सेना लिएर आफैं गए, त्यहाँको सेनालाई पराजित गरियो । अलिकुली खाँलाई हात्तीले कुल्चन लगाइ धुलोपीठो पारियो, बहादुर खाँलाई छिनालियो । यसरी समस्या देखाइरहने उज्वेकहरूलाई उठ्न नसक्ने गरि दवाइयो । सोही साल चितौरको राजधानी मेवारतर्फ मुगल सेना अघि बढ्यो । ठूलो र बलियो किल्ला थियो । सेनाका जनरल सहित वादशाहले किल्लाको रेक्की गरे । भीषण आक्रमण भयो । राजपुतहरू पनि बलले भ्याए सम्म लडे । मुगलको कब्जामा पर्नुभन्दा मर्नु निको ठानेर एकैरात ३०० जना रानी, राजकुमारी तथा दरवारका छोरीमान्छेले आत्मदाह गरे । १५६८ मा रन्थममोरलाई मिलाए । विकानेर, जैसलमेर मुगल साम्राज्यमा गाभे । 

आग्राको दरवार त्यत्ति शुभ देखिएन । गर्भवती रानी हर्क वाईलाई सिक्रीमा दरवार बनाएर राखे । १५६९ मा युवराज सलिमको जन्म भयो जो पछि वादशाह जहाँगिरको नामले प्रसिद्ध भए । ७ दिन सम्म भब्य भोज गरियो । अकवर खुशी भएर रानी र युवराज लिएर चिस्तीको दरगाहमा गए र दान गरे । यसै सिलसिलामा राव कल्याणमल र जैसलमेरका राजा हरराजले राजकुमारी अकवरलाई दिए । यसरी हिन्दु रानीहरू सँगै हिन्दु, तथा राजपुत संस्कार, धर्म, रीतिरिवाज मुगल दरवारमा भित्रियो । राजकुमारीहरूले आफूसँगै पूजा गर्ने देवता पनि लिएर आए । राजा उदार विचारका भएकोले हिन्दु संस्कारअनुसार पूजाआजा जारिरह्यो । मुगल दरवारका पञ्चमी, होली, दुसेरा, तिज र जन्मअष्टमी पर्वहरू मनाउने प्रचलन शुरु भयो । ब्रत बस्ने परम्परा शुरु भयो, स्वयं वादशाह अकवर समेत ब्रत बस्न थाले । 

१५७१ मा राजा अकवर स्थायी रूपमै आग्राबाट सिक्री सरे । अकवरको अबको ध्यान पश्चिम गुजरात तर्फ गयो । १५७२ मा अकवर पूर्ण तयारीका साथ गुजरातका लागि निस्के । राजा वीर बल र केही पदाधिकारीलाई पन्जाव पठाइयो । अकवरको ठूलो फौज देखेर इतिमद खाँ भागे, बिना युद्ध अहमदावाद कब्जा भयो । समुद्र देख्नका लागि अकवर क्याम्वे गए । सन् १५०२ देखि नै पोर्चुगिजहरू ब्यापारको लागि समुद्र तटमा बसेका थिए । क्याम्वेमा वादशाह अकवरलाई रोम, पर्सिया, सिरिया र तुरानका व्यापारीले स्वागत गरे । क्याम्वे लिन सकेको खण्डमा मुगल साम्राज्य भूपेरिवेष्ठित हुन नपर्ने महसुस वादशाहलाई भयो । इब्राहिम मिर्जाले मुगलविरुद्ध मोर्चाबन्दी गरेको बुझियो । लडाइं भयो, वादशाहका सालाहरू मानसिंह र भगवन्त दास लडे । राजा भरमलको छोरा रानी हर्कवाईको भाइ भूपत लडाइँमा मारिए ।

१५७२ मा गुजरात मुगलको भयो । १५७३ मा सुरत लिने विचारले अघि बढे । वादशाहको भेट पोर्चुगिज ब्यापारीहरू सँग भयो । पोर्चुगलका दूत एण्टोनियो दे काब्राल थिए, वादशाहलाई घडी उपहार दिए । राजपरिवारलाई मक्का तीर्थ जानको लागि सुरत प्रयोग गर्न दिने भए । यसरी, मक्का जाने द्वार जस्तो बन्न गयो सुरत । शुरुमा मक्का जानेहरूलाई पोर्चुगिजहरूले धेरै दुःख दिने रहेछन् । वादशाहको फूपू गुलवदन सहजताका साथ मक्का गएर फर्केको कारण पोर्चुगिजलाई धेरै कर छुट गरिदिए । यसरी गुजरातका महत्वपूर्ण स्थान मुगलमा मिलाएर वादशाह आग्रातर्फ लागे । 
 

टिप्पणीहरू