काँग्रेसले राष्ट्रपतिलाई धन्यवाद दिन नमानेपछि सभामुख बालुवाटारमा
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसद बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेललाई दिन लागिएको धन्यवाद प्रस्ताव पारित नभएपछि सभामुख घिमिरे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएको बताइएको छ ।
नीति तथा कार्यक्रम पेश हुनुअघि कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा उहाँले ध्यानाकर्षष गराउनुभएको थियो ।
नेपाली काँग्रेसले सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुछ संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ । समिति गठन नभएसम्म संसद बैठक सुचारु गर्न नदिने अडानमा काँग्रेस देखिन्छ ।
तर हिजो दिउँसो राष्ट्रपतिलाई नीति तथा कार्यक्रम सार्वजनिक गर्न दिएको काँग्रेसले साँझको बैठकमा अवरोध पुर्याउँदा कार्यसूचीका सबै एजेण्डा रोकिएका थिए । धन्यवाद प्रस्ताव पास गर्न काँग्रेसले अवरोध पुर्याएपछि सभामुखले त्यसबारे प्रधानमन्त्री दाहालसँग कुराकानी गर्नुभएको हो ।
हिजो स्थगित संसदको दुवै सदनको बैठक भोलि राखिएको छ ।
टिप्पणीहरू