जनयुद्धका रोमाञ्चक अनुभूति र आजको दिन
वैचारिक दृष्टिकोणले हेर्दा बन्दुक र कलम नितान्त फरक छन् । युद्धको प्रतिविम्व बोक्ने बन्दुक कठोर हुन्छ । कलमले भने चेतसहितको कोमलता प्रतिबिम्बित गर्छ । र, भावना यसको विशेषता हो ।
तर, यी दुवैलाई एउटै हातमा सजाउने पात्र हुन्, पुरण श्रेत्री उर्फ करेन्ट । रोल्पाको जंकोटमा जन्मिएर लिवाङमा हुर्किएका उनी कवि एवं गीतकार हुन् । यद्यपि, उनी राजनीतिमा पनि सक्रिय छन् । तर, पुरण आफूलाई अक्षरहरुको भूगोलमा बढी 'कम्फर्ट' मान्छन् ।
१३-१४ वर्षको स्कुले उमेरमै उनले माओवादीको विद्यार्थी संगठनबाट राजनीतिमा पाइला चालिसकेका थिए । ०५३ सालमा एसएलसी दिएपछि पूर्णकालिन राजनीतिमा लागे, र भूमिगत भए । जतिबेला उनी १६ वर्षको मात्रै थिए ।
सानैदेखि कविता, गीत र उपन्यासका पुस्तकहरु खोजी–खोजी पढ्ने पुरणले कुनबेला लेख्न थाले, उनैलाई पत्तो छैन । ‘म स्कुल पढ्दादेखि नै साहित्यप्रेमी हुँ । कविता र उपन्यासका किताव पढ्थे । सायद रहरमा सुरु भएको यात्रा अहिले जिम्मेवारपूर्ण बन्यो’, उनी सम्झन्छन् ।
पुरणले ०५४ सालदेखि आफ्ना सिर्जनाहरु संगालेर राख्न थालेका थिए । ०५६ मा उनको कविता पहिलो पटक पत्रिकामा छापियो, दाङबाट प्रकाशित हुने ‘जनबार’मा । त्यसयता उनको लेखनको यात्रा अहिलेसम्म निरन्तर चलिरहेकै छ ।
त्यसो त, उनले १० वर्षे जनयुद्धमा माओवादीको कुशल कार्यकर्ता भएर पनि जिम्मेवारी निभाए । यसक्रममा थुप्रै विभत्स र क्रूर दृश्यहरु देखे पुरणले । त्यतिबेलाको एउटा दुर्लभ किस्सा छ उनीसँग, जुन अहिले रोचक लाग्छ ।
भएछ के भने, देशभर माओवादी जनयुद्ध चरम उत्कर्षमा थियो । राज्य र विद्रोही पक्ष एकअर्कालाई देख्ने-भेट्ने बित्तिकै सिध्याउने रणनीतिमा थिए ।
त्यहीबेला एक दिन पुरण लिवाङ नजिकै गुरुङगाउँ पुगेका थिए । तिहारको समय थियो । उनीसहित १०-१२ जना चौरमा कबड्डी खेल्दै थिए । ठीक त्यतिबेला उनीहरु प्रहरीको घेरामा परे, त्यो पनि तीनतिरबाट ।
पुरण नोस्टाल्जिक हुँदै भन्छन्, ‘कबड्डी खेल्दा खेल्दै एउटा साथीले पुलिस देख्नुभएछ, तीनतिरबाट आएका रहेछन् । त्यसपछि कबड्डी खेल्दा खोलेको जुत्ता-चप्पल त्यही छाडेर रित्तै खुट्टा जंगलतिर भाग्यौँ ।’
तर, उनी टाढा भाग्न नपाउदै घंघारुको रुखमा अल्झिए । अरु साथीहरु भने निकै टाढा भागिसकेका थिए । उनलाई आफूले लगाएको जिन्स पाइन्टले धोका दियो । उनी केही समय शान्त भएर त्यही ठाउँमा बसिरहे, पुलिसको आँखा छलेर । घण्टौसम्म मौन बसेपछि बल्ल नयाँ जीवन पाए ।
त्यो घटना स्मरण गर्दै थप्छन्, ‘साथीहरु टाढा गइसकेका थिए, पुलिस पछि पछि थिए । मैले जिन्स दोबारेको थिएँ, त्यही अल्झियो घंघारुमा । त्यतिबेला पुलिसले मलाई देखेको मात्र भए, गोली ठोक्थ्यो । म क्षणभरमै सखाप हुनसक्थेँ ।’
यसरी मृत्युबाट बाल–बाल बचेका अरु धेरै किस्साहरु छन्, उनीसँग ।
पुरण लेखनको दृष्टिकोणले प्रगतिशील साहित्यमा रुची राख्छन् । उनको ‘जलजलाको नूतन सन्देश’ र ‘देशले हाम्रो उत्साह खोजिरहेछ’ कविता संग्रह प्रकाशित छ । त्यस्तै, गतसाता मात्रै दुई गीत ‘कहाँ छ स्वर्ग’ र ‘चोटहरु हिर्काछन्’ सार्वजनिक भए । त्यसअघि पनि उनको ‘खेलाडी हौ हामी खेलाडी’ गीत सार्वजनिक भएको थियो । यसलाई अहिले पनि देशका विभिन्न खेलकुद कार्यक्रमहरुमा बजाउने गरिन्छ ।
प्राय: कवितामा राजनीतिलाई फोहोरी खेलको रुपमा चित्रण गरिन्छ । तर, पुरणको भने फरक मत छ । राजनीति विकृत भएको स्वीकार गर्दै उनी फोहोरी खेल भन्न नमिल्ने तर्क गर्छन् । भन्छन्, ‘राजनीति प्रणाली केही विकृत भएको छ, सुशासनमा परिणाम नदेखिएको होला, तर राजनीति त्यति खराब पनि छैन । यो राज्य संचालन गर्ने विशाल प्रक्रिया हो ।’
जनयुद्धको बेला आफूले कविता र गीतमार्फत कोरेको क्रान्ति अहिले चुकेको पुरणको स्वीकारोक्ति पनि छ । तर, यसलाई परिमाजर्न गर्दै जानुपर्ने उनको धारणा छ ।
उनी थप्छन्, ‘हामीले कविता र गीतहरुमार्फत जे परिकल्पना गरेको थियौँ, त्यो भएन । हामी कहि न कहि चुक्यौँ, म यो स्वीकार गर्न अफ्ठ्यारो मान्दैन । अहिले राज्य सत्ताको दुरुपयोग गर्ने संस्कार विकास भएको छ । तर, त्यसो भन्दैमा सबै बिग्रेको चाहिं होइन । हामीले हाम्रा कमजोरीहरु सुधार गरेर अघि बढ्नुपर्छ ।’
पुरणले जनआस्थासँगको कुराकानीमा आफ्नो लडाइ र लेखनबारे खुलेर बोलेका छन् ।
भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोला ।
टिप्पणीहरू