काँग्रेस रणनीति : दिउँसो अवरोध नगर्ने, साँझ अघि बढ्न नदिने

काँग्रेस रणनीति : दिउँसो अवरोध नगर्ने, साँझ अघि बढ्न नदिने

नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ । सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको छ ।

तर त्यसपछिका कुनै पनि बैठक अगाडि बढ्न नदिने निर्णय गरिएको छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकले गिरिबन्धु टी स्टेटको विषयमा थप अध्ययन गरेर धारणा बनाउने निर्णय पनि गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग काँगे्रसको छ । उक्त माग राख्दै काँग्रेसले संसद बैठक अवरुद्ध पार्दै आएको छ । राष्ट्रपतिको सम्बोधनपछिका कुनै पनि संसदीय गतिविधि अगाडि बढ्न नदिने रणनीतिमा काँग्रेस छ ।

आजै बसेको मन्त्रिपरिषद् बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । बैठकले १६ औँ पञ्चवर्षीय योजनासमे तपारित गर्ने निर्णय गरेको बताइएको छ ।

सरकारको तर्फबाट आज दिउँसो ३ बजे बस्ने संसदको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ । संसद सचिवालयले संसदको अर्को बैठक साँझ ६ बजे डाकेको छ । उक्त बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकोमा धन्यवाद दिनेलगायत कार्यसूची समावेश छन् ।

टिप्पणीहरू