उपेन्द्रका दुई लोकल सांसद अशोक राईतिर
लुम्बिनी प्रदेश सभाका दुई सांसदले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेका छन् ।
आज लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई आदेशकुमार अग्रवाल र भण्डारीलाल अहिरले जनता समाजवादी पार्टी,नेपालबाट छुट्टिई बनेको जनता समाजवादी पार्टीको पक्षमा सहिछाप गरेका हुन् । बाँके क्षेत्र नं २ को १ र २ बाट प्रदेशसभामा निर्वाचित यी दुईमध्ये भण्डारीलाल प्रदेशको मन्त्रीसमेत छन् ।
लुम्बिनीमा जसपा,नेपालका तीन सांसद थिए । दुई जनाले विभाजित पार्टी रोजेपछि उपेन्द्र यादवसँग एक जना मात्र बाँकी रहेका छन् ।
वैशाख २४ गते प्रतिनिधिसभाका सात सांसदसहित ३० जना केन्द्रीय सदस्यले जसपा,नेपाल विभाजन गरी नयाँ दल दर्ता गरेका थिए । अशोकको नेतृत्वमा दर्ता भएको 'जसपा'लाई निर्वाचन आयोगले भोलिपल्टै मान्यता दिएको थियो ।
आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई एउटा दल रोज्न २१ दिनको समय दिएको छ ।
टिप्पणीहरू