वाम मिल्दाको वर्चस्व

वाम मिल्दाको वर्चस्व

वामपन्थी मिल्दा कस्तो परिणाम आउँछ भन्ने ०७४ मै देखिएको थियो । यसपटक पनि इलाम र बझाङको परिणामले त्यस्तै देखायो ।

इलाममा वाम एकता भयो, वाममतदातामा उत्साह जाग्यो कूल मतदाताको आधाभन्दा बढी मत खस्यो, फराकिलो मतान्तरले एमालेका उम्मेदवार जिते । बझाङमा एमाले, एकीकृत समाजवादी र माओवादीले आ–आफ्ना उम्मेदवार उठाए, जसले मतदातामा उत्साह थपेन । फलस्वरूप कूल मतदाताको आधा मत पनि खसेन । समाजवादीका नेता तथा संघीय सरकारका मन्त्री भानुभक्त जोशी र मुख्यमन्त्री दीर्घ सोडारीले विवेक पुर्‍याउँदा एमालेका उम्मेदवार २६७ मतले जिते ।

खासगरी समाजवादीका कारण कांग्रेसका अभिषेक सिंह जित्ने अवस्था हुने भएपछि समाजवादीकै दबदबा रहेको छवीसपाथीभरामा एमालेलाई कांग्रेसभन्दा झण्डै दोब्बर मत दिलाउने भूमिका अप्रत्यक्ष रूपमा मन्त्री जोशीले खेले । मन्त्री जोशी, एमाले उम्मेदवार दमन भण्डारी, माओवादी उम्मेदवार जनक बूढाको राजनीति थलो त्यहीँ हो । चुनाव जितेका भण्डारी १० बुँदे सम्झौतापछि एमालेमै बसेका हुन् । त्यो कारण पनि समाजवादीका नेता–कार्यकर्तासँग ठूलो मतभेद थिएन । धेरै समाजवादीमा कांग्रेस जित्नुभन्दा एमाले जित्नुपर्छ भन्ने सोच हावी भयो त्यसका लागि मन्त्री जोशी पनि चुपचाप बसेर सहयोगी बने । केन्द्रमा समेत एमाले र समाजवादी महासचिवबीच एमाले हार्ने, समाजवादी पनि नजित्ने अवस्था आएपछि एमालेका भण्डारीलाई सहयोग गर्ने सहमति भएको बताइन्छ ।

तर, समाजवादीहरूले नरुचाउने एमाले केन्द्रीय सदस्य ऐन महरले चुनावको अघिल्लो दिन समाजवादीले एमालेलाई सहयोग गर्ने भन्ने फेसबुक स्ट्याटस लेखेपछि समाजवादीबाट अनुमान गरेजस्तो सहयोग भएन, यद्यपि एमाले जित्ने निर्णायक मत भने समाजवादीहरूकै थियो । महरकै स्टाटसले झण्डै एमाले उम्मेदवार हार्ने अवस्था सिर्जना भएको थियो । बझाङको एमाले जितले सुदूरपश्चिममा वामपन्थीको एकल सरकार बन्ने अवस्था आएको छ । ५३ सदस्यीय प्रदेश सभामा २७ जनाले सरकार बन्छ ।

बझाङको जितले अहिले वामपन्थीसँग २७ जना प्रदेशसभा सदस्य छन् । जसमा एमाले माओवादी ११/११, समाजवादी ४ र स्वतन्त्र वामपन्थी १ जना छन् । सभामुख माओवादीको भएकोले अव कांग्रेस, नागरिक उन्मुक्ति र राप्रपा एकातिर उभिँदा २६ पुग्छन् । त्यो बेला वामपन्थीका सभामुख बाहेकका पनि २६ पुग्छन् । यस्तो अवस्थामा सभामुखले निर्णायक मत हाल्न पाउँछन् । 

सुदूरपश्चिममा २०७४ मा वामपन्थी मिल्दा दुई तिहाइ बढी ३९ जना प्रदेश सभामा थिए । जसमा एमालेका २५ र माओवादीका १४ जना थिए । २०७४ मा सुदूरपश्चिमका प्रतिनिधिसभाका १६ मध्ये १४ सिट एमाले, माओवादीले जितेका थिए । २०७९ मा भने एमालेले २, कांग्रेस, माओवादीको सहयोगमा समाजवादीले ३ सिट जित्यो भने माओवादी शून्य भएको थियो । वाम एकता भयो, गुट र नातापाता नहेरी ठीक नेतालाई उम्मेदवार दिइयो भने वामपन्थीहरू जित्न गाह्रो छैन । बझाङमा यसपटक समाजवादी उम्मेदवार बनेका दिलबहादुर सिंहले एमालेको आन्तरिक चुनावमा अर्जुन थापाभन्दा दोब्बर बढी मत ल्याएका थिए ।

तर, उनलाई उम्मेदवार बनाइएन । यद्यपि वामगठनन्ध हुँदा थापा जितेर प्रदेशको सभामुख बनेका थिए । थापा ओलीसहितका सबै नेतासँग मिल्न सफल थिए । तर, सिंह माधव नेपालसँग मात्र नजिक थिए । सिंहले त्यसलाई अन्याय भएको ठानेका थिए र पार्टी विभाजन हुँदा समाजवादी हुने अवस्था आएको थियो । सिंह २०५४ का जिल्ला विकास समितिका उपसभापति थिए भने थापाले ०५६ मा प्रतिनिधि सभाको चुनाव हारेका थिए ।

ओलीले २०७९ कै चुनावमा पनि वाम एकता गर्न नसके पनि सुदूरपश्चिममा एमालेमै रहेका डा. भीम रावललाई समेट्न सकेको भए प्रतिनिधि सभामा ७–८ सिट बढ्थ्यो भने प्रदेशमा पनि सरकार बनाउन सहज हुने गरेर एमाले उम्मेदवार जित्थे ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू