आमाका दुःख असाध्यै

आमाका दुःख असाध्यै

– दीपा धिताल

अचम्म लाग्छ, ९ महिनासम्म आफैँ बसेको पाठेघरको समस्याबारे कोही कसैले किन चासो दिँदैन ! घरपरिवार, समाज, सरोकारवाला कोही कसैलाई आमाको पाठेघर दुख्दा किन चासो हुँदैन । वर्षौँदेखि ‘योनि’ बाहिर पाठेघर झुण्ड्याएर त्यहाँ बनेको घाउबाट चुहाएर कष्टकर दैनिकी गुजरा गरिरहेका निर्दोष महिलाको समस्याबारे न परिवारलाई दुख्छ, न त समाज र तीनै तहका सरकारले यो विषयमा छलफल गर्छन् । यसै कारण हो दुर्गमका महिलाले आज पनि दर्दनाक पीडा सहेर अपमानको जिन्दगी जिउनुपरेको तीतो सत्य हाम्रोसामु छ । महिला पाठेघरको समस्या आफ्नै श्रीमान् र घर परिवारलाई पनि भन्न लाज मान्ने अवस्थाका कारण समस्या घट्न सकेको छैन ।

एउटी महिलाको लागि पाठेघर झर्नु भनेको त सामाजिक लाज हो भन्ने भ्रम छ । गर्भवती हुँदा, प्रसवको समयमा र सुत्केरीपछि राम्रो स्याहार, पोषिलो खानेकुरा नपाउनु र सानो उमेरमा बच्चा जन्माउनु पाठेघर झर्नुको मुख्य कारण हो । तर, समाजले महिलालाई पापसँग जोडिदिएको छ । जसले गर्दा नारकीय जीवन जिउन बाध्य छन् । दुर्गम जिल्ला रुकुम घर भएकी सीमाको (नाम परिवर्तन) १४ वर्षको उमेरमा मागी विवाह हुन्छ । ठूलो परिवार, सबै काम बुहारीले गर्नुपर्ने मान्यता रहेको समाजमा गर्भवती हुन्छिन् । १६ वर्षमा नै बच्चा जन्मिन्छ । एक साता नहुँदै पँधेरोबाट पानीको गाग्री ल्याउँदै गर्दा पाठेघर बाहिर आउँछ । तैपनि बर्सेनि ५ वटा सन्तान जन्माउँछिन् । परिपक्व उमेर नहुँदै पाठेघर बाहिर झुण्डिँदा खुट्टा र कपडाले रगडिएर भएको घाउबाट रगत चुहाउँदै दैनिकी चलाउनुको पीडा उनलाई मात्र थाहा छ । औषधोपचार एकादेशको कथाजस्तै छ । न जीवनसाथी भनिएका श्रीमान्ले उपचार गर्न जाऊ भन्छन्, न त आफैँ आँट गरी स्वास्थ्य संस्थामा देखाउन जान्छिन् । आर्थिक अभावमा दुई दशक नारकीय जीवन बिताएकी उनले २१ वर्षपछि गत साल गाउँमा सञ्चालित स्वास्थ्य शिविरमा उपचार गर्ने अवसर पाइन् ।

शिविरका स्वास्थ्यकर्मीसमेत आश्चर्य पर्ने गरी बनेको घाउले उनीहरूलाई सोच्न बाध्य बनाउँछ । पाठेघर बाहिर छ । त्यसमा घाउ भएर भित्रै पस्दैन । उनको उपचार भनेको मात्र शल्यक्रिया थियो । शल्यक्रिया गर्नलाई २ दिन गाडीमा यात्रा गर्नुपर्ने तर भाडासमेत थिएन । केही समय उपचार नभए क्यान्सर हुन सक्ने डाक्टरको सल्लाहका कारण यताउती गरेर पाठेघर फालेकी सीमालाई यतिबेला सहज भएको छ । रुकुमकै ७५ वर्षीया शीला (नाम परिवर्तन) २८ वर्षको उमेरमा तेस्रो बच्चा जन्मेपछि झरेको पाठेघर वर्षौँसम्म योनि बाहिर झुण्ड्याएर जीवन जिउन बाध्य भइन् । अर्की श्रीमती ल्याउँछन् भन्ने डरले श्रीमान्लाई कैयौँ वर्ष समस्या लुकाएर राखिन् । दैनिक गरिने घरायसी कामले च्याप्दै गर्दा सबै पाठेघर बाहिर आउन थाल्यो । यसको उपचार हुन्छ भन्ने थाहा नपाएकी उनी न स्वास्थ्य संस्थामा जँचाउन गइन्, न त समस्या कसैलाई सुनाइन् ।

जीवनको ४७ वर्ष पाठेघर झुण्ड्याएर नारकीय जीवन बिताइन् । गत वर्ष स्थानीय तहले सञ्चालन गरेको स्वास्थ्य शिविरमा जँचाउँदा पाठेघर संक्रमण भएको औषधिसँगै ‘रिङ प्रेसरी’ लगाएपछि यतिबेला नयाँ जीवन पाएको अनुभूत गरेकी छन् । माथिका घटना प्रतिनिधि पात्र मात्र हुन् । यस्ता खालका पीडा भोगेका हजारौँ महिला आज पनि ग्रामीण बस्तीमा थुप्रै छन् । यस्ता पीडालाई संबोधन गर्न नीति तथा कानुन छन् तर व्यावहारिक पाटो बलियो नहुँदा र घरछेउमा रहेको स्वास्थ्य संस्थामा उक्त सेवा उपलब्ध नहुँदा धेरै महिलाको जीवन अधकल्चो बनेको छ ।

विद्यमान नीति कार्यान्वयन र स्वास्थ्य पनि विकासको पाटो हो भन्ने बुझाइ नहुँदासम्म आमाका पाठेघर असुरक्षित हुनेछन् । जुन दिन हामी बसेको पाठेघर हाम्रो भन्ने सोचको विकास हुन्छ, त्यो दिन मात्र आमाहरूका पाठेघर सुरक्षित हुनेछन् । हाम्रो समाजमा परिवर्तन नभएको हैन, धेरै परिवर्तन भएको छ । पटकपटक जबर्जस्त व्यवस्था परिवर्तन भएका छन् । जनआन्दोलन र युद्धपछिको आमूल परिवर्तन भन्दै घरछेउमा आएका सिंहदरबारमा विराजमान दरबारबिनाका सिंहहरू भौतिक सुधारलाई विकास भन्ने मान्यता बोकेर अगाडि बढिरहेका छन् । शिक्षा, स्वास्थ्य, रोजगार र कृषिलाई देखाउने नाराका रूपमा प्रयोग गरिए पनि व्यक्तिका अधिकार र मौलिक हकका बारेमा सबै मौन छन् । जिल्ला अस्पतालमा समेत विशेषज्ञ चिकित्सक नभेटिने, दुर्गमका अस्पतालमा सेवा गतिलो नहुँदा समस्या बल्झेको बुझेका तीन तहका सरकारले समय समयमा गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चाल गर्न सके मात्र पनि धेरै समस्या समाधान हुने देखिन्छ । संविधानमै लेखिएका मौलिक हक गाउँमा छिर्न सकेन भने आमाहरूलाई कहिल्यै न्याय हुने छैन ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू