अचम्मका मान्छे, थुप्रै युवती, अकूत सम्पत्ति
आत्मविश्वासी र मिहिनेतीका निम्ति शरीर सपा¨ नभए पनि फरक नपर्ने ज्वलन्त उदाहरण मेथ्यु बुसिंगर हुन् । मेथ्यु जसको न खुट्टा छ, न हात तर उनी राम्रा चित्रकार र क्यालिग्राफर हुन् । नामी माइक्रोग्राफर पनि । माइक्रोग्राफी पनि एक प्रकारको क्यालिग्राफी नै हो अर्थात् अक्षरलाई सुन्दर तरिकाले लेख्ने, सजाउने कला । यसलाई सुलेखन पनि भन्ने गरिन्छ । माइक्रोक्यालिग्राफी ९ औं शताब्दीमा विकसित यहुदी रुप हो । यो प्रतिध्वनात्मक, ज्यामितीय र अमूर्त डिजाइनमा हिब्रु अक्षर प्रयोग गरी लेखिन्छ । प्रायः क्यालिग्राफी सेतोमा कालो अक्षरले लेखिन्छ तर माइक्रोग्राफी रंगीन पनि हुन्छ ।
मेथ्यु (माथियास) को जन्म जर्मनीको आन्सबाखमा भएको हो । जन्मँदै दुवै हातखुट्टा थिएनन् । काँधबाट नङ नभएका औंलाजस्ता मासु निस्केका थिए । ९ सन्तानमध्ये कान्छो पुत्र जन्मिँदा उनको शरीर मासुको सानो पोकोजस्तो मात्र थियो, त्यसैले आमाबाबुले अरुको नजरबाट लुकाएर पाले, हुर्काए । आमाबुबा असामान्य बच्चा जन्मेकोमा निकै नै दुःखी थिए । त्यतिबेलाको चलनअनुसार असामान्य बच्चालाई सूचीकारको घरमा लगेर प्रशिक्षित गरिन्थ्यो तर सबैको नजरमा हाँसोको पात्र बन्ने डरमा आमाबुबाले त्यसो गर्न चाहेनन् । सन् १६८४ मा उनी २० वर्षको हुँदासम्म उचाइ २९ इञ्चमात्र थियो । त्यसैबेला लाइपजिगमा मेला लाग्यो । मेथ्युले पहिलोपटक आफ्नो कला प्रदर्शन गरे । हातखुट्टा नभएको पुड्को मानिसले कला देखाउँदै गर्दा ठूलो भीड जम्मा भयो । टाँगिएको डोरीमा हिँड्ने कला देखाउँदै पैसा कमाउँदै हिँड्ने सर्कस टोलीको नजर उनमा पर्यो । उनीहरूले मेथ्युको कला प्रदर्शन गरेर पैसा कमाउन सकिन्छ भन्ने विश्वास दिलाएपछि आमाबुबाले साथमा लैजान स्वीकृति दिए । सन् १८९८ मा मेथ्यु बसेल पुगे । त्यहाँ सर्कस टोलीले उनको बारे यस्तो प्रचार गर्यो– ‘एउटा अचम्मको जादुगर, जसको न हात छ न खुट्टा, तैपनि तासको पत्ती मज्जाले फिट्न सक्छन्, सियोमा धागो छिराउन सक्छन्, आफैँले दाह्री काट्न सक्छन्, पेस्तोलमा गोली लोड गर्न र हान्न सक्छन् ।’
जन्मिँदा अभिषाप मानिएका मेथ्युले कला प्रदर्शनमार्फत धन आर्जन गर्न थालेपछि आमाबुबाले आफूलाई भाग्यमानी ठाने । यसबीच हातखुट्टा नभएका जादूगरको रुपमा निकै चर्चित भइसकेका थिए । विभिन्न बाजा बजाउन जान्ने भइसकेका थिए । उनीद्वारा तयार पारिएको आत्मचित्र जसमा तीनकुने ह्याट (टोपी) लगाएर तकियामाथि उभिएका थिए, निकै प्रशिद्ध भयो । पछि ‘महान जर्मन कलाकार’ र ‘नुरेनवर्गको सानो मान्छे’ बने । विश्वभरिकै विकलांगहरूले आदर्श मान्दै गए । सन् १७१० आइपुग्दा नपुग्दै उनको तस्बिर अंकित उपहारका सामग्री बजारमा निस्क्यो । यसपछि जर्मनी छाडे र बेलायत पुगे । त्यहाँ पनि सडकमा बसेर कला प्रदर्शन गर्न थाले । सबै दर्शकसामु नै क्यालिग्राफी, तास र सिक्काको खेल देखाए । साथै, कुशल संगीतकारको रुपमा ख्याति कमाए । विशेषतः बाँसुरी, ब्यागपाइप, पियानोजस्तो सानो बाजा र तुरही मज्जाले बजाउँथे । आफैँ नयाँ–नयाँ बाजा बनाएर बजाउँथे ।
उनी बेलायती राजदरबारमा गएर राजासामु कलाकौशल देखाउन चाहन्थे, यसको लागि राजा जर्ज (प्रथम) लाई भेट्ने कोशिस गरे । तर, राजाले भेट्न नचाहेपछि आयरल्याण्ड गए । त्यहाँको डब्लिन र बेलफास्टमा शो देखाए । आयरल्याण्डका महिला निकै फिदा बने । उनी युवतीहरूसँग जिस्किन्थे । त्यहाँका अखबारले उनको कम्तीमा ७० जना प्रेमिका भएको लेखेको लेख्यै गरे । यति धेरै चर्चित बने कि ‘बुसिंगर बुट’ शब्द सबैको मुखमा झुण्डियो । यो स्त्रीको योनीको लागि नरम शब्द बन्यो । स्मरणीय छ, किनभने उनीसँग भएको एउटै मात्र अंग भनेकै उनको जननेन्द्रीय थियो । विकलांग भए पनि उनी यौनको मामिलामा निकै रसिक थिए । उनले थुप्रै प्रेमिकामध्ये ४ जनासँग त बिहे नै गरे भने ८ महिलाबाट १४ सन्तानको पिता बने । चार पत्नीमध्येकी एउटी एन एलिजाबेथ तेयस भने उनको लागि ‘टाउको दुखाइ’ बन्न पुगिन् । उनी वस्त्रको निकै सोखिन थिइन् भने मादक पदार्थ सेवन गरी बाटोमै लड्न पुग्थिन् । उनले मेथ्युको पैसा बर्बाद मात्र पारिनन्, अपशब्द बोल्थिन्, कुटपिटसमेत गर्थिन् । मेथ्युले धेरै अपमान सहे । एकपटक उनले यति जोसँगे धकेले कि एन भुइँमा पछारिन पुगिन् । मेथ्यु पत्नीको शरीरमाथि चढे अनि काँधमा निस्केको औंलाजस्तो अंगले हिर्काउन थाले । यो घटनापछि एनको सातोपुत्लो उड्यो । खर्च नदिने भनी धम्क्याएपछि लोग्नेसित माफी मागिन् । नभन्दै पछि मेथ्युको असल पत्नी साबित भइन् । मेथ्युको निधन आयरल्याण्डको कोर्कमा सन् १७४० को जनवरी १७ मा भयो । उनी ६५ वर्षसम्म बाँचे ।
निकोलाई कोबेलकोफ अर्का मेथ्यु बुसिंगर पनि खुट्टा र हातविहीन थिए । रुसमा जन्मेका उनी पनि मेथ्युजस्तै आमाबुबाका १४ सन्तानमध्येका हुन् । किसान परिवार थियो उनको । मेथ्युको जस्तो खुट्टो अलिकति पनि नभएको भने होइन तर टेक्न नमिल्ने खालको थियो । कम्मर तल खुट्टोजस्तो अलिकति मासु निस्केको छ, त्यो पनि एउटा ६ इञ्चको र अर्को मात्र २ इञ्चको । त्यस्तै हातको स्थानमा दायाँ सानो मासुको डल्लो निस्केको छ भने बायाँ–दायाँको भन्दा सानो हड्डी । त्यसैले सबै उनलाई ‘मेरुदण्डको हड्डी’ भनेर बोलाउँथे । कोबेलकोफ जब जवान भए निकै बलशाली बने । हात र खुट्टा नभए पनि चिठी पत्र लेख्न सिके, कैंचीले कागज काट्न र जारको पानी गिलासमा भर्न जाने । चम्चा र काँटा चलाएर खान सिके, खल्तीमा भएको घडी निकाल्न र राख्न जाने अनि सियोमा धागो हाल्न र पेस्तोल चलाउन जान्ने भए । चिउँडो र काँधबाट निस्केको सानो मासुको डल्लोमा ब्रस च्यापेर चित्रकला गर्थे ।
विकलांगताको बावजुद कला र सीपले निपुण भएकै कारण चर्चा देशभरि फैलियो । सन् १८७० मा २९ वर्षको भए । आफ्नो कला प्रदर्शन गरी पैसा कमाउने मात्र होइन, रुसबाहिर सम्पूर्ण युरोप र अमेरिकासम्म चर्चा चुलियो । शो हेर्ने जो कोही पनि उनको कला देखेर आश्चर्यचकित नबनी बस्न सक्दैनथे । उनले आफ्नो कला रुसका सम्राट् जार अलेक्ज्याण्डर (तृतीय), जर्मनीका सम्राट् केजर विलियम (तृतीय), अष्ट्रियाका युवराज रुडोल्फ र नेदरल्याण्डकी रानी विल्हेमिनासमक्ष प्रस्तुत गर्ने अवसर पाए । एउटा शोमा मञ्चको पर्दा खुल्नेबित्तिकै दर्शकले उनलाई एउटा कुर्सी अगाडि बसिरहेको पाए । कुर्सीमा थुप्रै सामग्री थिए । ती वस्तुको सहयोगमा आफ्नो कला प्रस्तुत गर्न थाले । दाँतले च्यापेर त्यहाँ राखिएको कलम उठाई रंगमा डुबाए अनि कागजमा आफ्नो नाउँ लेखेर दर्शकलाई वितरण गरे । फेरि त्यसैगरी ब्रस निकाले अनि स्केचहरू कोर्दै गए । खाने शैली पनि तारिफयोग्य थियो । गिलासलाई काँधको हड्डीको मद्दतले उठाउँथे र मुखसम्म पुर्याउँथे । पेस्तोल उठाउने मात्र होइन, त्यसमा गोली भरेर चलाउँथे पनि । उनको कलाकौशल देखाउने र बोल्ने शैली सिपालु चटकेकै जस्तो थियो ।
युरोपभरी जताततै शो देखाउँदै हिँड्ने क्रममा सन् १८७६ मा हंगेरीको राजधानी बुडापेस्ट पुगे । त्यहाँ भेट अष्ट्रियाई युवती अन्ना वेल्फेर्टसित भयो । पेशाले रंगमञ्चकी नायिका अन्ना उनको ठूलो प्रशंसक थिइन् । छोटो समयको प्रेमपछि विवाहमा बाँधिए । बिहेपछि अन्नाले पनि लोग्नेको सहायिका बनी विश्वभ्रमण गरिन् । कोबेलकोफ र अन्ना पछि ११ सन्तानको आमाबुबा बने । सन्तान सबै शारीरिक रुपमा सकुशल थिए । सन् १९०० मा कोबेलकोफ एउटा लघु चलचित्रमा समेत देखा परे । अन्नाको निधन सन् १९१२ मै भयो । पत्नीको मृत्युपछि कोबेलकोफले शो देखाएर हिँड्न बन्द गरे । त्यतिञ्जेलसम्म थुप्रै धन कमाइसकेका थिए । र, त्यही धनले अष्ट्रियाको भियनामा व्यापार गरी बसे । उनको निधन सन् १९३३ को जनवरी १९ मा ८२ वर्षको उमेरमा त्यहीँ भयो । कोबेलकोफ रुसी, इटालियन, अंग्रेजी, हंगेरी, चेक भाषा राम्रोसित बोल्थे भने जर्मन र फ्रेञ्च मज्जैले बुझ्थे ।
टिप्पणीहरू