देशलाई दंगामा फसाइने खतरा देखिँदै
मुलुकको सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षा गर्दै आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवद्र्धन गर्नका निमित्त सरकारलाई आवश्यक सबै प्रकारका सूचना उपलव्ध गराउने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई छ । त्यस्तै धर्म, संस्कृति र भाषा समुदायबीचको सद्भावमा खलल पुर्याउने पक्षसँग सम्वन्धित सूचना संकलन गर्नु पनि उसको महत्वपूर्ण कार्यभार हो ।
राष्ट्रिय सुरक्षाको मामिलामा यति गहन जिम्मेवारी बोकेको यो संस्थाले आफूलाई परिभाषित भूमिकामा खरो उतार्न नसक्दा धार्मिक तथा साम्प्रदायिक विवादमा राज्य संस्थागतरूपमै एकपक्षीय हुने खतरा उत्पन्न हुँदै छ ।
राज्यको अर्बौं खर्च हुने गुप्तचरी निकायका रूपमा रहेको यो संस्था सिधै प्रधानमन्त्री मातहतमा छ । यस अर्थमा आवश्यक सूचना प्राप्तिमा प्रधानमन्त्रीको सबैभन्दा विश्वासिलो र भरपर्दो संयन्त्र यही हुनुपर्ने हो । तर, प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड स्वयं उसले दिने सूचनाप्रति विश्वस्त नरहेको तथ्य हालैको एउटा घटनाबाट पुष्टि हुन्छ ।
पार्टी कामको सिलसिलामा चैत २९ गते विराटनगर पुग्नुभएका प्रचण्डलाई जिल्लाको सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा दुबै प्रहरी संगठनका क्षेत्रीय हाकिम, मोरङका सिडियोलगायत उपस्थित थिए । त्यसैक्रममा प्रधानमन्त्रीले चतराधाममा आयोजना हुन लागेको हनुमान महायज्ञमा जान उपयुक्त हुन्छ कि हुँदैन भनेर सोध्नुभयो । ‘मलाई बोलाएका छन्, आउन हुन्छ कि हुँदैन ?’ भनेर सोधिएपछि नेपाल प्रहरीका एसएसपी राजन अधिकारी र सशस्त्रका डिआइजी अञ्जनी पोखरेलले ‘कुनै हालतमा हुँदैन हजुर !’ भने ।
एकातिर मोरङ र सुनसरीमै धार्मिक दंगा फैलिरहेको अवस्था, अर्कोतिर प्रधानमन्त्रीलाई महायज्ञमा बोलाउने व्यक्ति आफैँमा विवादित । यस्तो अवस्थामा देशको कार्यकारी प्रमुख कुनै एउटा धार्मिक समुदायको कार्यक्रममा जानु आफैँमा गलत कदम हुन्थ्यो ! त्यसकारण प्रधानमन्त्रीलाई यी सबै घटनाक्रमको पूर्वसूचना दिने जिम्मेवारी गुप्तचरको हो । तर, प्रधानमन्त्रीले विराटनगर पुगेर यसबारे चासो राखेको र पहिले जाने मनशायमा रहनुभएका उहाँ त्यहाँ प्राप्त सल्लाहमुताविक नै धार्मिक कार्यक्रममा सहभागी नभएकाले गुप्तचर संयन्त्र प्रभावकारी नरहेको स्पष्ट हुन्छ ।
सुनसरीको चतराधाममा दुई धार्मिक गुरु सिद्धबाबा भनिने बलात्कार आरोपित स्वामी कृष्णदास गिरी र बालसन्त मोहनशरण देवाचार्यबीच लामो समयदेखि द्वन्द्व देखिँदै आएको छ । बालसन्तले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा कुम्भमेला उद्घाटन गराएपछि त्यसको काउण्टरमा प्रधानमन्त्रीलाई आफ्नो कार्यक्रममा उभ्याउने कृष्णदासको तयारी थियो ।
वैशाख ५ देखि ११ गतेसम्म चलेको उक्त धार्मिक कार्यक्रममा बागेश्वर धाम बाबा भनेर चिनिएका विवादित भारतीय धीरेन्द्र शास्त्रीले प्रवचन दिएका थिए । यता आउनुअघि उनले ‘नेपाललाई हिन्दू राष्ट्र बनाउन जाँदैछु’ भनेर बोलेको भिडियो अहिले व्यापक छ । जसका कारण २० औं हजार मान्छे तानिए । यसको अर्थ अहिलेसम्म मौन बसेको ‘हिन्दू सेन्टिमेन्ट’ पनि अब क्रमशः एकीकृत हुँदै छ । यस्तो स्थितिमा प्रधानमन्त्री उक्त कार्यक्रममा उपस्थित भएको भए के हुन्थ्यो होला !
अर्कोतिर, पछिल्लो समय देशका विभिन्न स्थानमा हिन्दू र मुस्लिम समुदायबीच विवाद चर्कंदो छ । खासगरी भारतीय सीमासँग जोडिएका तराईका जिल्ला जहाँ मुस्लिमहरूको बसोबास छ, त्यहाँ विवाद र भिडन्त हुने गरेको छ । केही महिनाअघि बाँकेमा दुई समुदायबीचको सामान्य विवादलाई प्रहरीले बेलैमा नियन्त्रणमा लिन नसक्दा त्यसले भिडन्तको रूप लियो । त्यस्तै घटना सर्लाहीको सदरमुकाम मलंगवामा पनि दोहोरियो । कृष्ण जन्माष्टमीमा मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन कफ्र्यु नै जारी गर्नुपरेको थियो ।
त्यसअघि धरानमा गोरु काटेर खाएको विषयले दुई समुदाय आमनेसामने भए । केही हप्ताअघि मात्रै सुनसरीको हरिनगरमा धार्मिक विवादले उग्ररूप लिँदा धेरै दिनसम्म कर्फ्यु लगाउनुपर्ने अवस्था निम्तियो । रामनवमीको कलश यात्रा निकाल्ने क्रममा दुई धार्मिक समूहबीच झडप हुँदा अस्ति विराटनगर तनावग्रस्त बन्यो ।
यस्तो स्थितिमा भीडलाई नियन्त्रणमा लिन सुरक्षा निकायसँग पर्याप्त पूर्वतयारी हुनुपर्छ । त्यसका निम्ति सम्बन्धित सबै पक्षको सूचना लिएर सुरक्षा रणनीति बनाउनुपर्ने हुन्छ । तर, सूचना संकलनमा गुप्तचरी संयन्त्र असफल हुँदा फिल्डमा खटिएको फौजलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे पर्ने गरेको छ ।
हरिनगरको झडपमा प्रहरीले एसएलआरबाटै ७०–८० राउण्ड हवाई फायर गरेको थियो । प्रहरीले बेलैमा फायर खोलेर दोस्रो टिकापुर काण्ड हुनबाट जोगाएको भानिँदा राज्यद्वारा अर्बौं खर्चिएर सूचना संकलन तथा वस्तुस्थितिको पूर्वजानकारी लिन खडा गरिएको गुप्तचरको भूमिका भने लगभग शून्य देखिन्छ ।
‘सुनसरीको घटना सेलाउन नपाउँदै मोरङमा उस्तै प्रकृतिको विवाद निम्तिनुले यसमा सम्भावित सुरक्षा अवस्थाप्रति सुरक्षा निकाय संवेदनशील छैन भन्ने सन्देश गएको छ’, प्रहरीका उच्च अधिकारी भन्छन्’, फिल्डमा खटिने प्रहरीलाई मात्र यसमा दोष दिएर हुँदैन, गुप्तचरसमेत सक्रिय हुनुपर्यो ।’
सुरक्षा निकायको विश्लेषण छ– धार्मिक अतिवादलाई प्रश्रय दिनेगरी कतिपय राजनीतिक पार्टीहरू अग्रसर रहेकाले यस्ता घटना प्रहरीले नियन्त्रण गर्न नसक्ने तहमा अराजकतातर्फ उन्मुख हुँदैछ । त्यसमा मुख्यतः नेपाललाई हिन्दूराष्ट्र बनाउने अभियानमा रहेको भनिएको भारतीय जनता पार्टी (भाजपा)को भूमिकाले बल पुर्याइरहेको प्रहरीको बुझाई छ ।
सुनसरीको हरिनगर क्षेत्र तनावग्रस्त भएकै दिन नजिकै भारतीय क्षेत्रमा पनि त्यस्तै लफडा भएको थियो । मन्दिरमा मुस्लिमले मासु काटेर फ्याँकेको र फोहोर गरेको भन्दै हिन्दू अतिवादीहरूले नाराजुलुस गरेपछि स्थिति नियन्त्रणमा लिन एसएसबीले सुनसरीका प्रहरी प्रमुखसँग सहयोग माग्नुपर्ने अवस्था बनेको बताइन्छ । अलि अगाडि ठ्याक्कै त्यस्तै घटना रौतहटमा पनि भएको थियो । सामान्य विवादमा पनि घटनालाई उग्र बनाउन हिन्दूहरूले आफैँ मासु लगेर मन्दिरमा फालिदिने र मुस्लिमलाई दोष लगाउने गरेको बताइन्छ ।
धर्म मान्छेको आस्था हो । विश्वास हो । जात र धर्मको कुरा आउँदा मान्छे सबैभन्दा पहिले संगठित हुन्छ । आममान्छेमा रहेको यही धार्मिक सेन्टिमेन्टमा खेलेर आफ्नो स्वार्थको रोटी सकाउने अतिवादीहरूको समूह सक्रिय छ । धर्मको नाममा भोटको राजनीति गर्नेहरू झन् खुलेरै लागेको अवस्था छ । हिन्दूकै नारा लिएर राजनीति गरिरहेको पूर्वपञ्चहरूको पार्टी राप्रपा र राप्रपा नेपाल मात्र होइन, आफूलाई कम्युनिष्ट भन्नेहरूसमेत त्यस्तैमा तल्लिन छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा राम, सीता र ठोरीको कुरा ल्याएर हिन्दूत्वको भोट तान्ने प्रयास गर्नुभएकै हो । राज्यकोषबाट करोडौँ खर्चिएर पशुपतिमा सुनको जलहरी चढाउने उहाँको कदम पनि हिन्दूलाई खुशी तुल्याएर भोट बटुल्ने रणनीतिअन्तर्गत नै थियो । प्रधानमन्त्री प्रचण्डले भारत पुगेर हिन्दूप्रतिको मोह दर्शाएको धेरै भएको छैन ।
यता, अयोध्याको राम मन्दिर उद्घाटनमा समेत सहभागी भएकी पूर्वपरराष्ट्र मन्त्री एनपी साउदकी पत्नी भाजपाको मातृ संगठन आरएसएसको नेपाल च्याप्टरमा महिला अध्यक्ष छिन् । अहिलेका परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको पिए सुशन कर्माचार्य पनि राम मन्दिर उद्घाटनको कार्यक्रममा सहभागी भएकी थिइन् ।
नेपाललाई हिन्दूराष्ट्र बनाउन आरएसएसमार्फत धर्म प्रचार गराइरहेको भाजपा अहिलेको सत्ता समीकरणप्रति सन्तुष्ट नरहेको भनिएको छ । सुरक्षा निकायको विश्लेषण मान्ने हो भने, मोरङ र सुनसरीको घटना धर्मका नाममा नेपालको राजनीति अप्ठेरोमा पारेर आफू अनुकूल नयाँ समीकरण बनाउन बाध्य पार्ने दक्षिणको रणनीतिअन्तर्गत यहाँका अतिवादीहरूले चालेको कदम हो । त्यसमा प्रत्यक्ष–परोक्ष हिन्दू धर्मलाई ‘प्रमोट’ गर्ने राज्यको चरित्रले थप मलजल गरिरहेको दाबी सुरक्षा स्रोतको छ ।
विगतमा हिन्दू र मुस्लिमको विवादमा हिन्दूहरू रक्षात्मक हुने गर्थे भने अहिले ठ्याक्कै उल्टो अवस्था छ । सुनसरीमा दुई पक्षबीच झडपपछि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गर्यो । तर, हिन्दू युवाहरूको समूहले कफ्र्युलाई पनि चुनौती दिँदै प्रदर्शन जारी राख्दा मुस्लिमहरू भने बाहिर निस्किएनन् ।
मुस्लिम धर्म मान्नेहरू तुलनात्मकरूपमा बढी कट्टर हुन्छन् । संख्यात्मक रूपले कमजोर रहेका उनीहरू हिन्दूहरूको छायाँमा परेकाले राज्यप्रति नै असन्तुष्ट छन् । त्यसकारण स–साना विवादमा पनि सडकमा आउने खतरा सधैँ रहिरहन्छ । कोशी प्रदेशकै कुरा गर्दा झापा, मोरङ र सुनसरी मुस्लिम बहुल जिल्ला हुन् । यी तीन जिल्लामा मात्र मुसलमानको संख्या झण्डै दुई लाखको हाराहारीमा छ । अस्थिरता फैलाउन चाहनेका लागि यो शक्ति चानचुने होइन ।
अर्कोतिर, भूगोलले भन्दा धर्मको मनोविज्ञानले दुबैतिरका मुसलमान समुदायलाई जोडिराखेको हुन्छ । त्यसकारण खुला सिमानाका कारण नेपालमा दंगा फैलिँदा सीमापारिका मुस्लिमहरू यता आएर सडकमा मिसिने अवस्था रहन्छ ।
यी सबै परिस्थितिलाई हेर्दा सीमा सुरक्षा ‘नियमन’ गर्न नसके जुनसुकै बेला धार्मिक दंगा फैलिने खतरा रहन्छ । राज्यले स्रोत, साधन थपेर भनेपनि सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा सम्वद्ध अधिकारीहरूको जोड छ ।
‘स्रोत साधनको अभाव छ । इन्टेलिजेन्स प्रभावकारी छैन । त्यसकारण सीमा सुरक्षा चुनौतीपूर्ण बन्दैछ’, सेनाका एक उच्च अधिकारी भन्छन् । सीमा अनुगमनको बलियो मेकानिज्म बनाएर गुप्तचरी संयन्त्रलाई थप प्रभावकारी बनाउन ढिला भइसकेको ती जर्नेलको बुझाइ छ ।
नत्र, राज्यले नचाहेर पनि कतिपय अवस्थामा संस्थागतरूपमै गलत निर्णय हुन जाने खतरा देखेका उनी प्रधानमन्त्री र चतराधामकै सन्दर्भमा भन्छन्, ‘प्रधानमन्त्रीलाई चतराधाम जानु उपयुक्त हुन्छ भन्ने कुरामै त्यो देखियो नि !’
स्मरण रहोस्, सुरक्षा निकायका अधिकारीहरूले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा नजान प्रष्ट सल्लाह दिँदा मोरङका सिडियो प्रेम भट्टराईले भने जाँदा राम्रो हुने सुझाव दिएका थिए । लोकमानसिंह कार्कीको खास मान्छे भएर अख्तियारमा बसेका र सम्पत्ति शुद्धीकरणको डिजीसमेत भैसकेका उनी हिन्दू धर्मलाई बढवा दिनुपर्ने पक्षमा विगतदेखि नै वकालतकर्ता रहँदै आएको सुरक्षा स्रोतको दावी छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू