लमजुङको ठूलो माछामा छापा
प्रायः साना तथा खुद्रे पसलतिर अनुगमनका नाममा छड्के हानेर हैरानी खेलाउने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यसपटक भने जिल्लाको ठूलै माछामा हात हालेको छ ।
जिल्लाकै पहिलो र एक मात्र रिसोर्टका रूपमा परिचित प्रदेश सांसद तथा कांग्रेस पूर्व जिल्ला अध्यक्ष भेषबहादुर पौडेलको हिमालयन गेटवे रिसोर्टमा समेत छापा मार्न मारिएको छ । १२ र १३ गते जिल्लाका होटल, रेस्ट्रो तथा खानेपानी उद्योगमा संयुक्त अनुगमन निरीक्षण गर्दा हिमालय गेटवे रिसोर्टसमेत कारबाहीमा पर्यो ।
नाम चलेको सो रिसोर्टले दर्ता प्रक्रियामै झेल गरेको, किचन सरसफाइमा ध्यान नदिएको, लेभल मिलाएर नराखेको भन्दै आवश्यक निर्देशनसहित दश हजार जरिवाना तिराइएको छ । केही दिनअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले आराम गर्नुभएको सो रिसोर्ट जिल्लाभित्र राम्रै पाहुना थुपार्ने होटलमा पर्छ।
त्यस्तै १० हजार जरिवाना तिर्नेमा आकर्षक साजसज्जाले भरिएको बरण्डा रेस्ट्रो र निकै पुरानो गंगा पूर्ण होटल छन् । पछिल्लो समय एमालेका स्थानीयदेखि बडे नेताहरूको रोजाइको केन्द्र बनेको बरण्डाले पनि दर्ता प्रक्रिया पूरा नगरेको र किचन व्यवस्थापन भद्रगोल भएको पाइयो ।
अनुगमनका क्रममा बेसीशहर नगरपालिका –७ स्थित गाउँशहर कालिका सप्लायर्स तथा खानेपानी उद्योग, बेनपा –२ को लमजुङ पानी उद्योग र राइनास नपा–७ को स्प्रिङको पानी उद्योग दह्रो कारबाहीमा परेका छन् । ती उद्योग जारको लेवलमा उत्पादन मिति, ब्याच नं. नराखेको, बिक्री बिल नभएको भन्दै ऐन नियम अनुसार कारवाहीमा परेका छन् । भने स्पिङ्गो पानी उद्योगले बोतलको पानी प्रशोधनमा लापरवाही गरेको, अनुज्ञापत्र नविकरण नगरेकोले तत्काल ५० हजार जरिवानामा परेको छ । ती तीनवटै खानेपानी उद्योगको पानी गुणस्तर परिक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गएको दशैँ तिहारताका जिल्लाका सबै प्रकारका व्यवसायी पसल अनुगमनका क्रममा झण्डै ४ लाख हाराहारीमा राजश्व संकलन भएको थियो । अनुगमनका क्रममा जिल्लाका सम्पूर्ण व्यवसायीलाई व्यवसाय दर्ता गर्न, खाद्य स्वच्छता, गुणस्तर र सरसफाइमा विशेष ध्यान दिन भनिएको छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू