फिरङ्गी आउँदा मुलुक कंगाल हुने जमाना छ र !

फिरङ्गी आउँदा मुलुक कंगाल हुने जमाना छ र !
सुन्नुहोस्

हालै लगानी सम्मेलन सकिएको छ । यसका विभिन्न पाटाहरू के–के हुन् ? यसअघिका यस्तै सम्मेलनहरू किन प्रभावकारी हुन सकेनन् ? लगानीबारे हाम्रो धारणामा परिवर्तन आयो कि आएन ? केही विज्ञका अनुसार नेपालको विकासका निम्ति मनोवृत्ति (एटिच्युड)को समस्या पहिलो हो । मनोवृति ठीक भयो भने कानुन ठीक बन्छन्, व्यवस्थापन, प्रवन्धन र प्रक्रियागत कार्यहरू व्यवस्थित अनि सरल हुन्छन् । जसलाई ब्रोडर अण्डरस्ट्याडिङ पनि भन्न सकिन्छ । किनभने अहिले नेपालको समस्या बुझ्ने र त्यसलाई अनुभूती गर्ने कुरामा देखिएको समस्या नै मुख्य बाधा हो ।

प्रमुख दलको नेता र प्रधानमन्त्री हुनेले देश र विश्वलाई कसरी बुझेको छ भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ । विश्व र नेपालबीचको भूराजनीतिक सम्बन्धलाई बुझ्दा दल र तिनका नेताबीच सही समाजवादी सिद्धान्त, नीति र तिनको व्यवहारिक कार्यान्वयन गर्ने तत्परता नदेखिञ्जेलसम्म देश बन्दैन । साँच्चै भन्ने हो भने जङ्गबहादुर राणाले बुझेको जति पनि अहिलेका नेताले देश र जनतालाई बुझेको पाइन्न । त्यसबेला भीमसेन थापाहरू लडाइँ गरिराख्नुपर्छ भन्ने मान्यता राख्थे । लड्दालड्दै हार्नुपर्ने अवस्था आयो, सुगौली सन्धि त्यसैको उपज थियो ।

अंग्रेजसँग लड्दा अहिलेको भारतमा भएका कतिपय देशले आफ्नो अस्तित्व नैं गुमाए । यी सबै प्रकरणलाई सही ढंगले अध्ययन र विश्लेषण गरी जङ्गबहादुरले देशलाई बचाए । किनभने त्यसबेला ब्रिटिश साम्राज्य ग्लोबल पावर थियो । कहिले पनि सूर्य अस्त नहुने साम्राज्य अङ्ग्रेजहरूले स्थापना गरेका थिए । सैनिक शक्ति र हतियारको सामु विश्वका सबैजसो देश थर्कमान थिए । त्यसबेला अङ्ग्रेजले चाहेको भए अहिले भारतमा गाभिएका कतिपय देशजस्तै नेपाल पनि खान सक्थे ।

तर जंगबहादुरले चतुर्‍याइँका साथ मुलुक बचाउने काम मात्र गरेनन्, गुमेको भूभाग (नयाँ मुलुक)समेत फिर्ता ल्याए । त्यसबेला अहिलेको जस्तो संयुक्त राष्ट्रसंघ पनि थिएन । एकले आक्रमण गर्दा अर्कोले तुरुन्तै प्रत्याक्रमण गर्ने ति विभिन्न शक्ति राष्ट्र नै थिए । जस्तैः तालिवानले ट्विनटावरमा आक्रमण गर्दा अमेरिकाले तत्कालै अफगानिस्तानमा प्रत्याक्रमण गरेको उदाहरण हाम्रासामु छन् । तर त्यसबेला त्यस्तो अवस्था थिएन । अर्थात् शक्ति सन्तुलनको स्थिति नै थिएन । त्यस्तो बेला ब्रिटिश इण्डिया अर्थात् इष्ट इण्डिया कम्पनीसँग लडाइँ झगडा गर्नुभन्दा मित्रता गाँसेर आफ्नो अस्तित्व जोगाउन सकिन्छ भन्ने कुरा जंगबहादुरले बुझेका थिए । त्यसैले मित्रताको हात बढाए । यदि जङ्गबहादुरले ब्रिटिश इण्डियासँग युद्ध गरेका भए २९ ।

२९ वर्षसम्म राज गर्न सक्ने थिएनन्, न त नेपालकै स्वतन्त्र र सार्वभौम अस्तित्व जोगिन सक्थ्यो । दुवै गुम्थ्यो । उनले परिस्थितिलाई बुझे अनि तद्नुरूप आपूm जोगिने, देश पनि जोगाउने काम गरे । तर आजका नेता पाँच वर्ष पनि सत्ता जोगाउन नसक्ने अवस्थाका देखिएका छन् । त्यसबेला दरबारिया षड्यन्त्रका अनेकन प्रपञ्च चलेका थिए । राजा, रानी, युवराज र भाइभारदार अनि रैती दुनियाँ पनि पक्षविपक्षमा खडा हुन्थे । त्यस्तो परिस्थितिमा जंगबहादुरले कुशलतासाथ २९–२९ वर्षसम्म श्री ३ महाराज र प्रधानमन्त्री भई एकलौटी शासन चलाए । आफ्नो सरकार जोगाए । अहिलेका हाम्रा नेता  भने एक वर्ष पनि प्रधानमन्त्रीको कुर्ची जोगाउन सक्ने हैसियतमा छैनन् । जनमत हुँदा पनि पूरै पाँच वर्ष सत्ता टिकाउन सकेका छैनन् । इतिहास र अनुभवका हिसाबले धेरै कुरा हासिल गर्न सक्ने परिस्थिति हुँदाहुँदै हाम्रा नेता अक्षम देखिएका छन्् । भीमसेन थापा, जंगबहादुर राणा, राजा त्रिभुवन र राजा महेन्द्रका अनुभवबाट सिक्ने प्रयास गरेनन् । असल र राम्रा कुरा, कूटनीति, राजनीति जो कोहीबाट पनि सिक्दा राम्रो हुन्छ । विडम्बनाको कुरा, हाम्रा पुराना अनुभव र सिकाइ सारसङ्ग्रहित हुनुपर्नेमा हराउँदै गएका छन् ।

सत्ताको विरोध एउटा कुरा तर आफ्नो सत्ता मात्रै होइन देश र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेतर्फ पनि सोच हुर्काउनुपर्ने होइन र ? के अहिलेको लगानी सम्मेलनमा ‘फिरंगी आया मुलुक कंगाल हुन्या’ पुरानो सोच काम लाग्छ र ? यसअघिका लगानी सम्मेलनमा विभिन्न देशले जनाएको प्रतिवद्धता अनुरूपका काम किन भएन ? उनीहरू थप लगानी गर्न किन आएनन् ?  किन उत्साहदेखिएन ? त्यसका निम्ति के के बाधा रहे ? त्यसको मूल्याङ्कन कसरी भएको छ ? गज्जवको कुरा त लगानी प्रक्रियाका निम्ति मन्त्रालयमा बुझ्न जाँदा कर्मचारीले मलाई कति दिनुहुन्छ ? यसबाट मलाई के फाइदा हुन्छ ? भनेर प्रश्न गर्छ । सरकारको नीति र कार्यक्रमअनुसार कार्ययोजनामा सहजीकरणको आग्रह गर्दा पनि तपार्ईंलाई दिनुपर्छ भन्ने कहाँ लेखेको छ भनेर प्रतिप्रश्न गरिन्छ । यो किसिमको मनोवृत्ति (एटिच्युड) माइन्ड सेटले के लगानी भित्र्याउन सक्छ ? लगानीकर्ताहरू आकर्षित भई आउँछन् ? यस्तो पाराले देश अघि बढ्छ ? देशभित्रैका व्यवसायीले लगानी गर्ने वातावरण छैन भने बाहिरका मान्छे कसरी उत्साहित बन्लान् ?

एउटा मम पसल खोल्नेकै पीडा के के छन् ? तिनले कसरी जीविकोपार्जन अनि रोजगारी सिर्जना गरेका छन् भन्ने विषयको अध्ययन अनुसन्धान र सहयोग गर्नुको बदला करमाथि कर कसरी थोपर्न सकिन्छ भन्ने मात्रै सोच राखेर हुन्छ । कानुन, ऐन नियमलाई घाममा सुकाउँदै जसले हान्यो उसले जान्यो गर्न मिल्छ । अनि कसरी लगानी सम्मेलन गर्दैमा लगानी ओइरिन्छ ? आम नागरिकमा यस्ता विभिन्न खाले सोच पलाउनु बेग्लै कुरा । तर जसले कानुन बनायो, जसले कानुन लागू गर्ने जिम्मेवारीहरु इमान्दारीपूर्वक कार्यान्वयन गर्दैन भने कसका लागि र किन कानुन, ऐन, नियम, नीति र कार्यक्रम बनाउनुपर्‍यो ? लगानीका लागि प्रधानमन्त्रीले व्यर्थैमा अध्यादेशमार्फत् कानुन फेर्ने हल्ला किन गर्नु पर्‍यो जबकि ती कुनै पनि कार्यान्वयन गर्ने इकाईमा बसेका लागू गर्न तत्पर छैनन् भने । यी यस्ता सवाल हुन् जसले लगानीलाई विकर्षण गरिरहेका छन् । तसर्थ मनोवृत्तिमा सुधार ल्याउनु वा परिवर्तन गर्नु आवश्यक छ । नभए लगानी सम्मेलन जतिपटक गरे पनि त्यो फलदायी हुन सक्दैन । त्यो त्यसै खेर जाने छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू