छोराको क्षमता र समयको छाप

छोराको क्षमता र समयको छाप
सुन्नुहोस्

राजनीतिमा मिल्दा/नमिल्दा कुराका नयाँ–नयाँ बान्की देखिएका छन् । इलाममा सुवास नेम्वाङलाई चुनाव जित्नका निम्ति ०७९ सालमा ठूलै सकस पर्‍यो । प्रतिस्पर्धी डम्बर खड्कासँग उहाँले १ सय १४ मतको झिनो अन्तरमा जित्दा उनै प्रतिस्पर्धीलाई छोरा सुहाङले उपनिर्वाचनमा ५ हजार ८ सय ३० मतका साथ फराकिलो अन्तरमा हराए । अनि, बझाङमा चाहिँ उल्टो भयो । प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि नेपाली कांग्रेसले छोरा अभिषेकलाई उम्मेदवार बनायो, उनले हारे । ०७९ को निर्वाचनमा पृथ्वीबहादुरले एमालेका प्रतिस्पर्धी अफिलाल उखेडालाई ३ हजार ७ सय ८६ मतका साथ जितेका थिए । यसचोटि अभिषेकलाई एमालेका दमनबहादुर भण्डारीले २ सय ६७ मतका साथ हराए । इलामको निर्वाचनमा सुहाङले जिते, अर्थात युवा रुझान प्रकट भयो । उनीजस्तै युवा थिए, अभिषेक । तर, तीचाहिँ अनुमोदित भएनन् । 

दुबै जिल्लाको निर्वाचनले इंगित गरेको साझा प्रवृत्ति हो, अनेकन टुटफुट, वादविवादका बाबजुद पनि वामपन्थी मिल्न सके उनीहरुको जनमत सुरक्षित रहेछ । किनभने, माओवादीले ०७९ मा इलाम– २ मा पाएको मत पाँच हजार हाराहारी थियो । यसचोटि उसले शुरुदेखि नै सुहाङको विपक्षमा उम्मेदवारी दिएन र मतान्तर पाँच हजारभन्दा बढी भयो । चुनाव नजित्ने र थोरै मतबाट जितहारको खतरा देखेपछि एकीकृत समाजवादीले पनि आफ्नो पक्षमा प्रचार रोकेको थियो । फलतः उसका मतदाता पनि सुहाङतिरै लागे । बझाङमा माओवादी र समाजवादीका उम्मेदवारले पाएको मतलाई हेर्दा जित्ने दमन भण्डारीले पाएकोभन्दा अरु १० हजार मत वामपन्थीसँग बढी पाइयो । पूर्वको मेचीदेखि पश्चिम महाकालीसम्मको वामपन्थी जनमतलाई सदुपयोग गर्न सक्दा आगामी निर्वाचनमा पनि यसले सुखद परिणाम दिने देखिन्छ ।

यो व्यवस्थामा ‘केही भएन’, ‘केही हुँदैन’ भन्नेहरुको जमातले शहरमा निकै होहल्ला त गरिरहेको छ । पूर्वराजा ज्ञानेन्द्रदेखि राजेन्द्र लिङ्देनसम्मको हिन्दूवादी अभियान चलेकै हुन् । एउटा दुर्गा प्रसाईंले व्यवस्था नै सिध्याउलान् भन्नेसम्मको भ्रम फिँजाइयो । अन्ततः इलाम र बझाङमा यिनीहरुको अस्तित्व नै भेटिएन । 

यससँगै राजनीतिमा हावी भएका रहस्यमय पात्रलाई जनताले विस्तारै विस्तारै चिन्न र बुझ्न थालेको पाइन्छ । ०७९ मा अचम्मसँग उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले इलाममा व्यहोरेको हविगतले त्यस्तो भन्छ । पछिल्लो समय सहकारी ठगीमा अत्यधिक आलोचित सभापति तथा गृहमन्त्री रवि लामिछाने आफूसहित मन्त्री र केन्द्रीय नेताको टोली नै लिएर इलामकेन्द्रित थिए । उनी गएका ठाउँमा मान्छे राम्रैसँग जम्मा पनि हुन्थे । कुरा सुन्थे । तर, भोट हालेनन् । मुखै खोलेर सहकारीका कुरा कसैले गरेनन् । अर्थात्, मतदाताले जे गर्छन्, मनमनै गर्छन् भन्ने कुरा रास्वपाले व्यहोरेको छ ।

अब रविलाई रास्वपाको सभापतिबाट हटाएर स्वर्णिमलाई अगाडि सारे जनमत बच्ला भन्नेहरु एकथरि छन् । किनभने, रविलाई राखिरहे सहकारी काण्डले पार्टी खाने भयो । आफ्नोदेखि पत्नीसम्म, सालो र ससुराको लफडा पनि त्यहीँ जोडिएको । अर्काथरिले भन्छन्, सहकारी ठगीमा रविको बचाव गर्दा स्वर्णिम पनि उनकै मतियार हुन् भन्ने मान्यता स्थापित भएको छ । अब रास्वपाबाट उनको राजनीति पार लाग्दैन ।

रविको उदय नै शंकास्पद पृष्ठभूमिबाट भयो । यहाँजस्तै अमेरिकामा पनि मुद्दामाथि मुद्दा खेपेर हैरान भएपछि त्यहाँको आवासीय सुविधा (ग्रीनकार्ड) च्यापेरै आए । यहाँ आएपछि रातारात जहाँ भन्यो त्यहीँ पुग्ने, कहिले कतार, कहिले मलेसिया ! स्टिङ अपरेशन गर्ने, मान्छेको उद्धार पनि गरिहाल्ने ! भन्नेबित्तिकै अरुले नपाउने भिसा उनले पाइहाल्ने ! भनिन्छ, यस्तो हुनुमा कुनै न कुनै वाह्य शक्ति लागेकै छ । उनलाई कसले उकासिरहेका छन् ? यो कुरा खुल्न बाँकी छ । त्यही तत्वले रविको भर छैन भनेर स्वर्णिमलाई पार्टीमा भित्र्यायो । उनको पनि अमेरिकामा ग्रीनकार्ड छ, पत्नी विदेशी भएको जस्ता कुरा आएका छन् ।

अहिले सहकारी ठगीको साक्षी बनेका छन् । रविका त सहकारी ठगीको मुद्दालाई लटरपटर पारिएछ भने पनि दोहोरो नागरिकता, राहदानीका लफडा छन् । महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचल्ने भनेर आदेश दिए पनि कुनै न कुनै दिन निस्सा पायो भने दोहोरो राहदानीमा बच्ने ठाउँ छैन । दिनमणिका हकमा कानुन व्यवसायीहरु नै भन्छन्, ‘पदमा भएको मान्छे जिम्मेवार हुनुपर्छ ।’ जस्तो कि, कोहीप्रति कुनै सद्भाव छ, १९ र २० छ भने १९ को पक्षमा हुनसक्छ । तर, ६० र ४० को अनुपात हुँदा ६० कै पक्षमा निर्णय गर्नुपर्छ । दिनमणिले रविको मुद्दा नचल्ने निर्णय गर्दा ६० र ४० को अनुपातमा ४० को पक्ष लिएका हुन् । 

उता, अर्को रमिता छ नक्कली भुटानी प्रकरणमा । भूमिसुधारबाट रोजेर गृहसचिव ल्याउने बालकृष्ण खाँण धरौटीमा छुट्ने ! निर्णयमा सामेल नै नभएका टोपबहादुर रायमाझी भित्रको भित्रै हुने ! निर्णय गर्ने, फाइल सदर गर्ने, कार्यदल बनाउने, प्रतिवेदन सच्याउन लगाउने बालकृष्ण बाहिरी दुनियाँको हावा खाइरहेका छन् । रामेछापका कांग्रेस नेता आङटावा शेर्पाले पैसाको कारोबार गरे, बिचौलियासँग उनैले डिल गरे । उनले पनि जेलबाहिर बस्ने सुविधा पाउने । यसरी हेर्दा अदालत पनि कसरी चोखो छ भन्ने ? 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू