भाउजूहरुका फाइल भटाभट
अब लगभग एकै समयमा ‘भाउजू’ का फाइल खुल्दै छन्, प्रहरीदेखि राजश्व अनुसन्धानसम्मका हाकिम तल–माथि हुँदै छन् ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानालाई कलकत्ताको निम्ति महावाणिज्यदूत बनाएर पठाउने र त्यहाँ चक्र बूढालाई लैजाने तयारी छ । यसनिम्ति चक्र पर्यटन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा हाजिर भइसकेका छन् । उनी पहिला विभिन्न जिल्लामा सिडिओ बसिसकेका व्यक्ति हुन्, अर्थको बजेट महाशाखामा पनि थिए ।
त्यस्तै, नक्कली भुटानी प्रकरणमा राजनीतिक दबाबका कारण अनुसन्धानबाट मुक्त गरिएका कांग्रेससम्बद्ध दुई ‘भाउजू’ को अनुसन्धान अगाडि बढाइँदैछ । सिआइबीका एआइजी श्यामलाल ज्ञवालीले गृहमन्त्री रवि लामिछानेसँग छिट्टै पक्रिने बाचा गरेका ‘ठूला माछा’ पनि तिनै भएको प्रहरीस्रोतले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा.आरजु र पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुमाथि अनुसन्धान गर्न थालिएको हो ।
यससँगै, प्रहरीका केही एआइजीहरुको जिम्मेवारी सम्भवतः यसै साता हेरफेर हुने भएको छ । अहिले उपत्यका प्रहरी प्रमुखका रुपमा कार्यरत एआइजी दीपक थापालाई हेडक्वार्टरस्थित मानवस्रोत विभागमा लगिने भएको छ भने त्यहाँ कार्यरत टेकप्रसाद राईलाई उपत्यकामा परस्पर सरुवा गरिने तयारी छ । खालि रहेको प्रशासन विभागमा भर्खरैका एआइजी भीम ढकालको चाहना छ । बढुवा भएर पनि उनले फुली लगाउन पाएका छैनन् । जागिर पनि थोरै समय बाँकी छ ।
त्यस्तै, कसैलाई कामु नदिई देशबाहिर हिँडेका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा अझै चीनतिरै घुमिरहेका छन् । चार दिनका निम्ति हिँडेका उनी आठ दिन भइसक्दा पनि फर्किएका छैनन् । पहिल्यैदेखि आफू जहाँ गए पनि कामु नदिने उनको बानी नै हो । अहिले पनि कसैलाई कामु तोकेका छैनन् । उनी जहाँ गयो, त्यहीँ कार्यालय बनाएर बस्ने गरेका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू