फिल्मकर्मीको प्रशंसा बटुलेको मनसरा आजदेखि हलमा

फिल्मकर्मीको प्रशंसा बटुलेको मनसरा आजदेखि हलमा
सुन्नुहोस्

निर्माण घोषणादेखि नै चर्चामा रहेको चलचित्र 'मनसरा' आजदेखि प्रदर्शनमा आएको छ । देशभरका हलहरुमा यो चलचित्रले करिब दुई सय भन्दा बढी शो पाएको छ । 

गत वर्षकै सर्वाधिक हिट फिल्म जारीका निर्देशक तथा लेखक उपेन्द्र सुब्बाको यो दोश्रो चलचित्र हो । प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधानले फिल्ममा मुख्य भूमिका निभाएका छन् । त्यस्तै, दयाहाङ राई, विप्लव प्रतिक, सत्यराज आचार्य लगायतका कलाकारको सहायक भूमिका छ । 

मनसराको उपत्यका बाहिरसमेत गरि दुई ठाउँमा प्रिमियर गरिएको थियो । हिजो साँझ विराटनगरमा र अस्ति ललितपुरको पुल्चोकस्थित लबिम मलको क्युएफएक्स सिनेमाजमा प्रिमियर शो गरिएको हो । 

प्रिमियरमा मनसराले राम्रो प्रतिक्रिया पाएको छ । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले मनसरा 'ए लेभल'को चलचित्र बनेको बताए । चलचित्रमा प्रयोग गरिएका पालमका विम्बहरुले आफूलाई लोभ्याएको उनको भनाई थियो । 

त्यस्तै, अभिनेत्री सुरक्ष पन्तले चलचित्रसँग लोभ लागेको प्रतिक्रिया दिइन् । कथा सामान्य भए पनि प्रस्तुती अब्बल रहेको उनको भनाई छ ।

गायक सत्यराज आचार्यले पनि चलचित्रले नेपाली समाजको यर्थाथ कथा बोकेको बताए । निर्देशक सुब्बाको खुलेर प्रंशसा गरेका उनले चलचित्रमा आफू तीन सिनमा देखिन पाएकोमा खुशी व्यक्त गरे । 

मनसराको खुलेर प्रशंसा गरेका निर्देशक प्रदिप भट्टराईले पनि ओझपूर्ण चलचित्र बनाएको भन्दै निर्देशक सुब्बालाई बधाई दिएका थिए । 

अभिनेता खगेन्द्र लामिछानेले चलचित्रको पटकथा अब्बल रहेको बताए । संवादमा प्रयोग गरिएको मौलिक शब्द र लवजले चलचित्रलाई बलियो बनाएको उनको ठम्याई छ । 

प्रिमियर शोबाट बाहिरिंदै गर्दा चलचित्रकी अभिनेत्री मिरुना मगरले शुटिङको केही क्षण सम्झिन् । केही लामो दृश्य शुटिङ गर्दा कठिन भएको अनुभव सुनाएकी उनले गम्भीर मनस्थितिमा रहेर बोल्नुपर्ने कतिपय संवादमा आफूले ज्यादा मेहनत गरेको बताइन ।

'एउटा सिन छ नि, मैले मेरो बिहेको कथा भन्ने । त्यतिबेला लामो संवाद लगातार बोल्नुपर्ने थियो । त्यहीमाथि त्यतिबेला आफ्नो मनोदशा भावुक भएको बनाउनुपर्ने थियो । तर, शुटिङ एयरपोर्ट नजिक भएकोले आकाशमा हेलिकप्टरको आवाज आइरह्यो । एक पटक होइन, दुई पटक होइन, पटक पटक । त्यतिबेला आफूलाई क्यारेक्टरमा ढाल्न समय लाग्यो', उनले भनिन् ।  

चलचित्रका अभिनेता प्रविण खतिवडाले आफूले पढेको स्क्रीप्टभन्दा चलचित्र झन् राम्रो बनेको दाबी गरेका छन् । मनसरामा प्रेमको क्षेत्राधिकार देखाउन खोजिएको उनको भनाई छ । 

निसन्तानको विषयवस्तु चलचित्रको मूलकथाजस्तो देखिए पनि महिला र पुरुषबीचको अफ्ठेरो प्रेम प्रस्तुत गर्नु मुख्य उद्धेश्य रहेको खतिवडाले जानकारी दिए ।

टिप्पणीहरू