प्रेमिकासँगै तानाशाहको विभत्स प्राणान्त

प्रेमिकासँगै तानाशाहको विभत्स प्राणान्त

संसारको इतिहासमा सबैभन्दा खतरनाक तानाशाहको रूपमा जर्मनीका एडोल्फ हिटलरलाई देखाइएको छ । भनिन्छ, मुसोलिनीको अत्यन्त पीडादायक मृत्यु देखेरै हिटलरले आत्महत्या गर्ने सोच बनाएका थिए । इटलीका शासक बेनिटो मुसोलिनी पनि उनीभन्दा कम्ता क्रूर थिएनन् । उनले ७ लाखको ज्यान लिएका थिए । उनी पनि अत्यन्त बर्बरर सन्काहा थिए । आफ्ना बिरोधीहरूलाई सखापै पार्नु पर्छ भन्ने सोचाइ राख्थे । अत्याचारी त थिए नै, अरुको पीडामा आनन्द लिने खालका थिए । प्रतिभाशाली पत्रकार थिए तर चिन्तनमा अस्थिर । आफ्नै जादुइ संसारमा रमाउन मन पराउँथे । र, जब त्यस्तो चटके संसारको वास्तविक संसारसँग टकराव हुन थाल्दथ्यो, पागल र उन्मादी बन्थे । एकपटक आफ्नै बारेमा भनेका थिए – म कुनै राजपुरुष होइन, मात्र एउटा पागल कवि हुँ ।

सन् १९४५ अप्रिल २९ आइतबारको दिन । इटलीको मिलान शहर पूर्णतः शान्त थियो । बिहान ४ बजे झिसमिसेमै पहेंलो रंगको काठे–ट्रक उक्त शहरको सबैभन्दा प्रसिद्ध चोक ‘पियाजाले लोरेटो’ मा पुगेर रोकियो । पहिल्यै त्यहाँ सेनाको भ्यान खडा थियो । ट्रक आइपुग्नेबित्तिकै भ्यानबाट १० जना सैनिक निस्के र पछाडिबाट त्यसमा चढे । निकै गह्रुंगो जस्तो लाग्ने वस्तु चोकमा बनाइएको गोलोघेराभित्र फाल्न थाले । त्यहाँ केही संख्यामा स्थानीय थिए तर उज्यालो भइनसकेकोले सेनाले के फाले ठम्याउनै सकेनन् । सैनिक गइसकेपछि उनीहरू फालेको वस्तुको नजिक पुगेर हेरे । ती १८ वटा शव थिए । इटलीमा त्यो बेला सडकमा लाश देखिनु कुनै नौलो कुरो हुन्नथ्यो, किनभने विश्वयुद्ध उचाइमा थियो, इटली आफैँ उक्त युद्धको एउटा महत्वपूर्ण हिस्सा थियो । तर, जव नागरिकले ती शव देखे र कसको हो भनेर चिने, सास रोकिएलाजस्तो भयो किनभने एउटा लाश त्यो तानाशाहको थियो, जसले इटलीमा २१ वर्ष अनवरत शासन गरेका थिए । सँगैको लाश तानाशाहकी युवा प्रेमिका क्लारेटा (क्लारा) पेटाचीको थियो । अन्य लाश मुसोलिनी नजिकका सैनिक अधिकृतहरूको थियो । मुसोलिनीको शरीरमा फासिस्टहरूले लगाउने बर्दी थियो भने खुट्टामा कालो रंगको बुट । बुट पूरै हिलाम्य । क्लारेटाको शरीरमा सेतो सिल्कको लुगा थियो । छातीमा गोलीको दुइटा प्वाल । ती प्वालबाट बगेको रगत जमिसकेको ।

तानाशाह मुसोलिनी र उनकी प्रियसीको हिलोमा लत्पतिएको शव बीच सडकमा फालिएको खबर शहरभरि आगोसरह फैलियो । बिहानको ७ बजेसम्ममा लगभग ५ हजारको भीड जम्मा भयो । नागरिक अत्यन्त क्रोधित थिए, नारा लगाउन थाले । हेर्दाहेर्दै भीडले लाशमाथि चप्पल र ढुंगा बर्साए । भीडबाट २ जना मुसोलिनीको लाश नजिक पुगे । एक जनाले चिउँडोमा पर्ने गरी लात्ती बजाए । अर्की महिलाले पिस्तोल निकालिन् । गोली लोड गरिन् अनि एकपछि अर्को गर्दै ५ वटा गोली दागिदिइन् र चिच्याइन्, ‘मेरी छोरीको हत्याको बदला बल्ल आज लिन पाएँ ।’

उनी आयरल्याण्डकी थिइन् । मुसोलिनीले उनका ५ जना छोरीलाई विद्रोहीको आरोपमा मार्न लगाएका थिए । उनको साहस देखेर भीडमा उभिइरहेकी अर्की महिलामा पनि हिम्मत बढ्यो । उनी पनि रुँदै, चिच्याउँदै दौडेर नजिक पुगिन् र मुसोलिनीको लाशमा पिसाब फेरिदिइन् । एकछिन अगाडिसम्म नारा लगाउँदै गरेकी एउटी युवती हातमा कोर्रा लिएर अघि बढिन् र दनादन हान्न थालिन् । लगातारको प्रहारले मुसोलिनीको एउटा आँखा निस्कियो । एक जना कपाल नभएको टाउकोमा बुटले हान्न थाले भने अर्कोले राइफलको कुन्दाले अनुहारमा प्रहार गर्र्दै गए । अर्को एक जनाले मुखमा मरेको मुसो राखिदिए । मुसो कोच्दै ‘डुचे, तिमीलाई लेक्चर दिन खुप मन पर्छ होइन ? लौ अब जति भाषण दिन मन लाग्छ देऊ’ भनी पागलझैं चिच्याए । स्मरणीय छ, इटलीका जनता मुसोलिनीलाई डुचे भनेर संबोधन गर्थे । यो ल्याटिन शब्द डुक्सबाट लिइएको हो । जसको अर्थ नेता, शासक वा मार्गनिर्देशक हुन्छ । मुसोलिनीमाथि नागरिकहरु गाली बर्साइरहेका थिए । भीडबाट अर्को आवाज निस्क्यो, ‘मैले मुसोलिनीलाई देखिन ।’ यसबीच करिब ६ फुट अग्ला मान्छे लाशको नजिक पुगे । दुवै हातले उठाउँदै भने, ‘ल हेर, सबैले हेर ।’ भीडबाट आवाज आयो, ‘अझ माथि उचाल, अझ माथि ।’ 

भीड अब लाश नजिक पुग्यो । लात्तीले हान्न र थुक्न तँछाडमछाड भयो ।  केही मानिस मिलेर लाशलाई काठे खम्बामा टाउको तल, खुट्टा माथि हुने गरी लट्काइदिए । क्लारेटा पेटाची र अन्य लाशलाई पनि त्यसरी नै खम्बामा झुण्ड्याइदिए । इतिहासकार ब्लेन टेलरले लेखेका छन्– क्लारेटालाई उल्टो लट्काउँदाको समय उनले लगाइराखेको स्कर्टले मुख छोपिन पुग्यो । उनले भित्री वस्त्र लगाएकै रहिनछिन् । यो देखेर उपस्थित सबै जना हाँस्न थाले तर एक जना ब्यक्तिले उल्टेको स्कर्टलाई सुल्टो पारिदिए अनि फेरि नउल्टोस् भनेर लाशको खुट्टामा डोरीले बाँधिदिए । यो सब हुँदै थियो, ठीक त्यसैबेला कताकताबाट मुसोलिनीको राजनीतिक दल ‘फासिस्ट’ का एक जना पूर्वसचिव अकिले स्टारेची साहस गरी अघि बढे र स्यालुट मारेर भन्न थाले, ‘मेरा डुचे, मेरा डुचे ।’ 

लगत्तै गोली चलेको आवाज सुनियो । मुसोलिनीलाई सलाम गर्दै गरेको नेता सडकमा ढल्यो । उक्त गोली मुसोलिनीको विरोधी समूह ‘पार्टीसन’ सित आवद्ध एक जना सैनिकले चलाएका थिए । यसबेला दिउँसोको १ बजिसकेको थियो । एकछिनपछि अमेरिकी सेनाको जत्था पियाजाले लोरेटो चोक पुगेर भीडलाई हटाएँ र झुण्ड्याइराखेको लाश उतार्दै बाकसमा हालेर लग्यो । पछि मुसोलिनीको लाशको पोष्टमार्टम गरियो । कूल ९ वटा लागेमध्ये एउटाले छाती छेडेको थियो । त्यही एउटा गोलीले उनको मृत्यु भएको ठहर गरियो । गाड्नुअघि उनको मस्तिष्क निकालियो । सोही गिदीमाथि अमेरिकाको वाशिङटन डीसीस्थित सेन्ट एलिजाबेथ अस्पतालमा रिसर्च गरेर बल्ल केही वर्षपछि त्यो मस्तिष्क मुसोलिनीकी पत्नी डोना रसेललाई हस्तान्तरण गरियो । इटलीका जनता एक समय मुसोलिनीलाई भगवान नै मान्थे । तर उनको मृत्यु अत्यन्त नराम्रोसित भयो । 

मित्रराष्ट्रको शक्तिसित लडिरहेका जर्मन शासक हिटलरले जब यो घटना विवरण सुने उनको मुटु काँप्यो । उनी आफूले गुरु मानेको मित्र मुसोलिनीको जस्तो मृत्यु चाहँदैनथे । इटलीमा उक्त घट्ना घट्दा उनी बर्लिन शहरस्थित आफ्नो मुख्यालयमा बनाइएको बंकरभित्र लुकी बसेका थिए । अप्रिल १६ मै जर्मनी छिरिसकेकोले सोभियत सेना २१ अप्रिलमा बर्लिनमाथि कब्जा जमाए । ज्यान बचाउन हिटलर प्रेमिका इभा ब्राउन र सेनाका उच्चपदस्थ अधिकारीहरूसहित उक्त बंकरभित्र छिरेका थिए । जुन दिन मुसोलिनीको लाशमाथि उनैका जनताले लात्ती हानेर, पिसाब फेरेर खम्बामा उल्टो लट्काइदिए, हिटलरले पनि अब आफू नबच्ने ठाने किनभने उक्त बंकरलाई चारैतिरबाट रुसी सेनाले घेरिसकेका थिए । सोही दिन अर्थात २९ अप्रिलकै दिन हिटलरले बंकरभित्रै प्रेमिका इभासित बिहे गरे । र, सुहागरात मनाउन शयनकक्षमा पसे । एकैचोटि बिहान ११ बजे उठे । संगै खाना खाए । दिउँसोको साढे ३ बजे कोठामा पसे । एकछिनपछि गोली चल्यो । पहिला हिटलरले इभालाई साइनाइड ख्वाएर मारे अनि पेस्तोले आफैंलाई गोली हानेर मरे । (हिटलर र इभाको प्रेमकथाः जनआस्थाको ०७८ जेठ २६, असार २, ९ र फागुण ७ गतेको अंकमा पढ्नुस्)

विश्वयुद्धमा जर्मनी, इटली र जापानको पराजय शुरु भएपछि मुसोलिनी ज्यान बचाउँदै भागे । क्लारा (क्लारेटा) पनि साथमै थिइन् । कोमो पुगेको समय कम्युनिष्ट बिद्रोही समूहसंग जम्काभेट भयो । उनीहरूले मुसोलिनीलाई चिने र समाते । बिद्रोही नेताले मृत्युदण्डको सजायँ सुनाए । अपृल २८ को दिन मृत्युदण्ड दिने तय भयो । विला बेलमौन्ट पुर्‍याएपछि क्लारा रुँदै कराउँदै मुसोलिनीको अगाडि उभिन पुगिन् ‘नाइँ, उसलाई नमार्नु ।’ 

त्यसो भन्दाभन्दै उनी ढलिन् । अब गोली खाने पालो मुसोलिनीको थियो । आफ्नो कोट हातले मिलाउँदै भने, ‘मलाई छातीमा गोली हान ।’ लगत्तै उनी पनि भुइँमा ढले । (मुसोलिनी र क्लाराको प्रेम : जनआस्थाको ०७४ को मंसिर ६ को अंकमा) ।

 

टिप्पणीहरू