मान्छेको जिन्दगी न हो, चल्छ त मज्जैले
सेतो हात्तीको भौगोलिक नाउँले चिनिने थाइल्याण्ड थाई खाना, बिरालो, मसाज, नाइट लाइफ, वेश्यालय, सुन्दर टापुहरू, भिक्षु र बौद्ध मन्दिर, नदी र नहरमा तैरिने नौका बजार आदि इत्यादिका लागि पनि उत्तिकै प्रसिद्ध छ । एक समय एक जोडी जुम्ल्याहाकै कारण पनि चर्चित बनेको हो । ती हुन् – चाङ र इङ । चाङ र इङ साधारण जुम्ल्याहा थिएनन्, शरीर एकापसमा जोडिएको थियो । छाती एकापसमा जोडिएकाले दुई ज्यान, एक शरीर थियो । अरु सबै शरीरका अंग बेग्लाबेग्लै, तर कलेजो भने एउटा मात्र । अर्थात् दुइटा शरीरको एउटा कलेजो । साझा कलेजोमा बाँचेका थिए उनीहरू । तथ्यांकअनुसार प्रत्येक २ लाखमा एउटा यस्तै शरीर जन्मिने गरेका छन् । तर, अधिकांशको जन्मिन नपाउँदै मृत्यु हुन्छ भने जन्मेकाको पनि २४ घण्टामा निधन हुने गर्दछ । यसरी जन्मिने बच्चाको तुलनामा बच्चीको मृत्यु प्रतिशत कम छ, अर्थात् ३ः१ ।
सन् १८११ मे ११ को दिन राजधानी बैंककभन्दा ९६ दशमलव ५४ किमि टाढा मेक्लोङको एउटा छाप्रोमा उनीहरूको जन्म भयो । बच्चाका बाबु ती आइ माछा मारेर जीविका चलाउँथे । चिनियाँमूलका उनी र पत्नी नोक मलय (मलायाको एउटा जनजाति) को घरमा बच्चा जन्मेको खबर पाएर सबै जम्मा भए तर नवजात शिशुलाई देखेपछि गाउँमा कोलाहल मच्चियो । दुवै बच्चा राम्रा र स्वस्थ थिए तर शरीर जोडिएको थियो । दुवैको छाती एक डल्लो मासुले जोडिएको थियो भने नाइटो पनि एउटा मात्र । बच्चा देखेपछि गाउँमा भय फैलियो । बूढापाकाले अभागी बच्चा भनेर दुत्कारे, अब गाउँमा प्रलय आउने भयो भनी छाती पिट्न थाले । चाङ र इङको जन्मको खबर एक कान दुई कान मैदान हुँदै तत्कालीन सियाम (थाइल्याण्ड) का राजाको कानसम्म पुग्यो । राजाबाट यस्तो बच्चालाई जीवित राख्नुहुन्न, मारेर फाल्नुपर्छ भन्ने आदेश भयो । तर, पछि उनले कुनै कारणवश सो आदेश फिर्ता लिए ।
चाङ र इङ जन्मेको केही समयपछि नै बिफरबाट ती आइको मृत्यु भयो । नोकले ती दुवैलाई अन्य केटाकेटी र हाँसको बथानसँगै हुर्काइन् । ती आइ र नोक दुवै जना थेरवादी (बौद्ध मार्गी) थिए, त्यसैले चाङ र इङले शुरुमै थेरबादको अध्ययन गरे । उनीहरू अरु केटाकेटीसँग खेल्दै, दगुर्दै हुर्के । नोकले उनीहरूलाई विशेष ध्यान भने दिइनन् । जुम्ल्याहा छोराको छातीको बीचमा भएको मासुको डल्लो ठूलो भएर हिँडडुलमा अप्ठेरो नहोस् भनेर दिनरात थिचिरहन्थिन् । युवा अवस्थामा पुगेपछि एउटा समस्या आयो । एक जना उठ्न खोज्दा अर्को बसिरहेका हुन्थे । किनभने दुबैको मस्तिष्क अलग्ग थियो, हेर्दा दुबै जना दुरुस्त देखिन्थे तर आनीबानी फरक थियो । दुबै आफ्नै तरिकाले सोच्थे र चल्न शुरु गर्थे । विस्तारै उनीहरूले बानी बसाले, मिलेर चल्ने, हिँड्ने । गाउँका अधिकांश मानिस खोलामा गएर माछा मार्थे । नोक पनि दिनभरि खोलामै हुन्थिन् । जसकारण चाङ र इङको दिन खोलामै बित्न थाल्यो । दुबै जना मिहिनेती र परिश्रमी थिए । त्यसैले पौडिन सिके, स–साना डुंगा चलाउँदै माछा मार्न जाने । नरिवल टिपेर बजारमा बेच्दै आमालाई सघाए । बट्टाइ पनि पाले ।
सन् १८२४ मा राजा रामा (तृतीय) ले दुबैलाई दरबारमा बोलाए । उनीहरूलाई देखेर उनी प्रसन्न भए । दरबारको कोठा–कोठा चोक–चोक घुमाए, आफ्ना एक सय रानीहरूसँग परिचय गराइदिए । फर्कन लाग्दा बहुमूल्य गहना र पैसा दिए । केही समयपछि दुबैलाई इन्डो चाइना दूतावासका प्रतिनिधिसँग सो क्षेत्र घुम्नसमेत पठाए । यसबीच, स्कटल्याण्डका व्यापारी रोबर्ट हन्टरले दुबैलाई देखे । त्यो बेला चाङ र इङ मेनम नदीमा डुंगा खियाउँदै, माछा मार्दै थिए । रोबर्ट बैंककलाई कर्मभूमि बनाई व्यापार गर्दै थिए । उनी अनौपचारिक कूटनीतिज्ञ पनि थिए । शुरुमा देख्नेबित्तिकै उनले उनीहरू कुनै सामुद्रिक जीव होला भन्ठानेका थिए । तर, जब किनारमा आइपुगेपछि देखे, व्यापारी दिमागले उनीहरूलाई पश्चिमी मुलुकमा लगेर पैसा कमाउन सकिने देखे । उनले थाइ राजा र परिवारबाट स्वीकृति लिए । यसो गर्न ५ वर्ष लाग्यो । यसरी चाङ र इङलाई रोबर्ट र अमेरिकी जहाजका क्याप्टेन आबेल कोफिन मिलेर सन् १९२९ मा अमेरिका लगे । रोबर्टले चाङ र इङसँग ५ वर्षका लागि सम्झौता गरेका थिए । कसै–कसैले नोकले रोबर्टलाई जुम्ल्याहा छोराहरू बेचेर पठाएको पनि भन्ने गर्छन् । अमेरिका पुग्दा चाङ र इङ १८ वर्षको भइसकेका थिए ।
अमेरिकामा चाङ र इङलाई हेर्न मानिस ठेलमठेल गर्न थाले । रोबर्ट र कोफिनले चाङ र इङको अनौठो शरीर देखाएर पैसा कमाउन थाले । विभिन्न राज्यमा शो आयोजना गरे । केही समयका लागि ब्रिटिश अधिनष्थ टापुहरूमा लगेर शो देखाए र सन् १९३१ मा पुनः न्युयोर्क लगे । त्यतिञ्जेलमा चाङ र इङले पनि मनग्य पैसा कमाइसकेका थिए भने अंग्रेजी पढ्न, लेख्न र बोल्न जानिसकेका थिए । पत्रपत्रिकाले हरेक दिनजस्तै उनीहरूबारे लेखेर ठूलै प्रचार गरिदिइसकेका थिए । रोबर्ट र कोफिनले चाङ र इङलाई सियामेली (थाइ) जुम्ल्याहा नामकरण गरिदिएका थिए । यसरी जता पुग्छन् त्यता उनीहरूको शोको टिकट रातारात बिक्न थाल्यो भने उनीहरूबारे लेखिएका बुकलेट र चित्र पनि भकाभक बिक्री हुन थाल्यो । विभिन्न राज्यमा शो देखाउँदै हिँड्ने क्रममा चाङ र इङको रोबर्ट र कोफिनसित मतभेद हुन थाल्यो र पछि झगडा नै प¥यो । सन् १९३९ देखि जुम्ल्याहा दाजुभाइले स्वतन्त्र तवरमा शो देखाएर हिँड्न थाले । जर्मनी, रुस, बेलायतमा समेत शो देखाए । यसबीच उनीहरूले ६० हजार अमेरिकी डलर जम्मा पारी क्यारोलाइना राज्यमा घर किने । अमेरिकी नागरिकता ग्रहण गरे ।
क्यारोलाइनामै उनीहरूको भेट सराह र एडिलाइडे यिट्ससँग भेट भयो । उनीहरू छिमेकी डेबिड यिट्सका छोरीहरू थिए । निरन्तर देखादेख र भेटघाटको क्रममा चाङ र एडिलाइडेबीच प्रेम भयो । यद्यपि, सराह इङलाई भने मन पराउँदैन थिइन् । एडिलाइडे दिदी सराहको तुलनामा सर्लक्क परेको शरीर भएकी राम्री युवती थिइन् भने सराह अलि मोटी र पुड्की । तर, निकै समयपश्चात् सराहले बहिनीलाई साथ दिइन् र उनीहरूको बिहे सन् १८४३ मा डेबिडकै बैठक कक्षमा सम्पन्न भयो । बिहेपश्चात् चाङ र इङ सुत्ने गरेको पलङलाई चौडा पार्ने काम भयो । र, उनीहरू चारै जना एउटै पलङमा सुत्न थाले । चाङ र इङ बीचमा र दुई दिदी–बहिनी छेउछेउमा । धेरैले उनीहरूको बिहेलाई लिएर खिसी गरे । उनीहरूसँग बिहे गर्ने दुई दिदीबहिनी पनि आजीवन सन्तानविहीन हुने भए भनेर व्यंग्य कसे । तर, सबैलाई चक्मा दिँदै दुबै दाजुभाइले दुबै दिदीबहिनीलाई गर्भवती बनाइदिए । ६ दिन बिराएर सराह र एडेलाइडी आमा बने । अचम्मको कुरो त यो भयो कि एक–दुई जना होइन, चाङ र एडेलाइडे कूल १० सन्तानको आमाबुबा बने भने इङ र सराह ११ सन्तानको । दुवैका गरी १२ छोरी र ९ छोरा जन्मे । दुर्भाग्य २ जना बहिरा जन्मे भने अन्य ३ जना ३ वर्षभित्रै मरे । अर्को कुरा २१ सन्तानमध्ये कोही पनि जुम्ल्याहा थिएनन् ।
शरीर जोडिएकाले उनीहरूले कसरी शारीरिक सम्बन्ध बनाए होलान् भन्ने धेरैको लागि जिज्ञासा बन्यो । धेरै पछि उनीहरूमाथि गरिएको अध्ययनमा पालैपालो चाङ र इङ उत्तानो परेर सुत्ने र यिट्स दिदीबहिनी पनि पालैपालो उनीहरूको शरीरमाथि चढेर सम्बन्ध बनाउने गरेको हुनुपर्ने अनुमान लगाइयो । धेरै धन आर्जन र धेरै सन्तानको आमाबुबा बनेपछि अरु दम्पतीसरह उनीहरू पनि झगडा गर्न थाले । पत्नीहरूका लागि दुइटा घर किने । एउटामा सराह र अर्कोमा एडेलाइडेलाई राखे । अनि चाङ र इङ रुटिन बनाएर कहिले सराहकोमा त कहिले एडेलाइडेकोमा सुत्न जान थाले । यसबीच उनीहरूले किसानी काम पनि सिके । यहाँसम्म कि दुवै दाजुभाइ मिलेर रूख काट्न जान्ने भए ।
सन् १८७४ मा चाङमाथि लहरेखोकीले हमला गर्यो । सन् १८७४, जनवरीको एकरात सुतिरहेका बेला चाङले भाइलाई उठाए । उनले आफूलाई स्वास लिन गाह्रो भइरहेकाले दुबै उठौँ भने । जाडोको मौसम थियो । एकछिनपछि दुबै जाडोले काँप्न थाले । जाडोबाट बच्न आगो बाले । आधा घण्टाजति आगो तापेपछि इङलाई निद्रा लाग्यो । मध्यरातमा पसिनाले नुहाए । हत्तपत्त उठे र चाङलाई केही भयो कि भनेर हेरे । चाङको छातीमा टाउको राखेर ढुकढुकी सुन्ने प्रयास गरे । तर, चाङ शून्यमा गइसकेका थिए । इङले चिच्याउँदै छोराछोरीलाई उठाए । केटाकेटीले चाङको मृत्यु भइसकेको बताएपछि इङले भने – त्यसोभए मेरो मृत्यु पनि नजिक आउँदै छ ।
उनीहरूको जेठो छोरो डाक्टर बोलाउन दौडिए । जब छोरो डाक्टरलाई लिएर घर पसे त्यतिञ्जेलमा इङको पनि मृत्यु भइसकेको थियो । मृत्युको समय उनीहरू ६३ वर्षका थिए । सराहको ७० वर्षको उमेरमा १८९२ मा र एडेलाइडेको ९४ वर्षको उमेरमा सन् १९१७ मा निधन भयो । उनीहरूले जुम्ल्याहा दाजुभाइ चाङ र इङसँग ३१ वर्ष लामो दाम्पत्य जीवन बिताएका थिए । चाङ र इङको जीवनीलाई लिएर साहित्यकारहरूले कबिता कोरेका छन् भने गीतकारले गीतको रचना र सिनेकर्मीले फिल्म बनाएका छन् ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू