नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीकै ज्यान असुरक्षित

नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीकै ज्यान असुरक्षित

गत फागुन २० गते राजधानीको कोटेश्वर चोकमा दुःखद् घटना भयो । ड्युटीमा खटिएका एक जना ट्राफिक प्रहरीको बसको ठक्करबाट ज्यान गयो । जुनेली यातायातको ठक्करबाट गम्भीर घाइते भएका नायव निरीक्षक (सई) टोपबहादुर खत्रीको उपचारको क्रममा निधन भएको थियो ।

प्रदेश–३–०१–००५ ख ९७५५ नम्बरको बसले दिएको ठक्करबाट गम्भीर घाइते भएका उनलाई तुरुन्तै माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइयो । उपचारको क्रममा फागुन २७ गते निधन भएको हो । सर्लाहीका खत्रीलाई ठक्कर दिने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन् । 

ट्राफिक प्रहरी जवान विशाल ओलीले पनि कर्तव्यपालनको क्रममा ज्यान गुमाए । बाँकेको मदन चोकमा जीपको ठक्करबाट गम्भीर घाइते भएका उनको कोहलपुर शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गत मंसिर २८ गते राति ड्युटी सकेर घर जान लागेका उनलाई र प्रहरी सहायक हवल्दार लालबहादुर बुढा क्षेत्रीलाई भे. १ च ३४०५ नम्बरको जिपले ठक्कर दिएको थियो । 

ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । यी केही उदाहरण मात्र हुन् । ड्युटीका क्रममा ज्यान गुमाउने सुरक्षाकर्मीको संख्या निरन्तर बढ्दो क्रममा छ । यता, सयौंको संख्यामा सुरक्षाकर्मी अङ्गभङ्ग र घाइते छन् । राष्ट्र र आम नागरिकको सुरक्षा र सेवाका लागि खटिएका सुरक्षाकर्मी आफैं खतरामा पर्न थालेका छन्, यो अर्को पीडादायी पक्ष हो ।

सुरक्षाकर्मी कानुनको कार्यान्वयन, नागरिकको सुरक्षा, स्वास्थ्य र सम्पत्तिको सुनिश्चितता, अपराध र नागरिकको अराजकता रोक्न सरकारद्वारा अधिकारप्राप्त व्यक्ति हुन् । विडम्बना, नागरिकको सुरक्षाका लागि खट्ने व्यक्तिकै ज्यानको सुरक्षा छैन । ज्यानको बाजी थापेर सुरक्षाकर्मीहरु आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । तर, सरोकारवाला निकायको यसतर्फ ध्यान केन्द्रित हुन सकेको छैन । 

सुरक्षाकर्मी नागरिक पनि हुन् । उनीहरुले ज्यान गुमाउँदा सरकारले चित्त दुखाउँदैन, किन ?  शासन व्यवस्था चुस्तदुरुस्त र पद्धतियुक्त भएको मुलुकमा सानो कमजोरी हुँदा तत्काल सुधारिन्छ । सामान्य घटनामा समेत गहिरो छानबिन गरेर यथाशीघ्र आवश्यक कामकारबाही अघि बढाइन्छ । तर, यहाँ मान्छेको ज्यान जाँदासमेत सरकारले बेवास्ता गरेको पाइन्छ । ड्युटीमा खटिएका सुरक्षाकर्मीको ज्यान गएपछि अहिले सामाजिक सञ्जालमा सरकारमाथि प्रश्न उठाउनेको लर्को लागेको छ । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘काठमाडौंको कोटेश्वरमा गाडीको ठक्करबाट केही दिनअघि प्रहरी नायव निरीक्षक टोपबहादुर खत्रीको ज्यान गयो । योसँगै बाँके, चितवनलगायत विभिन्न जिल्लामा २०६६ सालयता ड्युटीमै गाडीले हानेर ज्यान नै गुमाउने ट्राफिक प्रहरी राष्ट्रसेवकको संख्या दर्जन पुगेको छ भने सय हाराहारीमा अंगभंग र घाइते भएका छन् । तर, सरकारलाई यति हुँदासम्म केही भएको देखिँदैन । ‘ट्राफिक लाइट बन्द गरेर उल्टै हात हल्लाएर ट्राफिक व्यवस्थापन गरिन्छ । यस्तो अवस्था ती राष्ट्रसेवकको रहर नभई बाध्यता हो । आखिर नेपाल एउटा ट्राफिक लाइट नै व्यवस्थापन गर्न अनि जोखिमपूर्ण स्थानमा ड्युटी गर्ने प्रहरीको सुरक्षाको प्रबन्ध गर्न नसक्ने मुलुक पक्कै होइन,’ सामाजिक सञ्जालमा एक जनाले लेखेका छन् ।

त्यस्तै, अर्काले भनेका छन्, ‘दुःखद् ! जनताको सुरक्षा गर्दागर्दै आफ्नै सुरक्षा भएनछ ।’ सामाजिक सञ्जालमा भेटिएको छ, ‘प्रहरी बस्ने अलि अग्लो र बलियो सिँढीजस्तो बनाउनुपर्छ, नत्र अरुको सुरक्षा गर्न बसेको व्यक्ति नै सकिने अवस्था आयो ।’ उक्त घटनालाई अव्यवस्थित शहरीकरण र ट्राफिक लाइटको अभावसँग पनि जोडिएको छ । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेकी छिन्, ‘अव्यवस्थित शहरीकरण, ट्राफिक लाइटको अभाव, भिडभाड, सानो सडक गाडीको चाप यसको कारणले हजारौं ट्राफिकले ज्यान गुमाउनुपर्नेछ । लाखौं जनताले ज्यान गुमाइसकेका छन् ।’

काठमाडौंका सडकमा ट्राफिक लाइट जडान गरिएको छ । तर, ती लाइट देखाउनका लागिजस्तो मात्रै भएको छ । सवारीको चापअनुसार सञ्चालन हुने ट्राफिक लाइट छैनन् । त्यसैले ट्राफिक प्रहरी आफैं खटिन बाध्य छन् । ज्यान जोखिममै राखेर ट्राफिक प्रहरी हात हल्लाएर सवारी वारपार गराइरहेका हुन्छन् । जडीबुटी, कोटेश्वर, बालकुमारी, ग्वार्को, सातदोबाटो, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वरलगायत चोकमा सबैभन्दा धेरै सवारी चाप हुन्छ । चारैतिरबाट सवारी ओहोरदोहोर गर्ने भएकाले ट्राफिकलाई व्यवस्थापन गर्न महाभारत छ । सडकको बीचमा उभिएर दैनिक हजारौं सवारी साधन वारपार गराउनेकै ज्यान सुरक्षित नहुनु लज्जास्पद छ ।  

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वर घटनामा छानबिन भइरहेको बताए । एउटा सुरक्षाकर्मी गुमाउनु राज्यका लागि ठूलो क्षति भएको उल्लेख गर्दै उनले ट्राफिक व्यवस्थापनका निम्ति आवश्यक सामानका लागि विभिन्न निकायसँग समन्वय गरिरहेको जानकारी दिए । 

ट्राफिकलाई प्रशिक्षण दिने बेलैमा ‘पहिले आफ्नो सुरक्षा अनि अरुको’ भनि सिकाउने गरिएको उनको भनाई छ । ‘ट्राफिक व्यवस्थापन राम्रो होस् भन्ने हाम्रो पनि चाहना हो । तर, प्रविधि नभएपछि के गर्ने ? ट्राफिक लाइटहरु एकअर्कासँग मेल नखाँदा ट्राफिक प्रहरी हात हल्लाएर आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । हामीले प्रशिक्षण दिने बेलामा पहिले आफ्नो ज्यानको अनि मात्र अरुको भनेर सिकाएका हुन्छौं । आफ्नो ड्युटी त निर्वाह गर्नैपर्योे’, उनले भने । विभिन्न चोकमा फरक संघ संस्थाले ट्राफिक लाइट जडान गरेकाले ती लाइटको एकअर्कासँग ‘टाइमिङ’ नमिल्ने प्रवक्ता श्रेष्ठले स्पष्ट पारे । 

सडक दुर्घटनामा ज्यान गुमाउने सर्वसाधारण पनि उत्तिकै 

सडक दुर्घटना भोग्नु नेपालीको नियति बनिसकेको छ । सडक दुर्घटनामा परेर दिनहुँ दर्जनौं नागरिकले ज्यान गुमाइराखेका छन् । सवारी दुर्घटनाले भयावह रुप लिँदै गएको छ । यसमा ज्यान जानेको संख्यामा ब्रेक लाग्न सकिरहेको छैन । यद्यपि, सरकार यस विषयमा संवेदनशील भएको देखिँदैन । 

हिजो उदयपुरमा भएको जीप दुर्घटनामा आधा दर्जन बढीले अकालमा ज्यान गुमाए । धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको को.१ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका नगरपालिका–७, बाखाकुवामा दुर्घटनामा परेको हो । १४ जना सवार रहेको जीप सडकबाट झण्डै तीन सय मीटर तल खसेको थियो । 

जीप दुर्घटनामा चालक मानबहादुर बस्नेतको पनि निधन भएको छ । उक्त दुर्घटना क्षमताभन्दा बढी यात्रुको कारण भएको प्रहरीको भनाइ छ । त्यस्तै, गत फागुन २९ गते दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा पर्यो । तुलसीपुरबाट काठमाडौंका लागि छुटेको प्र–३०१–००६ ख ०९७४ नम्बरको बस गढवा गाउँपालिका–१ स्थित कालाकाटेमा दुर्घटनामा परेको हो । 

सो दुर्घटनामा तीन जना घाइते भएका थिए । बस प्राविधिक कारणले अनियन्त्रित भएर ठोक्किएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । फागुन ३ गते पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बस खस्यो । काठमाडौं आउँदै गरेको बस दुर्घटनामा पर्दा झण्डै एक दर्जनले ज्यान गुमाए । 

काठमाडौं उपत्यकामा मात्र नभई मुलुकभर सवारी दुर्घटना बढिरहेको छ । सवारी दुर्घटना बढ्नुपछाडि धेरै कारण छन् । जसमा सडकको दुरावस्था मुख्य कारण हो । पछिल्लो समय सडक ‘कालमार्ग’ बन्दै गएको छ । सवारीको चाप बढ्दो छ भने सडक साँघुरो । भएको सडकको अवस्था पनि दयनीय छ ।

खाल्डाखुल्डीका कारण सडक ‘दुर्घटनास्थल’ बनेको छ । समयमै खाल्डाखुल्डी पुर्न सरकारले चासो देखाएको छैन् । चालकको लापरवाहीले गर्दा यात्रुले अकालमा ज्यान गुमाइरहेका छन् । गाडी–गाडीबीच दौड चल्ने गरेको छ । ‘ओभरटेक’ गर्ने होडमा चालकले यात्रुको सुरक्षालाई समेत ख्याल गर्दैनन् । एकछिनको जोशले गर्दा ठूलै क्षति हुन पुग्छ । चालकले ट्राफिक नियमको परिपालनामा उदासीनता देखाउँदै आएका छन् । 

ट्राफिक प्रहरी देख्दा मात्र नियम पालना गरेजस्तो गर्ने प्रवृत्ति मौलाएको छ । सडक लेन पालनाप्रति चालकले उपेक्षा गर्दै आएका छन् । सार्वजनिक यातायातमा सिटभन्दा बढी यात्रु खाँद्ने प्रवृत्ति छ । ढोकैसम्म यात्रु झुण्डाएर तीव्र गतिमा सवारी दौडाइन्छ । जसले गर्दा दुर्घटना निम्तिएको छ । आफू थोरै चुक्दा ठूलो मानवीय क्षति हुन्छ भन्ने कुरा चालकले बिर्सिएका छन् ।

कतिपय चालकलाई राति सेवन गरेको मदिराले बिहानसम्म छाडेको हुँदैन । नशाकै सुरमा गाडी हाँक्दा सवारी दुर्घटना बढेको मान्न सकिन्छ । सडक दुर्घटना हुनुको पछाडि यान्त्रिक कारण पनि देखिन्छ । ‘कण्डिसन’ ठीक नभएको गाडीले दुर्घटना निम्त्याइरहेको छ । नेपाल प्रहरीका अनुसार सवारी दुर्घटना वर्षेनि बढिरहेको छ । आर्थिक वर्ष २०७५–०७६ मा १३ हजार ३६६ सवारी दुर्घटनामा दुई हजार ७८९ जनाले ज्यान गुमाएका थिए । 

२०७६–७७ मा भएको १५ हजार ५५४ सवारी दुर्घटनामा दुई हजार २५१ जनाको मृत्यु भयो । २०७७–०७८ मा २० हजार ६४० सवारी दुर्घटना भएको छ । दुर्घटनामा दुई हजार ५०० को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । २०७८–०७९ मा भएका २४ हजार ५३७ सवारी दुर्घटनामा दुई हजार ८८३ जनाले ज्यान गुमाएका थिए । 

२०७९–८० मा २३ हजार ५९७ सवारी दुर्घटना हुँदा ज्यान गुमाउने दुई हजार ३६८ रहेका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म १४ हजार ५३७ दुर्घटना भएको छ । जसमा ज्यान गुमाउनेको संख्या एक हजार १०३ पुगेको छ ।

टिप्पणीहरू