मान्छे न हो, पग्लिहाल्छ नि मन
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु¬
म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
दिलको झङ्कार बेचिदिन्छु ।
छाती भरी छ मेरो, मैलाई पोल्ने राप
मन्दिरमा छम्छमाई, मन्दिरमा छम्छमाई
म पोखिदिन्छु पाप
म साँझ बेचिदिन्छु, बिहान बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो चोखो भगवान बेचिदिन्छु ।
ए सुख खोज्ने मान्छे, आओ नजिक आओ
बिर्सन्छु म मलाई, बिर्सन्छु म मलाई
बर्बाद पारी जाओ
म आँशु बेचिदिन्छु, रगत बेचिदिन्छु
को किन्छ मेरो, किन्छ मेरो
को किन्छ मेरो, प्यारो संसार बेचिदिन्छु ।।
चलचित्र माइतीघरको यो गीत हिन्दी चलचित्र जगत्की प्रसिद्ध गायिका आशा भोंसलेले गाएकी हुन् । निजी क्षेत्रबाट निर्मित पहिलो व्यावसायिक नेपाली चलचित्र माइतीघर ०२३ सालमा रिलिज भएको र नेपालमा बनेको तेस्रो नेपाली चलचित्र हो । यसका निर्देशक बिएस थापा हुन् भने भारतीय संगीतकार जयदेवले संगीत दिएका थिए ।
चलचित्रमा भारतीय गायक/गायिका मन्नाडे, गीतादत्त, र तीन दिदीबहिनी लता मंगेशकर, आशा भोंसले, उषा मंगेशकरलगायत नेपाली गायक प्रेमध्वज प्रधान, अरुणा लामा, सिपी लोहनीले गाएका गीत छन् । चलचित्रको टाइटल गीत ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, माइतीघर, माइतीघर पनि आशा भोसलेले नै गाएकी हुन् । उनले माइतीघरलगायत चिनो, प्रेम पिण्ड, लाहुरे, बाँसुरी आदि गरी २ दर्जनभन्दा बढी नेपाली गीत गाएकी छन् र ती सबै गीत लोकप्रिय बनेका छन् ।
पहिलो बिहे असफल भएपछि आशाले संगीतकार ओपी नैयरसित प्रेम गर्न पुगिन् । नैयरले उनलाई चर्चाको शिखरमा पुर्याइदिए । तर, चलचित्रको गायन क्षेत्रमा आफूलाई सफल गायिका र ‘बी’ ग्रेडका गायिका (धेरैजसो सहायक अभिनेत्री, खलपात्र र नर्तकीका लागि मात्र पाश्र्व गायन गर्दै आएकी) बाट ‘ए’ ग्रेड गायिका बनाइदिने उनै नैयरलाई उनले नराम्रोसँग धोका दिइन् र अर्का संगीतकार राहुल देव (आर डी) वर्मनसित प्रेम गर्न पुगिन् । १४ वर्ष लामो प्रेमजीवनबाट धोका पाएपछि नैयर न घरको न घाटको बन्न पुगे । व्यावसायिक र निजी जीवन बर्बाद भयो । अन्तिम समय दरिद्र र निकै पीडादायी बन्यो । मृत्युको समय साथमा न प्रेमिका न पत्नी र छोराछोरी (विस्तृत कथा गतांकमा प्रकाशित भइसकेको छ) । गडफादरजस्तो प्रेमिल व्यक्तिलाई चटक्कै छाडी ६ वर्ष कान्छो केटोको प्रेमिका बन्न पुगेकी आशाको नयाँ प्रेमी राहुल को हुन् त ?
राहुल प्रसिद्ध संगीतकार सचिनदेव (एसडी) बर्मनका एक्ला छोरा हुन्, जो पछि निकै लोकप्रिय संगीतकार बने । कोलकातामा जन्मेका र संगीत क्षेत्रमा ‘पञ्चम दा’ को नामले प्रसिद्धि कमाएका राहुल सानो बेला निकै रुन्थे । एकदिन हिन्दी चलचित्र जगतमा सबैले आदर गर्ने अभिनेता अशोककुमार सचिनदेवको घर पुगेका बेला पनि रुँदै थिए । उनको रुवाइमा अशोककुमारले शास्त्रीय संगीतको पाँचौँ सरगम ‘प’ को सुर भेट्टाए र नाउँ राखिदिए पञ्चम । त्यसो त आमा मीरा दासगुप्ता छोरोलाई ‘टोब्ल’ भनेर बोलाउने गर्थिन् । संगीतकार बाबुको पुत्र भएकै कारण सानैमा उनको झुकाव संगीततर्फ बढ्यो । पढाइमा मन जाँदैनथ्यो । ९ वर्षको हुँदा परीक्षामा अनुत्तीर्ण बने । बाबु सचिनले ‘तिम्रो ध्यान किन पढाइमा जाँदैन, आखिर तिमी के बन्न चाहन्छौ ?’ भनेर सोधे । ‘म तपाईंभन्दा पनि ठूलो संगीतकार बन्न चाहन्छु’ उनको जवाफ थियो । छोरोको जवाफ सुनेर सचिनले फेरि सोधे, ‘संगीतकार बन्न त धुन बनाउनुपर्छ, तिमीले आजसम्म एउटा धुन बनाएका छौ ?’
राहुलले जवाफमा एउटा दुइटा हैन ९ वटा नयाँ धून सुनाइदिए । ९ वर्षको बच्चाले ९ धुन सुनाएपछि सचिन दंग परे । उनी मुम्बै फर्केको केही समयपछि चलचित्र फन्टुस रिलिज भयो । १७ वर्षीय राहुल जब कोलकात्तामा यो फिल्म हेर्न सिनेमा घर पुगे, एउटा गीत सुनेर अचम्भित बने किनभने यो धुन उनैले बनाएका थिए । सचिनले छोराले सुनाएको एउटा धुनमा ‘आइ मेरी टोपी पलट्के आ’ गीतमा सोही धुन हालेका थिए । राहुललाई बाबुदेखि रिस उठ्यो । उनले आफ्नो धुन किन चोरेको भनेर प्रश्न पनि गरे । सचिनले तिम्रो धुन दर्शकले मन पराउँछन् कि पराउँदैनन् हेरेको भनी जवाफ दिए । सन् १९५७ मा प्रदर्शित गुरुदत्तको फिल्म ‘प्यासा’ को गीत ‘सर जो चकराए या दिल घबराए’ को धून पनि राहुलकै थियो जुन सचिनले चोरेर फिल्ममा राखेका थिए ।
राहुलले पछि शास्त्रीय संगीत सिके । बाबु सचिनको सहायक बनेर थुप्रै सफल फिल्ममा सहायक संगीतकारको रुपमा काम गरे । र, सन् १९५८ मै गुरुदत्तले आफ्नो फिल्म ‘राज’मा स्वतन्त्र संगीतकारको रुपमा उनलाई लिए । त्यसबेला उनी मात्र १९ वर्षका थिए । तर, यो फिल्म नै बनेन । यसपछि सन् १९६१ मा बनेको फिल्म ‘छोटे नवाब’ बाट स्वतन्त्र रुपमा संगीत निर्देशन गर्न थाले । हास्यकलाकार महमुदको फिल्म ‘भूत बंगला’ मा अभिनय पनि गरे । यसबीच सन् १९६६ मा निर्मित र उनीद्वारा संगीतबद्ध ‘तीसरी मञ्जिल’ सफल चलचित्र साबित भयो । यसका सबै गीत हिट भए । यो उनीद्वारा संगीतबद्ध पाँचाैँ फिल्म थियो । सन् १९६८ मा निर्मित फिल्म ‘पडोसन’ पछि सफल संगीतकारको रुपमा स्थापित भए । यो आठौं फिल्म थियो । ‘तीसरी मञ्जिल’कै दौरान आशा भोंसलेसँग भेट भयो । फिल्ममा आशाको मोहम्मद रफीसँग ४ वटा युगल गीत थिए र चारै गीतले धमाका मच्चाएको थियो । त्यसो त आशा र राहुलको यो नै पहिलो भेट भने होइन । सन् १९५६ मा पहिलो भेट हुँदा राहुल मात्र १७ वर्षका थिए । कक्षा १० मा पढ्दै थिए । दुब्लो, रगत नपुगेजस्तो छाला र बाक्लो चश्मा । उनी आशाबाट प्रभावित थिए । आशाद्वारा गाइएको मराठी गीत उनलाई मन परेको थियो । उनले तारिफ गर्दै आशाको अटोग्राफ पनि लिए ।
आशा र राहुलको मेलजोल ‘तीसरी मञ्जिल’ पछि गाढा भयो । त्यसबेलासम्म राहुल विवाहित बनिसकेका थिए । उनले आफ्नै प्रशंसक रिता पटेलसँग बिहे गरेका थिए भने आशाको गनपतराव भोंसलेसितको वैवाहिक जीवन टुटिसकेको थियो र संगीतकार ओपी नैयरसँग प्रेम गर्दै थिइन् । तर, राहुल रितासित खुशी थिएनन् । पत्नीसित कलह भएपछि होटलमा रात बिताउन जान्थे । राहुल शुरुदेखि नै आशाप्रति आकर्षित थिए । उनले एकपछि अर्को गीत आशालाई गाउन लगाए । राहुलको संगीत र आशाको मनमोहक स्वर युवा दर्शकमाझ लोकप्रिय बन्न थाल्यो । दर्शकले संगीतको बेग्लै स्वाद महसुस गरे । एक जनाको संगीत र अर्कोको गायनले एकपछि अर्को हिट गीत सिर्जना भयो । दुवै संगीतमा रम्न थाले ।
यसरी संगीतले नै दुबैलाई नजिक ल्यायो । एक समय आशाले राहुलकै संगीतमा मात्रै गीत गाइन् । रेकर्डिङको समय चल्ने ठट्यौलीले दुवै जना नजिक पुगे । बिना शब्द एकार्कालाई प्रेम गर्न थाले । यसपछि नै हो, आशा ओपी नैयरदेखि टाढा हुन थालेको । अब राहुल आशालाई धर्मपत्नी बनाउन उद्यत भए । यसैका लागि उनले सन् १९७१ मा रितासित सम्बन्धविच्छेद गरे र बिहेको प्रस्ताव राखे तर आशाले ठाडै अस्वीकार गरिदिइन् । तर, राहुल निरास भएनन्, एकदिन मनाएरै छाडे । फेरि उनको र आशाको प्रेममा आमा मीरा पर्खाल बनेर उभिइन् । बिहे गरेर पनि लोग्नेसित सम्बन्ध तोडिसकेकी ३ सन्तानकी आमा, ओपी नैयरसित हाकाहाकी रोमान्स गरी हिँडेकी र छोराभन्दा ६ वर्षले जेठीलाई कदापि बुहारी बनाउन तयार भइनन् । जबर्जस्ती बिहे गरेमा आफ्नो लाश हेर्नु पर्नेसम्मको धम्की दिइन् ।
राहुल आमाको इच्छाविरुद्ध जान सक्दैनथे । यसबीच सन् १९७५ मा सचिनदेव बर्मनको निधन भयो । लोग्नेको मृत्युको शोकमा मीरा मानसिक रोगबाट ग्रस्त बनिन् । सबै कुरा बिर्सन थालिन् । केही समयपछि आफ्नै छोरोलाई पनि चिन्न छाडिन् । आमाको स्वास्थ्य नाजुक बन्दै गएपछि राहुलले बिहे गर्ने सोच बनाए । र, सन् १९८० मा बिहे गरे । बिहेको समय आशा ४७ वर्ष पुगिसकेकी थिइन् । तर वैवाहिक जीवन पनि सुखद रहेन । आशा अलग घरमा बस्न थालिन् । यद्यपि, सन् १९९४ मा ५४ वर्षको उमेरमा राहुलको निधन हुँदा उनी नै साथमा थिइन् । उनैले राहुललाई अस्पताल पुर्याइन् । राहुलले करिब ३ सय फिल्ममा संगीत दिएका छन् । राहुल हिन्दी सिनेजगतमा आशा भोंसले र किशोरकुमारलाई गायनको शिखरमा पुर्याउने व्यक्तिको रुपमा पनि चिनिन्छन् ।
आशाले १६ वर्षको उमेरमा ३१ वर्षका गणपत रावसँग, ४७ वर्षको उमेरमा ४१ वर्षका राहुलदेवसँग बिहे गरिन् भने २५ वर्षको उमेरमा ३२ वर्षका ओपी नैयरलाई प्रेम गरिन् । आशाका तीनै छोराछोरी गनपतिरावतर्फका हुन् । उनका जेठो छोरो पाइलट तथा संगीतकार हेमन्तको क्यान्सरबाट सन् २०१५ मा निधन भइसकेको छ भने पत्रकार छोरी वर्षाले सन् २०१२ मा आत्महत्या गरिन् । कान्छो छोरो आनन्द चलचित्र निर्देशक हुन् । आशा यतिखेर उनीसँगै बस्छिन् ।
टिप्पणीहरू