गर्न सकिने कुरा नगर्ने, गफ मात्रै हाँक्ने ?
देशमा मजदुर, किसान, दलित र पिछडावर्गको एउटा अत्यन्तै ठूलो हिस्सा छ, जो अत्यन्तै गरिब छ । दैनिक ज्याला हातमा परेन भने यिनको घरमा बेलुकाको चुल्हो बल्दैन । देशमा यो वर्गको संख्या ठ्याक्कै कति छ भनेर राज्यले आँकडा निकालेको छैन । आँकडा निकाले त सबैलाई थाहा हुन्छ र तिनको निम्ति काम गर्नुपर्ने हुन्छ । नो न्युज इज गुड न्युज भनेजस्तो थाहै नपाएपछि केही गर्नै परेन । यो समाजको सबैभन्दा कमजोर वर्ग हो । जदो सबैभन्दा अपहेलित छ र सबै प्रकारका हकअधिकारबाट वञ्चित छ । यही वर्ग नै सर्वहारावर्ग हो । राज्यले समाजवाद ल्याउने यिनैको निम्ति हो ।
देशमा अर्को वर्ग छ । साना तथा मझौला किसिमका व्यापार, व्यवसाय र उद्योग चलाएर, सरकारी तथा गैरसरकारी क्षेत्रमा, सेना, पुलिस आदिमा नोकरी गरेर जीविका चलाउँछ यो वर्ग । यिनीहरूको पनि संख्या ठूलै छ । यो वर्गलाई सामान्य गुजारा गर्न उतिसाह्रो कठिन छैन । हाम्रो देशको निम्ति यो मध्यम वर्गमा गनिन्छ । यहाँ अझै अर्को वर्ग छ जसलाई हामी पुँजीपति वर्ग भनेर जान्दछौं । यो वर्गमा ठूला ब्यापारी, ठूला उद्योगपति, उच्च राजनीतिक नेतृत्व, उच्चपदस्थ सरकारी कर्मचारी (सेना, पुलिस, न्यायाधीश लगायत)हरू पर्छन् । यो वर्गलाई हामीले कुलिनवर्ग भनेर पनि जान्दछौं । संख्यामा यो वर्ग असाध्यै सानो छ तर यो देश यही सानो वर्गले चलाइरहेको छ । देशको स्रोत, साधन र सम्पत्तिको सबैभन्दा धेरै हिस्सा यही वर्गसँग छ । यो वर्गको निम्ति देशमा उन्नत किसिमको समाजवाद छ । के गर्ने टाउको फुटाएर समाजवाद नआउने रहेछ गरिबलाई !
अहिले जनताका लागि राज्यले के गरिरहेको छ ? राजनीतिक दलको मेनिफेस्टोदेखि संविधानमा समेत देशलाई समाजवादी बाटोमा लैजाने भनेर लेखिएको छ । समाजवादको आधार बनाउने भनिएको छ । तर, समाजवाद कस्तो हुन्छ ? कसरी आउँछ र कहिलेसम्ममा आउँछ अथवा यसको आधारशिला कसरी तयार हुन्छ भनेर लेखिएको भने कतै छैन । यो नेताहरूको ‘गफ भरोसे’मा छोडिएको छ अर्थात् समाजवादको प्रारूपलाई अमूर्त छोडिएको छ । जसले जसरी व्याख्या गरे पनि हुने । यहाँ भनिएको समाजवाद र दृष्टिविहीनले छोएर हात्तीको बयान गर्नु उस्तै–उस्तै देखिन्छ । प्रचण्डको समाजवादको आधार, ओलीको समाजवादको आधार, घनश्यामको समाजवादको आधार वा विप्लव, वैद्यहरूको समाजवादको आधार अलगअलग किसिमले बन्छन् । यहाँहरूको अवधारणा एकअर्काको समाजवादसँग कहिँकतै पनि मेल खाँदैन । सबैसँग हामीले सोध्नुपर्छ तपाईंहरूको समाजवादको बीचमा अन्तर के हो ? तपाईंहरूमध्ये कसको समाजवाद सही हो ? कसले भनेको समाजवादको आधार निर्माण गर्छ राज्यले ? देशमा समाजवाद सबैको निम्ति एकैपटक आउँछ कि यो अलग–अलग ठाउँमा अलगअलग तरिकाले आउँछ ? चित्रबहादुर केसीले भनेको जस्तो काठमाडौंमा कम्मरसम्म र कर्णालीमा कुर्कुच्चासम्म प्रजातन्त्र आएको छ भनेजस्तो हो कि यो सबैको निम्ति एकमुष्ट आउने हो ? अर्थात् यो सापेक्ष भएर आउँछ कि निरपेक्ष तरिकाले स्वाट्टै आउँछ भूकम्प आए जसरी ? अथवा के कसरी हो त यो आउने कुरा ? यो प्रश्न हामीले नेतृत्वलाई सोध्नुपर्ने भएको छ । किनभने यहाँ तीन प्रकारका मान्छे बसोबास गरिरहेका छन् । यी तीनैथरिका मान्छेले व्यहोर्न परिरहेका समस्याहरू, ती सबैका आवश्यकता र प्राथमिकता फरक–फरक छन् ।
स्वागतमा लर्को लाग्या’छ, बिदाइमा लर्को लाग्या’छ, संबोधनमा अनकौं फुर्का जोड्या’छ, आफू चढेको गाडीको ढोका खोलेर ओर्लिन पनि लाज मान्छन् र पिएसओलाई कुर्छन् ।
गरिब, मजदुरलाई कामको सुनिश्चितता चाहिन्छ । आफूले काम गरेबापतको ज्याला बिनाशोषण र ठीक समयमा हातमा आउनुपर्छ । एउटा मजदुरको घरमा दिनदिनै चुलो बल्ने र उसले कमाएर ल्याएको ज्यालामा आश्रित सबै परिवारले भरपेट खान सक्ने अवस्था हुनुपर्छ । तर, यस्तो समस्या मध्यम वर्ग र कुलिन वर्ग भनेर चिनिनेहरूलाई पर्दैन । यस्तो व्यवस्था गरिनु भनेको गरिबको वा सर्वहारा वर्गको निम्ति समाजवादतर्फको यात्राको शुरुवात हो । तर, यही व्यवस्था पुँजीपतिहरूको निम्ति केही पनि होइन । देशका गरिब किसानले सजिलो तरिकाले, कुनै झन्झट नव्यहोरिकन राम्रोसँग खेतीपाती गर्न सक्छन् र उनीहरूले उब्जाएको अन्नबालीलाई बजारमा उचित मूल्यमा बेच्न सक्ने वातावरण यदि देशमा छ भने त्यो पनि किसानको निम्ति समाजवादतर्फको यात्रा नै हो । दलित समुदायमाथिको उत्पीडन हट्छ समाजबाट भने, पिछडा वर्गले मूलधारमा समाहित हुने वातावरण पाउँछ भने त्यो पनि समाजवाद यात्रा एक पाइला हो । हामीले समाजवाद कहाँ खोजिरहेका छौं र कसका लागि खोजिरहेका छौं ? यो प्रश्नको जवाफ नखोजी बुलेट रेल, नदीमा पानीजहाज चलाउने, भ्यु टावर बनाउने, सडक रंग्याउने, मान्छे आएनन् भनेर रित्ता कुर्सीमाथि झोंक फेरी समाजवादको आधार बनाउन सकिन्न ।
कुलीन वर्गको निम्ति शिक्षा, स्वास्थ्य भन्ने कुरा कुनै सवालै होइन । रोजगारी पनि कुनै सवाल होइन । तिनीहरूको निम्ति जस्तोसुकै विद्यालय, कलेज र युनिभर्सिटीमा अध्ययन गर्ने वातावरण छ । उपचार पनि शिक्षाको कुराजस्तै हो तिनीहरूको निम्ति, कामको कुरा पनि उस्तै हो । समस्या त मजदुर, किसान वर्गलाई छ । विचार गरिहेरौं त यदि मजदुर र गरिबका छोराछोरीले देशमा गुणस्तरीय शिक्षा पाउन सके भने के होला ? यदि, यिनीहरूले पनि मध्यम तथा कुलीन वर्गका छोराछोरीहरूले जस्तै शिक्षा पाए भने व्यापार बिजनेशमा लाग्न सक्ने हुनेछन्, सरकारी अथवा प्राइभेट क्षेत्रमा नोकरी गर्न सक्ने हुनेछन् र आफ्नो पेटको निम्ति मात्रै काम गर्ने छैनन् । तिनीहरूले आफ्नो घरपरिवार र साथसाथै देशकै निम्ति पनि काम गर्नेछन् । के गरिबका छोराछोरीको निम्ति गुणस्तरीय शिक्षा हुनु समाजवादतर्फको यात्रा होइन ? एक पाइला होइन ? मेरो बुझाइमा हो । यस्तो हुनुभनेको त्यो वर्गका मानिसको निम्ति समाजवाद नै हो । समाजवाद भनेको श्रम गरेर आत्मसम्मानपूर्वक बाँच्न सकिने अवस्था हुनु हो । कुनै पिर चिन्ताबिना बाँच्न पाउने सामाजिक,, आर्थिक र राजनीतिक अवस्था हुनु हो । हामीलाई चाहिएको समाजवाद यस्तै भुइँतहका मान्छेको निम्ति हो । कुलीन वर्गकालाई त यत्तिकै समाजवाद छ देशमा । त्यसकारण यदि समाजवाद हाम्रोनिम्ति भनेको हो भने, समाजवाद हाम्रोनिम्ति ल्याउने हो भनेर मानेको हो भने शिक्षा राम्रो बनाउनुपर्छ, स्वास्थ्य उपचार प्रणाली राम्रो र एफोर्डेबल बनाउनुपर्छ ।
एउटा शिक्षित र सचेत नागरिकले रोजगारी खोज्छ मात्रै होइन, उसले रोजगारी सिर्जना पनि गर्छ । आय आर्जन गर्छ मात्रै होइन रोजगारी दिएर अरूलाई समेत आयआर्जन गर्न सहयोग गर्छ । आफ्नो जीवन मात्रै होइन अरूको जीवन पनि सजिलोसँग बाँच्न सकिने बनाउन सक्छ, परिवर्तन गरिदिन सक्छ । खोइ त समाजवादको अर्थ बुझेको ? मलाई ताज्जुव लाग्छ, जहाँ जेको आवश्यकता छ र जुनकुरा अहिले नै गर्न सकिन्छ त्यो गर्दै नगर्ने तर यो गर्नुपर्छ र ऊ गर्नुपर्छ भनेर भन्दै ठूला कुरा गर्दै हिँड्ने काम जो भइरा’छ यसले समाजवाद ल्याउने होइन कि समाजवादलाई हामीबाट टाढा लैजाने काम गर्छ ।
समाजवादमा आचरण र चरित्रको पनि कुरा हुन्छ । वामपन्थीहरूको आचरण पनि कस्तो भयो भने के यो आचरण समाजवादी आचरण यस्तो हो भनेर पनि बयान माग्नुपर्छ । सबै समान हौं त भन्ने तर व्यवहार भने अरूभन्दा हामी विशेष समान हौं है भन्ने किसिमको गर्ने । अर्को अशोभनीय कुरा के छ भने असाध्यै मानसम्मान र चाकडी खोज्ने । यो त सामान्य लोकतान्त्रिक चरित्र पनि होइन, समाजवादी चरित्र त धेरै परको कुरा भयो । बरु यो त सामन्ती चरित्र भयो । एक÷दुई वटा उदाहरण पेश गर्छु । समाजवादको आधारशिला बनाउँछु भन्ने नेतृत्वलाई जनताले राजा नै पो हो कि भनेजस्तो गरेर मान्नुपर्ने अवस्था छ । फूलमाला, खादा, अबिर टीका र जुलुस गर्नुपर्छ स्वागतमा, राजाको सवारी चलाएजस्तो । उनीहरूको निगाहमा परिरहनुपर्ने बाध्यता छ । उनीहरूको निगाहमा नपरे त राजनीतिको जहाजै डुब्न सक्छ भन्ने ठूलो डरले गर्दा चाकडी गर्न बाध्य छन् धेरैजसो । चाकडीको निम्ति प्रतिस्पर्धा छ, को बढी भक्त हो भनेर देखाउन प्रतिस्पर्धा छ । यस्तो भएपछि चाकडी नगरी पनि हुन्न ।
स्वागतमा मान्छेहरूको लर्को लाग्या’छ, बिदाइमा लर्को लाग्या’छ, संबोधनमा अनकौं फुर्का जोड्या’छ, तारिफ र प्रशंसा गरेको छ मानौं कुनै महाराजाको तारिफ गरिरहेका छौं । भन्नलाई कमरेड भन्ने र समान हौं है पनि भन्ने तर काम भने यस्तो गर्ने । सुनेर लाजै लाग्छ । आलोचना त गर्नै हुन्न, उसको राजनीति सकिन्छ । यहाँको वामपन्थ सुटबुटवालामा रूपान्तरण भएको छ । दैनिक फरक–फरक सुट, महँगा ट्वीटका कोट, महँगा मफलर, जुत्ता देखिन्छन् पहिरनमा । गाडी नभई पाइला चल्दैन । मलाई त ताज्जुव लाग्छ आफू चढेको गाडीको ढोका खोलेर ओर्लिन पनि लाज मान्छन् र पिएसओलाई कुर्छन् ढोका खोल्न । कसको सिकेको होला त भन्दा राजाको सिकेका त होलान् । यस्तो छ अवस्था ।
यहाँको वामपन्थ नातावादमा पनि पोख्त छ । अरू बेला सामान्य अवस्थामा, चुनावमा प्रचार गर्न जनता, कार्यकर्ता चाहिन्छन् । यिनैले हो सबैखाले सहयोग गर्ने र चुनावमा जिताउने । तर जब मन्त्री वा अरू पद हासिल हुन्छ त्यसपछि अब कार्यकर्ता होइन कि छोरा, भाइ, भतिजालगायत नातागोता निजी सचिवालयमा, सरकारी कार्यालयमा राखिन्छन् । समाजवादमा लैजान हिँडेको मान्छेले त योग्यतम् मान्छे राख्ने होला नि सहयोगी ? तर यस्तो छैन, भाइ भतिजावाद छ । नेतृत्वको परिवारका सबै सदस्य यो वा त्यो तरिकाले जागिरमा रहने तर समाजवाद ल्याउने यात्रामा सँगै हिँडेका मान्छेहरू भने जागिरविहीन रहने यो कुरा बिकृतिकै तहमा छ । एक घर, एक रोजगार गरे त अरूको घरमा पनि चुलो बल्ने थियो । तर, यस्तो गरिँदैन किनभने अरूलाई राखे त गोप्यता भंग हुन्छ । उद्देश्य देशमा समाजवाद ल्याउने र गरिबी, बेरोजगारी, अशिक्षा हटाउने होइन कि आफ्नै लागि समाजवाद ल्याउने भएपछि यस्तो गर्न मिल्दैन । कुन दलालसँग, कुन बिचौलियासँग कतिबेला, कुन स्थानमा वार्ता, भेट गर्नुपर्ने हुन्छ, कस्ता ब्यापारीसँग गोप्य गर्नुपर्ने हुन्छ, अरूलाई राखे त यो सम्भव हुँदैन । आर्थिक न्याय, सामाजिक न्याय र राजनीतिक न्याय नभएको प्रणाली पनि कहीँ समाजवादी हुन सक्छ त भन्दा सक्दैन । अन्त्यमा,
समाजवाद एकै पटकमा ल्याउने हो भन्नु अथवा वा लागु गर्ने हो भन्नु भनेको त्यो नल्याउने भनेको हो । यो सोचाइलाई बदलेर जहाँ जे जे गर्न वा बनाउन जरुरी छ त्यहाँ त्यही त्यही गर्दै, बनाउँदै जाने हो । यस्तो गरेर मात्र समाजवादतर्फको यात्रा शुरु हुन्छ, समाजवादको जग खनिन्छ र बलियो ढुंगा राखिन्छ । गर्न सकिने काम गर्दै जाने र त्यसको रक्षा पनि गर्दै जाने हो । समाजवादको आधारशिला बनाउने भनेको काम थाल्ने भनेको हो । विभिन्न बहानावाजी गरिरहने हो र ? यसको जवाफ भने हामीसँग छैन है ।
टिप्पणीहरू