अयोध्यालाई भारतले हिन्दु ‘भ्याटिकन’ बनाउँदा जनकपुरमा किन विलम्ब ?

अयोध्यालाई भारतले हिन्दु ‘भ्याटिकन’ बनाउँदा जनकपुरमा किन विलम्ब ?
सुन्नुहोस्

विकासानन्दले बारम्बार भन्ने कुरा हो– समस्याको समाधान होइन, सदुपयोग गर्नुपर्छ । राम ठोरीमा जन्मेकोमा भारतले अयोध्यामा जन्मेको भन्यो भनेर अयोध्याको ब्राण्डिङमा समस्या देख्ने जमात नेपालमा छ ।

भारतीय सत्ता नै लागेर एक मन्दिरको प्रवद्र्धनमा लाग्यो भन्दै चिन्ता मान्ने नेपाली जमात पनि ठीकठिकैको छ । यी दुई पक्षलाई भारत उत्तर प्रदेशको त्रेता युगका हिन्दु भगवान रामको धाम अयोध्याको जनवरी २२ मा भएको भव्य रामललाको प्राणप्रतिष्ठा समस्या लागेको छ । भलै बहुसंख्यक नेपालीले आफ्ना घरदेखि मन्दिरसम्म प्राणप्रतिष्ठाप्रति भावनात्मक साथ देखाएका किन नहुन् । भलै नेपालका धेरै पालिकाले बिदा दिएका किन नहुन् । भलै नेपालका सडकमा राम मन्दिरको प्राणप्रतिष्ठानमा यात्रा निकालेका किन नहुन् । 

पर्यटन क्षेत्रको एक जिज्ञाशु र लाइसेन्सप्राप्त ट्रेकिङ गाइड भएकाले मैलेचाहिँ अयोध्याको भव्य ब्राण्डिङप्रति सकारात्मक छु । जनवरी २२ का दिन अयोध्याको प्राणप्रतिष्ठा कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्रीले जानकीको कुरा गरे । रामसँग जोडिने नाम जानकी हुन् । जानकी नेपालकी एक काल्पनिक बिम्ब मात्रै होइनन् । यति राज्यले राष्ट्रिय विभूति किटान गरेकी एक पात्र हुन् । मिथिलाधामकी जानकीको विवाह अयोध्याधामका रामसँग भएका विभिन्न कथा छन् । धार्मिक तथा सांस्कृतिक कथाले पछिल्लो समय राजनीतिक र कूटनीतिक रूप लिएको छ । राजनीतिक यस अर्थमा कि भारतको सत्ताधारी दल बिजेपीले बाबरी मस्जिद बनाएर पुरानो राम मन्दिर भत्काएको भन्दै लामो समय अभियान चलायो ।

अभियानले मस्जिद भत्काउनेदेखि अदालतमा मुद्दा दायरसम्मका कदम चाल्यो । मस्जिद भत्काउनेहरू जेल पुगेर छुटिसके । सर्वोच्चले राम मन्दिरलाई नै उक्त ठाउँ दिने फैसला सन् २०१९ मै गरेको हो । त्यसपछिका तीव्र राजनीतिक घटनाक्रम राम मन्दिरको भूमिपूजादेखि प्राणप्रतिष्ठासम्म आइपुगेको हो । यसमा भारतका मुख्य दलहरू विरोधी छैनन् । मात्र बिजेपीले राजनीतिकरण गरेकोमा आपत्ति मानिएको छ । राम मन्दिर कूटनीतिक कुरा पनि हो । नेपाल र भारतका दुवै प्रधानमन्त्रीले जानकी मन्दिर क्षेत्रमा आएर भाषण गरेका छन् । रामायण सर्किटप्रति दुई देशले अपनत्व लिएका छन्् । राम मन्दिर बन्ने क्रममा देव शिला नेपालबाट अयोध्या पुगेको छ । ०७५ वैशाख २८ मा जानकी मन्दिरको भ्रमण गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आएर जनकपुर र अयोध्या रेल, सडक र हवाई विभिन्न माध्यमबाट जोडिने बताएका थिए । धार्मिक तथा सांस्कृतिक कनेक्टिभिटीलाई भौगोलिक तथा पूर्वाधार कनेक्टिभिटीमा जोडेर मोदी मन्तव्य आएको थियो ।

अयोध्याको राम मन्दिरलाई बिबिसी अंग्रेजीका पत्रकार सौतिक विश्वासले हिन्दुको भ्याटिकनसँग तुलना गरेका छन् । जनवरी २२ को प्राणप्रतिष्ठामा पुग्ने नेपाली पत्रकारको एक साक्षी भएकाले त्यो भनाइमा सत्यता देखियो । बस बिसौनीको नामदेखि विमानस्थलसम्म सबैको नाम धार्मिक छन् । जस्तै रामकथा बसपार्क छ । महर्षि वाल्मीकि अन्तर्राष्ट्रिय विमानस्थल छ । राम मन्दिर जाने बाटोको नाम रामपथ छ । मन्दिर जाने विशाल पोलमा जय श्री राम लेखिएको छ । सरयु नदी किनारका मुरलहरूमा राम, जानकी, लक्ष्मण र हनुमानका मुरल छन् । जय सियारामका नारा भित्ताभरि छन् । सरकारले बोर्डहरूमा ३१ हजार करोड भारतीय रूपैयाँ अयोध्या क्षेत्रको धार्मिक मेकओभरमा खर्च गरेको छ । बन्दे भारत रेलदेखि विमानस्थल, सडक हुँदै भित्ता भित्तामा त्यसको प्रभाव देखिएको छ । एक हिसाबले भारतले राम मन्दिरलाई विश्वकै एक विशाल हिन्दु धाम बनाउने प्रयत्न गरेको देखिएको छ । यसमा प्रदेश सरकार लागेको छ । मुख्यमन्त्री योेगी आदित्यनाथ लागेका छन् । केन्द्र सरकार लागेको छ । सेनाको हेलिकप्टरले प्राणप्रतिष्ठामा पुष्पवृष्टि गरेको छ । स्वयं प्रधानमन्त्री नरेन्द्र मोदी निराहार व्रत बसेर कार्यक्रममा आउन तयार भएका छन् ।

जनस्तरबाटै करोडौँ नागरिकले रकम उठाएका छन्् । दान दिएका छन् । हिन्दुदेखि मुसलमानसम्मले रकम दिएका छन् । भारतले एक धार्मिक, सांस्कृतिक, राजनीतिक मात्रै नभई आममान्छे जोड्ने परियोजनाको रूप दिएर राम मन्दिर तयार गरेको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट १४० किलोमिटरको दूरीमा रहेको अयोध्या गोरखपुरबाट १३२ किमि टाढा छ । अझ रोचक पक्ष अयोध्याको दूरी दिल्लीभन्दा छोटो काठमाडौँसँग छ । काठमाडाँै ५०० किमिभन्दा छोटो सडक दूरीमा छ भने दिल्ली ५०० किमिभन्दा धेरै पर पर्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार घण्टाको सडक यात्रामा अयोध्या पुग्न सकिन्छ । यो दूरी दिल्लीबाट आउने सडक दूरीभन्दा कम हो । यो दूरीको फाइदा उठाएर नेपालले गैरआवासीय भारतीयलाई काठमाण्डौबाट अयोध्याको प्याकेज बेच्ने सम्भावना देखिन्छ । खासगरी नेपालको बाटो भएर कैलाश मानसरोवर यात्रामा आएका गैरआवासीय भारतीयलाई यो प्याकेज बेच्न सकिन्छ । 

जनकपुरसँग त रेल र सडकको सिधा सञ्जाल छ । यसबाट अयोध्या आउनेहरूलाई अनिवार्य रूपमा जनकपुर आउने माहोल बनाउन सकिन्छ । त्यसका लागि पर्यटन क्षेत्र तथा कूटनीतिक वृत्तले सक्रिय भूमिका देखाउन सक्छ । आज अर्ब हिन्दुले अयोध्याबारे थाहा पाएजस्तै सोही संख्यामा जनकपुरको ब्राण्ड गरेर अयोध्या आउने खर्चालु धार्मिक पर्यटकलाई जनकपुर तान्न सकिन्छ । मधेश प्रदेश सरकार र भारतको उत्तर प्रदेश सरकारले समयमा समन्वय गरेर काम गर्न सक्ने सम्भावना छ । दुई देशमा भएका ट्राभल कम्पनीले पनि यस्तै सहकार्य गर्ने सम्भावना छ ।

त्यसमा जोड दिन आवश्यक छ । जनकपुरलाई अयोध्याकै शैलीमा विश्वको ध्यान खिच्ने स्तरको पूर्वाधार निर्माण र प्रचार गर्न सकिन्छ । जनकपुरको मेकओभर हुँदा एक मन्दिर जानकीको मात्रै ब्राण्ड बन्ने होइन । त्यसले त जनकपुरधाम र त्यहाँको मिथिला सभ्यताको जरोकै पुनरुत्थान गर्ने हो । यो पक्षमा अयोध्यामा आएको तहको नागरिक सक्रियता र लगानी लाउन नेपाली पक्षले पनि उत्तिकै नेतृत्वदायी र अनुकरणात्मक काम गर्न आवश्यक छ ।

आयोध्यामा मन्दिरको राजनीति भएको सत्य हो । त्यो राजनीतिसँगै कूटनीति चलेको पनि सत्य हो । तर, यसलाई समस्या देख्नेहरूले विकासानन्दले भनेजस्तै समाधान होइन, सदुपयोगमा नेपालीमैत्री फाइदा लिन सकिन्छ । सक्ने आधार भनेको धार्मिक पर्यटनको पूर्वाधार, प्रचार र जनशक्तिको विश्वस्तरीय तयारी नै हो । 
 

टिप्पणीहरू