सरी, मैले पार्टी सदस्यता नवीकरण गर्न सकिन !

सरी, मैले पार्टी सदस्यता नवीकरण गर्न सकिन !

पार्टी भनेपछि स्वतः राजनीतिक संस्था भन्ने बुझिन्छ । तर, पार्टीले राजनीति मात्र गर्दैन । किनकि सदस्यता दियो भने सबै अधिकार दिनुपर्छ भन्ने डर छ । त्यसो त सबै पार्टी सदस्य नेता बन्न वा विभिन्न सरकारी पद ग्रहण गर्न सक्षम पनि हुँदैनन् । संविधानले नै नागरिकको अधिकार किटान गरेको छ।

यसैबीच बहुसंख्यक नेपाली विदेश गएर बसोबास गर्ने प्रचलन बढ्दो छ ।यही पृष्ठभूमिमा अन्यत्र प्रचलनमा नभएको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरिएको हो । विदेश बसे पनि नेपालको पार्टी संगठन खोल्ने परम्परा हामीमा बलियो ढंगले चलेको छ । यो क्रम कमसेकम हामी पहिलो पुस्ताको जीवनकालसम्म चलिरहनेछ ।

एक जिम्मेदार मानिसको पहिलो कर्तव्य भनेको कानुन पालना गर्नु हो । पार्टीको विधानले स्वीकृत नदिने तर सदस्य बनिरहने कुरा उचित हुँदैन । संविधानको धारा १४ ले विदेशी नागरिकता भएका गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाट वञ्चित गरेको छ । धारा २९१ ले विदेशमा लामो समय बसोबास गर्न अधिकार पाएकाहरूलाई पनि कुनै संवैधानिक पदमा निर्वाचित, नियुक्ति वा मनोनीत गर्न रोक लगाएको अवस्थामा धारा १४ नराखे पनि हुने थियो । 

ऐनमा सामान्य संशोधन गरेर नागरिकता निरन्तर राख्ने व्यवस्था गर्न सकिन्थ्यो । तर, यो अहिले थाती रहेको विषय बन्न पुगेको छ । समयको गतिसँगै यो विषयमाथि पनि उचित संबोधन हुने आशा गराौँ । पार्टीहरूले विदेशमा संगठन विस्तार गरिरहने हो भने यो गम्भीर विषयउपर ध्यान दिन आवश्यक छ । 

४० वर्षभन्दा बढी समयदेखि सदस्यता नवीकरण गरियो । भगौडाको पगरी भिरेर पनि त्यही पार्टीलाई साथ सहयोग गरियो । सबले झोले भनेर गिज्याउँदा डोके बन्नसमेत तयार छु भनियो । देशमा युद्ध र विद्रोह हुँदा मौजुदा नियम कानुन सब पालना गर्नैपर्छ भन्ने छैन । नयाँ संविधान आएपछि विदेशको नागरिकता लिनेहरू पनि वैधानिक रूपमा देशको सर्वांगीण समृद्धिमा समाहित हुन पाउने आशा जगायो । नागरिकता कानुन पास गर्न लामो समय लागे पनि अन्ततः गैरआवासीय नेपाली नागरिकता प्राप्त भयो ।

पार्टी नेता छानेर मन्त्री, प्रधानमन्त्री बनाउने कारखाना मात्र होइन । संविधानमा राजनीतिबाहेक अन्य व्यवस्था गर्न ७५ प्रतिशतभन्दा बढी धारा, उपधारा लेखिएका छन् । गैरआवासीय नेपालीलाई राजनीतिबाहेक अन्य संवैधानिक अधिकार प्रयोग गर्ने गरी सदस्यता प्रदान गर्न केले रोकेको छ ? पार्टी सदस्यता लिनु भनेको के राजनीति मात्र गर्नु हो ? समाजका विविध विषयमा पार्टीले भूमिका निर्वाह गर्नुपर्छ भने पार्टीको सदस्यता लिनु भनेको राजनीति मात्र गर्नु कसरी हुन्छ र ? ६ वर्षदेखि मैले यो विषय उठाएको छु । 

पार्टीको विधानमा सदस्य बन्न १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्छ भनिएको छ । सबै पार्टीले विदेशमा भ्रातृ संगठन खोलेका छन् । विदेशी नागरिकता लिएकाहरूलाई सदस्यता दिएर लेबी लिने गरेका छन् । त्यतिमात्र हैन विभिन्न तह अनि केन्द्रसम्मको नेतृत्व पनि दिएकै छन् । विधानतः साधारण सदस्यता पनि प्राप्त गर्न नसकिने हैसियत भएका हामी पद पाएकोमा मक्ख हुन्छौँ । विधान मिचेर यस्तो काम कहिलेसम्म गरिरहने हो ? के यो गम्भीर प्रश्न होइन ? समस्या समाधानका उपाय भएर पनि किन प्रयास नगर्ने ? 

पार्टीसँग अहिलेको सम्बन्ध भनेको एकतर्फी माया हो । दिने तर केही नपाइने । यो स्थितिलाई अवैधानिक सम्बन्धको रुपमा कायम राखिरहन भने हुन्न ।

यही फागुन १ देखि ३ सम्म माओवादी पार्टीले विधान अधिवेशन गर्ने तयारी छ । यो विषयमा विधान मस्यौदा समितिका प्रायः नेतालाई सम्पर्क गरियो । फोनमा त हुन्छ भन्ने आश्वासन पाइयो तर प्रस्ताव तयार हुँदा कुनै सुनुवाइ भने भएन । अब झिनो आशा विधान अधिवेशनमा भाग लिने प्रवासका सहभागीले यो विषय उठान गर्नेछन् र विधान संशोधन हुनेछ भन्ने छ । नेपालका सबै पार्टीको विधानमा सामान्य संशोधन गर्न आवश्यक छ । यदि, त्यसो गर्न सकिएन भने घोषित रूपमा विदेशको नागरिकता लिनेहरूलाई पार्टीका सदस्य हुन पाउँदैनौ भन्न सक्नुपर्छ । 

पार्टीलाई सहयोग गर्नुलाई नै राजनीति गरेको मानिने हो भने अन्य उपायबाट पनि कुनै सहयोग लिनु बैधानिक हुँदैन । प्रवासमा जुनसुकै नाम दिएर संगठन निर्माण गरे पनि अन्ततः पार्टीलाई सहयोग हुने भएपछि यो मान्यताअनुसार त्यो पनि स्वतः अवैधानिक हुन्छ । त्यति मात्र हैन प्रवासमा निर्मित संगठनलाई देशको प्रदेश संगठन बराबरको हैसियत दिनु तर उनीहरूलाई साधारण सदस्यतासमेत दिन नसक्नु कसरी सम्भव हुन्छ ? यस विषयमा देशका सबै पार्टीले गम्भीरतासाथ सोच्न आवश्यक छ । अन्यथा विधानअनुसार विदेशको नागरिकता लिएकाहरूलाई संगठनको सदस्यता वितरण गर्ने र नेता बनाउने काम तुरुन्त रोकिनुपर्छ ।

अहिले माओवादी पार्टीको प्रवासमा रहेको संगठन जनप्रगतिशील मञ्चको अधिवेशन भइरहेका छन् । सबैतिर यही जनवरी अन्तिमसम्म सदस्यता नवीकरण गर्ने सूचना जारी भएको छ । अनलाइन भर्न सकिने फाराममा नेपाली नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि राख्नुपर्ने हुन्छ । आफूसँग यी दुवै नभएको र भए पनि प्रयोग गर्दा अवैधानिक नै हुने भएका कारण प्रयोग गर्ने कुरा भएन । 

मैले सार्वजनिक रूपमा पहिलादेखि यो विषय उठान गरिआएको र नेपालको सर्वोच्च अदालतमा समेत आफूले विदेशी नागरिकता लिएको उल्लेख गरिसकेको छु । आन्तरिक रूपमा यस्तो सुझाव राख्दै आएको छु । सबै पार्टीले आफ्नो विधानमा निम्न बुँदा थप्न आवश्यक छ । ‘नेपाली नागरिक भन्नाले गैरआवासीय नेपाली नागरिकलाई पनि जनाउँछ ।

गैरआवासीय नेपालीलाई सामाजिक, आर्थिक र सांस्कृतिक जिम्मेवारी (अधिकार) पाउने गरी सदस्यता प्रदान गरिनेछ ।’ तर, अहिले विधान मस्यौदा समितिले यसबारे प्रस्तावसमेत नलगेका कारण यो विषय अधिवेशनमा प्रवेश होला÷नहोला भविष्यको कुरा भयो । अहिलेको अवस्थामा गैरकानुनी रूपमा मेरो सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छु । मैले सदस्यता नवीकरण नगरेर पार्टीलाई कुनै हानि नोक्सानी त नहोला तर ठूलो संख्यामा मेरोजस्तै अवस्थामा रहेका साथीहरूले मैलेजस्तै निर्णय गरेको खण्डमा भने सबै पार्टीलाई अवश्य घाटा पुग्नेछ ।

अन्य पार्टीको समेत केन्द्रीय नेतृत्वसम्म पुगेका नेताहरूबारे अदालतमा प्रश्न उठ्यो भने प्रतिकारमा पेश गर्ने तर्क के हुन सक्ला ? यो सम्भावित समस्या समाधान गर्नका लागि पनि सबै पार्टीले आफ्नो विधान परिवर्तन गर्न अपरिहार्य छ । अब लेबी नियमित तिरिरहने, संगठन निर्माणमा लागिरहने, पार्टीको प्रचार तथा बचाऊ गरिरहने तर सदस्यता नवीकरण नगरेपछि पार्टी छोडिएको मानिने कि नमानिने भन्ने कोणबाट छलफल हुनेछ । मैले पार्टीसँग विमति भएका कारण सदस्यता नवीकरण नगरेको होइन । पार्टीमा छँदा पनि धेरै पटक आफूलाई लागेका कुरा निर्धक्कसँग राख्ने र लेख्ने गरेको छु । 

हामीले सदस्यता पाए पनि राजनीतिक र प्रशासनिक जिम्मेवारी पाउने छैनौँ । त्यसो त पार्टी यति लामो समय सरकार सञ्चालनको केन्द्रबिन्दुमा छ । हामीले विदेशी नागरिक भएर पनि पाउन सकिने पदमा आजसम्म आँखा लगाएका छैनौँ । सम्पर्कको आधारमा भन्ने हो भने पनि माथिल्ला नेताहरूसँग बिनारोकतोक भेट गर्न सकिन्छ । त्यस कारण पार्टीसँग अहिलेको सम्बन्ध भनेको एकतर्फी माया हो भन्ने गरेको छु । दिने तर केही नपाइने । यो स्थितिलाई अवैधानिक सम्बन्धको रूपमा कायम राखिरहन भने हुन्न । 

०३७ सालयता पार्टीभित्र अनेकौँ पटक फुट भएर अहिले पनि क्षतविक्षत अवस्थामै पुगेको छ । आजसम्म मैले कहिल्यै पनि पार्टी फुटको पक्ष लिएको छैन । जहिले पनि बहुमतले गल्ती गर्दैन, गरे पनि कुनै दिन गल्ती सुधार गर्नेछ भन्ने लागिरह्यो । नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने माओवादी पार्टीले जति अरुले छोटो अवधिमा त्यति ठूलो उपलब्धि हासिल गरेका छैनन् ।

तर, यो पार्टीले जति फुट अन्य पार्टीले व्यहोर्नुपरेको पनि छैन । झण्डै बहुमत नजिक पुगेको पार्टी नेतृत्वले गर्दा नौ महिनामा प्रधानमन्त्री छाड्नुपरेको थियो भने सदनमा निकै कम सांसद रहँदा पनि अझै लामो समय देशको नेतृत्व गर्ने सम्भावना देखिन्छ । यो पार्टीले मात्र देशको कायापलट गर्ला भन्ने त हैन तर यति धेरै बलिदान गरेको पार्टीले धोखा दिन हुँदैन भन्ने पक्षमा छु ।

पार्टीको सदस्य नरहेपछि कुनै पदीय जिम्मा लिने कुरा भएन । तर, पार्टीलाई सहयोग गर्न रोक लाग्ने पनि होइन । लामो समय बसेको घरमा बसिरहन पाए पनि मालपोतमा गएर राजीनामा पासको तमसुकमा ल्याप्चे लगाएजस्तो अनुभूति भएको छ । यो घर त मेरो हो तेरो हक छैन भनेर घरनिकालासम्म नगर्लान् भन्ने विश्वाससाथ यो तमसुक बदर हुने झिनो आशा भने मरेको छैन । 

(सुरेन्द्र नेपाल श्रेष्ठ, सिन्धुपाल्चोक हाल बेलायत, नेकपा माओवादी पूर्वकेन्द्रीय सदस्य, वर्तमान प्रवास प्रदेश समिति सदस्य)

टिप्पणीहरू