सिकेको इमेल र रविको इनामेल

सिकेको इमेल र रविको इनामेल

जनवरी १ को कुरा गरौँ । त्यो दिन बिहानै काठमाडौँ माइतीघरमा ‘स्वराज महानायक’ भनेर केही मधेशीले पुज्ने गरेका चन्द्रकान्त राउत दलबलसहित ‘धोती’ देखाउन पुगेका थिए । थाहा थियो, त्यो निषेधित क्षेत्र थियो । राउतलाई पनि थाहा हुनुपर्ने हो । निषेधित क्षेत्रमा मुलुककै राष्ट्रिय पार्टीका अध्यक्ष नै पुगेपछि मन्त्री, पूर्वमन्त्रीहरू पनि पुग्नै पर्ने भयो । नेपाल प्रहरीमाथि निषेधित क्षेत्र जोगाउनुपर्ने दायित्व छ । मानौँ जनमतका कार्यकर्ताले आजै माइतीघर मण्डला उठाएर लैजाने भए भनेजसरी शक्ति देखायो । बहालवाला मन्त्रीलाई पनि उठायो । पछि गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँँ पुलिस क्लब पुगेर उनीहरूलाई ‘मुस्कानसहित’को सेवा दिई छुटाए । दिउँसो राउत कराउँदै थिए, ‘मधेशी भएर बहालवाला मन्त्रीलाई समात्यो, अरू पार्टीका मन्त्रीलाई पनि समातेर देखाओस् त !’

त्यही दिन नेपाली ढाकाटोपी लगाएर उभिने गरेको केही वर्ष भएको छ । यो संयोग नै हो । हामी दशैँ मान्छौँ, मधेशमा दशहरा भनिन्छ । कैलाली, कञ्चनपुरका थारुले माघी भन्छन्, खिचरा महोत्सव मनाउँछन् । हामी माघेसंक्रान्ति मनाउँछौँ । उनीहरू पवित्र मनले चोखोनितो भएर पर्व मान्छन्, हामी पनि देवघाटलगायत नजिकका शिवमन्दिर गएर दर्शन गर्छौँ, नुहाउँछौँ । पर्व पूर्वदेखि पश्चिम भनौँ या सुदूरपश्चिमदेखि पूर्वसम्म एउटै दिनमा एकै किसिमका हुन्छन् । त्यसैले केही थान पहाडियाले ढाका टोपी देखाउँदा मधेशीले पनि धोती देखाउन पाउनु अधिकारको विषय हो भनेर त्यो दिन राउतले बदमासी गरेको भनिएन । राज्य किन सबैलाई उस्तै नजरले हेर्छ भनेर नै लेखियो । फेसुबकमा सिकेले नेतृत्व गरेको मधेशी पहिचानका पक्षमा लेखियो । उता जनकपुरका पाँच जना जति पत्रकार भने परीक्षा लिइरहेका थिए । उनीहरूले मेरो पत्रिका समूहलाई चुनौती दिएका रहेछन् कि जनवरी २ को पत्रिकामा सिकेको समाचार आउँछ कि आउँदैन ? समाचार प्रथम पृष्ठमा राउतजन र तिनले सोचेभन्दा बढी कभरेज थियो । बरु जनकपुरमा कुरा काटेर बस्ने पत्रकारहरूले मधेशीको पक्षमा मैले जति पनि फेसबुकमा लेख्न सकेका थिएनन् । 

साँझ त अर्को समाचार आयो, कार्यक्रम रोक्नु भनेर सिके राउतले गृह मन्त्रालयमा इमेल गरे रे । त्यो इमेल गृह मन्त्रालयले पढ्न भ्यायो कि भ्याएन होला ?

माघ ५ गते मधेशको आर्थिक नगरी वीरगञ्जमा मधेश बलिदान दिवस मनाइयो । त्यहाँ प्रमुख अतिथि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव थिए । उनले मधेश आन्दोलनका किस्साहरू निकै भावुक भएर सुनाए । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव केही दिनदेखि राउतकै जनमतका नेता, कार्यकर्तासँग परेशान छन् । मधेश सरकारमा नेतृत्व जसपाको छ । सप्तरीमा चुनाव हारेका उपेन्द्र राउतलाई गठबन्धनले बाराबाट जिताएको छ । उपराष्ट्रपति मधेशी या जनजाति र महिलालाई दिनुपर्ने मापदण्डअन्तर्गत बाराकै छन् । यस्तो बेला के जसपाबाटै मुख्यमन्त्री बनेका यादवले कार्यक्रममा सिके राउत बोलाउँछन् ? माघ ३ गते मधेश स्वाभिमान दिवसमा मुख्यमन्त्रीसँगै जनमतका मन्त्री पनि मञ्चमा थिए । यादव बोलिरहँदा जनमतका नेता कार्यकर्ता ‘साइकल चोर’ भनेर नाराबाजी गरिरहेका थिए । माघ ३ गतेको घटनाक्रमपछि ५ गते वीरगञ्जमा मधेश आन्दोलनका सहिद तथा घाइतेको सम्मानमा जनमतको असन्तुष्टि उनै उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएको विषयमा थियो । 

यतिमै सीमित भएन, सप्तरीमा मधेश कृषि विश्वविद्यालय भवन शिलान्यासको कुरा भयो । सोमबार गर्ने भनिएको शिलान्यासमा सप्तरीकै नेता, पार्टी अध्यक्ष उपेन्द्र यादव नै बोलाइएका थिए । किनभने विश्वविद्यालयको कुलपति मुख्यमन्त्री हुने कानुनी व्यवस्था छ । सिके राउतको पार्टीका मन्त्री त्यसमा सहकुलपति हुन् । मन्त्रीको काम मुख्यमन्त्रीलाई सहयोग गर्नु हो । कुलपतिले आयोजना गरेको कार्यक्रम रोक्नु भनेर सहकुलपतिले आइतबार नै प्रेस विज्ञप्ति जारी गरे । पार्टीका कार्यकर्ता पठाएर विश्वविद्यालयमा तालाबन्दी गरे । साँझ त अर्को समाचार आयो, कार्यक्रम रोक्नु भनेर सिके राउतले गृह मन्त्रालयमा इमेल गरे रे । त्यो इमेल गृह मन्त्रालयले पढ्न भ्यायो कि भ्याएन होला ? रात परेपछि इमेले लेख्ने र शासकजति ‘पहाडिया’ भएकाले हाम्रो सुनुवाइ भएन भनेर त्वचा र नश्लका आधारमा राजनीति गर्न खोज्ने मधेशमै सबैभन्दा लिटिल सोचका नेतामा दरिँदै छन् सिके राउत । जो मधेशी नेतृत्वसँग बोलचाल गर्ने हैसियतमा छैनन् र रिस उठेपछि गाली ‘पहाडिया’ लाई गर्छन् । उनलाई थाहा हुनुपर्ने ६१ लाख १४ हजार २ सय ६६ जनसंख्या भएको मधेश प्रदेशमा पहाडियाको जनसंख्या पनि ३१ प्रतिशत भन्दा बढी छ । 

सोमबार उपेन्द्र यादव आफ्नो गृहजिल्ला पुगे । मधेश विश्वविद्यालय भवन शिलान्यास गरे । दलबलसहित पुगेका जनमतका कार्यकर्तामाथि कठोरसँग पुलिसले लठ्ठी बजार्दा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री महेश यादवको पनि टाउको फुट्यो । फेसबुकमा तीन सातादेखि नै मधेश, अझ सप्तरीमा उपेन्द्र यादवलाई निषेध गर्न नेता, कार्यकर्ता उक्साइरहेका सिके राउतको केही जोड चलेन । उनका मन्त्री भनेपछि काठमाडौँमा समातिने, मधेशमा टाउको फुट्ने दिन आए । अब उनले फेरि गाली गर्ने छन् शासकमा पहाडिया रगतले काम गरिरहेको छ । मधेशमा उनका मन्त्री पिट्ने त पहाडिया थिएनन् होला तर राउतले भन्ने सजिलो शब्द हो ‘पहाडिया रगत र सोच ।’ उनको हर्कत देखेर मधेश प्रदेश सरकारका अर्थमन्त्रीको सचिवालयमा रहेका शिव अधिकारी यदुवंशीले फेसबुकमा उल्लेख गरेका छन्, ‘कार्यक्रममा डा. सिके राउतले द्वन्द्वनात्मक स्थिति सिर्जना गर्न व्यापक योजना बुनेका थिए । आफैँँ सप्तरीमा डेरा जमाएर बसेका थिए । तर उनका मुख्य कार्यकर्ताले जनताले विकासविरोधी काममा साथ नदिएपछि अकस्मात सप्तरी छाडे । केही सीप नचलेपछि उनले मन्त्री महेश यादवलाई अघि सारे । तर उनी कार्यक्रमको विरोध गर्ने मनशायमा थिएनन् । पछि डा. सिके राउतले एकलौटी ह्विपजस्तै लगाएर आन्दोलन गराए । माता सखडाले उनीहरूको मानसिक स्थिति छिट्टै निको पारोस् ।’

सिके राउतकै पार्टीकी मन्त्री संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा छिन् । त्यो पार्टीको काम देशभर र अझ प्राथमिकतामा पारेर मधेशका स्थानीय तहमा कार्यकारी अधिकृत पठाउने हो । तर सर्लाहीका अर्का खानेपानी मन्त्री महिन्द्र रायले स्थानीय तहमा कार्यकारी पठाउन सकेका छैनन् । जो कार्यकारी पठाए पनि यादवले काम गर्नै नसक्ने बनाइदिएका छन् । त्यहाँका मेयर विनोद साह चैतदेखि काठमाडौँमा कार्यकारी माग्दै बसिरहेका छन् । मधेशका कैयौँ स्थानीय तहमा कार्यकारी छैनन् । कुनै पनि दिन सिके राउतले मधेशका जनतालाई सेवाप्रवाह गर्नुपर्छ, प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्छ भनेर फेसबुकमा लेखेको र बोलेको पाइएन । मधेशमा सुशासन, सेवाप्रवाहले जनता शिक्षित, सुसंस्कृत र सभ्य हुन्छन् भन्ने बुझ्न सकेन भने त्यस्तो पार्टीलाई जुन मन्त्रालय दिए पनि ‘छुचुन्द्रोको ठाउकोमा चमेलीको तेल’ हुँदोरहेछ । संघ सरकार र प्रदेश सरकारमा जनमतले पाएको जनमत अरू घटिरहेको छ, यस्तो हर्कतले मात्रै जनमत बढ्नेवाला छैन ।

विश्वविद्यालय शिलान्यास भइसक्यो, उपेन्द्र यादव र सरोज यादव जनकपुर फर्किसके । फेरि साँझ चक्काजाम गरेर हजारौँ यात्रुलाई दुःख दिने पार्टीले आफू ‘टोलेगुण्डा’ भन्दा माथि छु भन्ने देखाउन जरुरी छ । सप्तरीमा उपेन्द्र यादवले कसैलाई एक शब्द बोलेनन् । वैशाख १० गते भएको उपनिर्वाचनदेखि आजसम्म सिके राउत आफैँँले उपेन्द्र यादवलाई यति धेरै गाली गरेका छन् । तर, उपेन्द्रले राउत र राउतको पार्टीको नामसमेत लिएका छैनन्, केही भनेका छैनन् । उपेन्द्र यादव साँच्चै शालीन भएर राउतको अराजकतालाई सतहमा पु¥याइदिएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले माघ ५ गते वीरगञ्जको कार्यक्रममा भने, ‘पाइन्टमाथि धोती लगाउने नक्कलीहरू मधेशको कुरा गर्छन् !’

जसरी मधेशमा जनमतको हर्कतले अशान्ति र अराजकता मच्चिँदै छ, त्यसै गरी पहाडमा रवि लामिछानेको बदनियतका पुलिन्दाहरू एक–एक गरी खुलिरहेका छन् । आफू ३२ दिन गृहमन्त्री हुँदा संसदमै भएका फरारसूचीका लक्ष्मी कोइरी महतो नदेखे जस्तै उनकै जिल्ला महोत्तरीमा बैठक राखेर मधेशी भोजका तस्बिर हालेर भएजति पहाडियालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पद बाँडी काठमाडौँ फर्केपछि उनीबाट केही पार लाग्दैन भन्ने धेरैलाई परिसकेको छ । चुनावताका प्रयोग भएका रमेश प्रसाईं, उम्मेदवार बनेका रमेश खरेल कोही इन्द्रेणीमा त कोही कुनै टिभीमा देखिन थालेका छन् । लामिछानेकै मालिक जिबी राईको सानो पाइला सहकारी वीरगञ्जलाई समस्याग्रस्त घोषणा गर्दा जिबी राईकै पत्रकारहरूले वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहलाई विवादमा ल्याउने काम गरे । वीरगञ्जको चर्को घाममा दुनियाँको जुठा भाँडा माझेर कमाएको बचत लगेर सानो पाइलामा राख्दा जिबी राईले आफन्त र वरिगञ्जमै नभएकाहरुलाई मात्र ९३ करोड रूपैयाँ बाँडेका रहेछन् । सिंहले भूमि व्यवस्था, गरिबी निवारण मन्त्रालय, सिआइबी र राष्ट्र बैंकलाई पत्राचार गरेर खाता र जग्गा रोक्का गरेपछि राईका अरू सहरका सहकारीपीडित पनि जुर्मुराए । अनि राई देश छाडेर भाग्नुपर्ने अवस्था आयो । उनीहरूले यसको सुरुवात गर्ने राजेशमान सिंहका स–साना कमजोरी खोजेर प्रहार गरे । 

अरूको कमजोरी खोज्ने, धम्काउने, थर्काउने तर आफू समाजप्रति जिम्मेवार हुन नचाहने सबैतिरका झुण्डहरूको एउटा जमात तयार पारेर समाजको मूल विषयमै विषयान्तर गर्ने काम भइरहेको छ । यो राजनीतिलाई सुध्रिनै नदिने योजना हो । यसको नेतृत्व पहाडमा रवि लामिछाने र मधेशमा सिके राउतले गरिरहेका छन् । अझ रमाइलो त यस्तो जनताको विषयमा प्रमुख प्रतिपक्षी र वैकल्पिक भनिएका एमाले, राप्रपाको मौनता लज्जास्पद छ । किनभने देशभरमै सहकारीका कुरा कोट्याउँदा ६० प्रतिशत मुद्दा एमालेजनलाई लाग्ने पक्का छ । सर्लाहीमा बाबुराम घिमिरे नेतृत्वको सहकारी र बोर्डिङ स्कुलको प्रकरणमा घिमिरेले पौने ४ करोड रूपैयाँ हिनामिना गरेको र चैतभित्र नतिरे परिवारजनको धनसम्पत्तिबाट असुल गर्न आन्तरिक छानबिन समितिले निर्देशन दिएपछि अहिले घिमिरे अछापे विज्ञप्ति फेसबुकमा हालेर रनभुल्ल छन् । उनका कारण बोर्डिङका विद्यार्थीको पढाइ प्रभावित हुने अवस्था बनेको छ । 

तर, रवि लामिछाने अनेक इनामेल पोतेर आफू निरीह, निर्दोष, इमानदार सावित गर्न खोज्छन् । २४ घण्टा नबित्दै अर्को काण्ड आइलाग्छ । उनको पार्टीका नेता हेरौँ, छोटै समयमा कति काण्डमा मुछिएका छन् । एउटा काण्डको कम मूल्य नै २ करोड रूपैयाँको अडियोबाट शुरु हुन्छ । जनताले भरोसा गरेको पार्टीको मूलदेखि तलसम्मकालाई राम्रो देखाउने रंगको ड्रममा डुबेको नयाँ स्यालजस्तो देखाउँदादेखाउँदै २०८४ आउनै लागिसक्यो । जनता यति अस्थिर छन् कि, कुनबेला कता लर्किन्छन्, पत्तै हुन्न । उनीहरू सिके राउतको इमेल र रवि लामिछानेको पोतपात अर्थात् इनामेलबारे जति ३४ वर्षमा कांग्रेस–एमाले–माओवादी–जसपाबारे जानकार भए, छोटो समयमै राउत र रविबारे पनि प्रष्ट भइसकेका छन् । 
 

टिप्पणीहरू