दोष कसलाई लाउने, होश कहिले फिर्ने ?

दोष कसलाई लाउने, होश कहिले फिर्ने ?
सुन्नुहोस्

भूकम्प आफैँमा समस्या होइन । तर हाम्रो आफ्नै गतिविधिले, क्रियाकलापले यसलाई खतरनाक समस्याको रूप दिन्छ र त्रासदी फैलाउँछ ।

हाम्रो गतिविधि, क्रियाकलाप कस्ता हुन्छन् भन्ने विषय राजनीति, अर्थव्यवस्था र अन्य कुराले निर्धारण गर्ने हो । त्यसअर्थमा भूकम्प कति खतरनाक सावित हुन्छ भन्ने कुरा हाम्रो देशको राजनीतिमै, अर्थतन्त्रको स्तरमै, नागरिकको आयको स्थितिमै र देशको सुशासनमै निर्भर रहन्छ । यसरी हेर्दा भूकम्पले पुर्‍याउने जनधनको क्षतिको जवाफदेहिता राजनीतिक दलहरू र सरकारमा रहेको हुन्छ । 

जाजरकोटमा गएको भूकम्प धेरै ठूलो होइन । संसारका धनी देशले नौ रेक्टर स्केलसम्मको भूकम्प थाम्ने क्षमताको विकास गरेका छन् । जमिनमुनि पाँच तल्ला र जमिनमाथि सय तल्लासम्मका भवन आठ–नौ रेक्टर स्केलको भूकम्प आउँदा ढल्दैनन् । भवन नढलेपछि मानवीय क्षति पनि नहुने भयो । तर हाम्रोमा यस्तो छैन ।

हाम्रा लगभग सबैजसो भवन कुनै पनि स्केलको भूकम्प प्रतिरोध गर्न सक्ने किसिमले बनाइएकै छैनन् । सानै धक्काले नै ढल्न सक्छन् । यस्तो किन भन्दा हामी धेरै गरिब छौं । हामीसँग खान र लाउन पुग्ने पनि पैसा छैन । शिक्षादीक्षा र औषधोपचारको निम्ति खर्च छैन । घुमफिर र मनोरञ्जनको निम्ति पैसा छैन । यस्तो भएपछि भूकम्प प्रतिरोधात्मक क्षमता भएको घर कसरी बनाउन सक्छौँ ? हामीसँग पैसा हुने भनेको कि त रोजगारीबाट हो कि भने व्यापार व्यवसायबाट । जनताको ठूलो हिस्सा बेरोजगार छ । उद्योग, कलकारखाना नभएपछि रोजगारी हुने कुरा पनि भएन । रोजगारी नभएको मान्छेले खर्च गर्न सक्दैन । व्यापार व्यवसाय पनि जनतासँग पैसा भएपछि मात्रै चल्ने हो । जनताको पाकेटमा पैसा नभएपछि यो पनि चल्दैन । खल्तीमा पैसा नभएको मान्छेले कसरी बलियो घर बनाउने ? देशभरिका घरहरू बलियो नबन्नुको एक मात्र कारण गरिबी हो । देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गराउने हो र जनतालाई धनी, पैसा भएको बनाउने हो भने भूकम्पलाई जित्न सकिन्छ । राजनीति र राज्यको हातमा छ जनताको जिउज्यानको सुरक्षा । 

भूकम्पले धनजनमा ठूलो क्षति पुर्‍याएको छ । यो हाम्रोनिम्ति ठूलो पीडा र शोकको अवस्था हो । तर, यसो भन्दै चुप लागेर बस्नु हुँदैन । अब मुख्य ध्यान दिने भनेको घाइतेको राम्रो उपचार र पीडित जनताको पुनर्वासमा हो । घाइते भएका जति सबैलाई अस्पताल  पुर्‍याउन सके उपचारमा समस्या हुँदैन । अबको मुख्य चुनौती भनेको अस्थायी र स्थायी बसोबासको व्यवस्था मिलाउनु हो । जेसुकै भन्दा पनि हाम्रा कर्मचारीको मानसिकता हरेक परिस्थितिभित्र धन कमाउन खोज्ने किसिमको छ । बहत्तर सालको दुःखद बेलामा पनि विभिन्न किसिमले घोटाला गर्न नाम चलेकै मानिसहरू लागेको देखियो । पुनर्निर्माण गर्न पनि उसको र मेरो मान्छे भनेर झगडा गर्ने, हटाउने र ल्याउने काम भएको थियो । अब यस्तो हर्कत कुनै पनि अवस्थामा हुन दिनुहुँदैन । जनताको जीवनमाथि खेलवाड गरेर कर्मचारी र अरुले पनि धन कमाउन सक्ने परिस्थिति रहन दिनुहुँदैन । यस्तो प्रवृत्तिलाई, यदि देखा पर्छन् भने, निर्ममतापूर्वक कुल्चिनुपर्छ । किनभने यस्ता मान्छे जोसुकैको नजिकका भए पनि देशका दुश्मन हुन् । 

समयलाई सबैभन्दा बढी ध्यान दिएर काम गर्नुपर्ने बेला छ अहिले । जाडो आइनै सक्यो । घरबारविहीन भएकाहरू कहाँ बस्ने, के लाउने, के ओढ्ने र के ओछ्याउने, के खाने भन्ने आजको दिनको सबैभन्दा गम्भीर विषय हो । यसलाई जनताको, पीडितको समस्या हो भन्दा पनि यो विषय राज्यले हेर्नैपर्ने विषय हो भनेर मान्नुपर्छ । देश र विदेशबाट सहयोगहरू प्राप्त भइरहेको छ । निर्माण तथा अन्य काम गर्न सेना, प्रहरी छन् । स्वयंसेवकको रूपमा सहयोगमा जोडिन चाहने नागरिकको संख्या पनि ठूलो छ । यिनीहरू सबैलाई समन्वयात्मक तरिकाले नेतृत्व गरेर पुनर्वास गराउने काममा युद्धस्तरमा जुट्नुको विकल्प छैन । कुनै पनि प्रकारको मोलमोलाइ, लप्पनछप्पन, छली र ढाँटढुँट अस्वीकार्य रहेको कुरा बताउँदै कामलाई तीव्रतासाथ अघि बढाउनुपर्छ । कोअर्डिनेटेड तरिकाले काम गरेर मात्रै उनीहरूको दुःख–दर्दमा मलमपट्टी लगाउन सकिन्छ । उनीहरूको दुःखलाई कम गराउन सकिन्छ । 

अब राज्यले निर्माण गरेर दिने सबै घरपरिवारको लागि बस्न पुग्ने र भूकम्प प्रतिरोधात्मक नै बनाउनुपर्छ । पाँच जनाको परिवारलाई दुईकोठे घर बनाएर दिनुको कुनै अर्थ छैन । यसको अलावा ती घर जनताको खेतबारी भएकै स्थानमा बनाउनुपर्छ । घर एकातिर र खेतबारी अर्कैैतिर हुन गयो भने त्यहाँ बसेर जीविका चलाउन कठिन हुन्छ । घर भनेको जहिले पनि जीविकासँग जोडिएको हुनुपर्छ । भूकम्प भनेको बाढी पहिरो जस्तो डिभास्टेटिङ हुँदैन । बाढी पहिरोले बस्ती नै बगाएर लैजाने, तहसनहस पार्ने र पुनर्निर्माण गर्न धेरै कठिन बनाउने गर्छ ।

तर भूकम्पले मानवीय तथा अरु प्रकारका संरचनागत क्षति पुर्‍याउने भएता पनि यसले आफूसँगै केही लिएर जान्न । पुनर्निर्माण गर्न चाहिने आधाआधी समान त भत्किएका संरचनाभित्रै पाइन्छन् । जनशक्ति र इच्छाशक्ति भएपछि पुनर्निर्माण गर्न धेरै समय लाग्दैन । यति कुरा भन्दाभन्दै पनि के कुरा यथार्थ हो भने नियत खराब भएको नेतृत्व यहाँ प्रवेश पायो भने उसले समयमा काम गर्ने, सही काम गर्ने नभएर आफ्नो थैली मोटो बनाउनेतिरै लाग्छ । राजनीतिक नेतृत्व सचेत हुने र इमानदार हुने हो भने जनताले लामो समय कहर काट्न पर्नेछैन । 

टिप्पणीहरू