तीज र तिहार किन खल्लो यसपालि !
हाम्रा राजनीतिक दलको घोषणापत्र पनि महाभारत र रामायणजस्ता ग्रन्थ रहेछन् । सुन्दा आनन्द लाग्ने, रोमाञ्चित बनाउने, जुरुक जुरुक उचाल्ने तर जिन्दगीको गोरेटोमा, जीवनलाई समृद्ध बनाउन भने केही काम नलाग्ने । महाभारत र रामायणका कथा पढेर वा पढाएर रोमाञ्चित हुनेबाहेक त्यसले न रोजगारी सिर्जनामा सहयोग गर्छ, न स्वास्थ्य प्रणाली राम्रो बनाउन र महँगी घटाउन नै मद्दत गर्छ । राजनीतिक दलका घोषणापत्र पनि लगभग त्यस्तै छन्– ठुल्ठूला गफ र झुटा संकल्प लेखिएका । यिनका घोषणापत्र पल्टाउँदा के मात्रै पाइन्न ? कांग्रेसको पनि समाजवादै छ, उपेन्द्रको दलको पनि, बाबुराम भट्टराईको झन् समाजवाद नै छ । एमाले, माके र नेकपा (एस)को त कुरै नगरौँ । यिनले त साम्यवादमै पु¥याउनेवाला छन् घोषणापत्रमा । समाजवाद अथवा साम्यवाद भनेको चानचुने विषय होइन । मान्छेलाई समृद्धिको उच्चतम् अवस्थामा पु¥याउने विचार हो । तर हेरौं त यथार्थ ! देशमा बेरोजगारी छ, मतलव छैन । चरम महँगी छ, मतलव छैन । दिउँसै नेतैलाई छप्काउँछन् तर वास्ता छैन । सिंहदरबारमा आगो लगाउँछु भन्छन्, मतलव छैन । शिक्षामा दलाली छ, स्वास्थ्य क्षेत्रमा दलाली छ मतलव छैन । मिल्यो त वाचा र कर्म ? मिलेन नि !
महिलाले पोहोर पह्रार जसरी यसपटक तीजको दर खाएनन्, उनीहरूमध्ये धेरैले नयाँ साडी ब्लाउज किनेनन्, मेकअप गर्न ब्युटी पार्लर गएनन् । अर्थात दिल फुकाएर तीज मनाउन सकेनन् । चाहेर यस्तो गरेका थिएनन् । यथार्थ के हो भने आफ्नो साथमा पैसा नभएकै कारण महिलाले तीज मनाउन सकेनन् । श्रीमतीका श्रीमान्हरूले पनि उस्तो पैसा उडाएनन् । किनभने पैसा आउने बाटो छैन र जमाना पनि महँगाइको छ । एक दिनको रमाइलो गर्ने पैसाले एक हप्ताको घर खर्च चल्छ भन्ने बुझेपछि यसपटकको तीजमा रमझम कम हुन पुग्यो । पोहोर परार यस्तो कमै हुन्थ्यो, धेरैले खर्च गरेका थिए । यस्तो किन भएको होला ? झ्यास्स हेर्दा त तीजमा फजुल खर्च नभएकै राम्रो भन्ने लाग्छ तर यो फजुल खर्चसँग भन्दा पनि जनताको गोजीसँग सम्बन्धित विषय हो । किन यस्तो भइरहेको छ ? यसलाई कसरी रोकेर, सुधार गरेर, नयाँ अवस्था तयार पारेर जनताको गोजीमा पैसा पु¥याउने भन्ने विषयमा खै त छलफल भएको र उपायको खोजी गरेको ? के यस्तै गरेर देश चल्छ ? भित्रभित्रै चलिरहेको असन्तुष्टिको प्रवाह कतिसम्म तेज छ भनेर कसैले सोचेका छैनन् । किन नेताहरू स्वयं नै जातीय तथा धार्मिक सौहाद्र्रता खल्बल्याउने प्रयास भइरहेको छ भन्दै छन् ? परिस्थितिको जायजा लिन यही वक्तव्य काफी छ नि !
अरु कुरा पनि छन् भन्नैपर्ने । लुम्बिनी प्रदेश र बागमती प्रदेशपछि अब सबै प्रदेशमा देखाउनकै लागि भए पनि थोपरिएको नेतृत्व स्वीकार नहुने परिस्थिति एमालेमा निर्माण भएको छ । अहिले बनेको यो परिस्थितिको सन्देश सकारात्मक छ । अबका दिनमा सक्षम व्यक्तिले नेतृत्वमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिदिएको छ । मूल नेतृत्वले यो कुरा कत्तिको बुझेको छ कुन्नि । कुनै पनि कुराको सीमा हुन्छ । भावनात्मक भएर भन्दा अति साह्रै नगर्नु भनिन्छ तर सिद्धान्तको हिसाबले भन्दा अलोकतान्त्रिक चरित्र बेठीक हो । एमालेले धेरै काम कारबाही लोकतान्त्रिक विधिभन्दा बाहिर गएर ग¥यो भनी एमालेबाहेकका सबैले भन्छन् । एमालेभित्रै पनि, तर अफ दि रेकर्ड, यस्तो भन्ने धेरै छन् । देशको उच्चतम न्यायालयको त फैसला नै छ भलै त्यो एमालेको एउटा पंक्तिले नमान्ला । स्वर्गीय सुवासचन्द्र नेम्वाङले पनि जीवनको अन्तिमतिर नेतृत्वको थिचोमिचोबारे एक समारोहमै प्रतिवाद गरेर जानकारी गराएका थिए । हिन्दीमा एउटा प्रख्यात भनाइ छ ‘जब जागा तब सबेरा’ । नेकपा (नेकपा) धुजाधुजा भएको पनि अलोकतान्त्रिक, तानाशाही, दम्भी र मैमत्तावादी चरित्रको कारणले नै हो । प्रवृत्ति अझैसम्म सुधारिएको देखिन्न तर त्यसप्रति असहमति प्रकट हुन शुरु भएका छन् । यो राम्रो संकेत हो ।
नेकपा (एमाले), माके र एसले पनि विभिन्न नामका अभियानहरू चलाइरहेका छन् । यसको अन्तिम एपिसोड एसले चलाएको छ । तर यिनीहरूका अभियान केवल मेरो ÷हाम्रो दलमा आबद्ध हुन आउनुस् भन्ने विषयमा केन्द्रित छ । जनजीविकाका मुद्दा यी अभियानमा देखिन्नन् । तीज किन फिक्का भयो यसपटक भनेर यिनले मन्थन गर्दैनन् । दसैँमा खसी काट्ने योजना छ कि छैन भनेर पनि सोध्दैनन् । कसरी के भनेर, फकाएर हुन्छ कि लोभ्याएर हुन्छ पार्टी प्रवेश गराउने धन्दा चलिरहेको छ अभियानको नाममा । महँगाइबारे के छ धारणा ? अहँ, चुप । बेरोजगारीबारे के छ धारणा ? अहँ, चुप । गरिबीबारे के छ धारणा ? अहँ, चुप । यही हो समाजवादी चिन्तन र काम ? यस्तै हुन्छ संगठन बनाउने÷विस्तार गर्ने तरिका ? यसरी निर्माण हुन्छ समाजवादी संस्कृति ? जनतालाई अपिल गर्ने के तत्व छ आज यहाँहरूसँग र जनता तपाईंहरूको संगठनमा आबद्ध हुनलाई ! जनताले आशा गर्ने, भरोसा गर्ने आधार के छ ? एकले अर्कोलाई गाली गर्ने, खुइल्याउने, कम्युनिष्टलाई, कम्युनिष्ट विचारधारालाई बदनाम गर्नेबाहेक जनतालाई लाभ अन्य हुने कुनै काम भएको छ ? छैन । ओली, माधव र प्रचण्डका स्टेटमेन्ट सुनौँ– थाहा भइहाल्छ । जनतालाई अपिल गर्ने केही कुरा हुन्छ । पहिलो त विचारधारा र त्यसलाई लागू गर्ने योजना र नेतृत्व हो । दोस्रो भनेको नेतृत्वको स्वच्छ छवि र आचरण हो र तेस्रो भनेको जनतासँग भिजेका कार्यकर्ता हुन् । के आजको नेतृत्वले कुनै पनि प्रकारका दाग लागेका मानिसलाई बिनाकुनै बहाना पार्टीको काम कारबाहीबाट बाहिर राख्न सक्छ ? के मैले भ्रष्टाचार गर्दिनँ भनेर स्पष्ट पार्न सक्छ ? आचरण, व्यवहारले आफूलाई वामपन्थी हो भनेर खरो उत्रिन सक्छ ? यसकारण आजको समस्या तल होइन माथितिरै छ । पानी र पार्टीलाई स्वच्छ राख्ने माथि नै हो । जति धेरै माथि स्वच्छ, उति धेरै तल सफा ।
टिप्पणीहरू