टोपबहादुरले हिसाबकिताब खोजेको त्यो दिन
– राजु क्षेत्री
क्रान्तिकारी पत्रकारका आँखाले दुई दशकअघि भोगेको समाज र त्यो समाजले देखेका सपना आजको आँखाबाट हेर्दा कस्तो लाग्ला ? ग्रामीण समाजको हिजोको त्यो क्रान्तिकारी रोमाञ्चकता आज त्यही रूपमा जीवन्त छ कि फेरियो होला ? समयक्रमसँगै सायद त्यो बदलिएको हुनुपर्छ ! कुन रूपमा फेरियो होला र जनताका घर– घरमा डेरा जमाएर बसेका त्यो समयका क्रान्तिकारीलाई आजको समाजको आँखाबाट हेर्दा कस्ता देखिएलान् ?
मनमा चलेको नमरिसकेको क्रान्तिको उफान बोकेर यात्रामा निस्कें । जनयुद्धको उत्कर्षका बेला पार्टीले अघि सारेको दुश्मनलाई ढाडमा टेकेर टाउकामा हान्ने योजनाका बेला स्याङ्जामा थिएँ, माओवादीका तत्कालीन ब्युरो इञ्चार्ज टोपबहादुर रायमाझीसँगै । उनीसँग त्यो बेला पाल्पा–स्याङ्जा–गुल्मी–अर्घाखाँचीको यात्रामा निस्कँदै गर्दा दुई दशकअघि हिँडेका बाटा स्मृतिमा घुम्न थाले । माओवादीको राम्रै प्रभाव क्षेत्र बनिरहेको स्याङ्जातिर अचेल चामलमा बियाँ खोजेजस्तो अवस्थामा पुगेका रहेछन् माओवादी । स्याङ्जा हुँदै पाल्पा पुगेर माओवादीले भत्काएको र पछि पुनर्निर्माण गरेको दरबार पसें । त्यहाँ निर्माण गरिएको संग्रहालय अवलोकन गरें । स्थानीयले भन्दै थिए– माओवादीले जलाएको यो दरबारको सराप लाग्छ तिनीहरूलाई । यसो भन्नेहरू त्यहाँका व्यापारी थिए ।
पाल्पा हुँदै गुल्मी–अर्घाखाँचीतिर लागेँ । जनयुद्धताका माओवादी नेत्री क. शिलुको नेतृत्वमा त्यहाँ आधा दर्जन निहत्था मानिस मारिएका रहेछन् । त्यही बेला टोपबहादुरले जिल्लाको बैठकमै भनेका थिए– ‘निहत्था मान्छे मार्ने जसको आदेश भए पनि यो अपराध हो । पछि कुनै न कुनै दिन हिसाब दिनुपर्छ जनतालाई ।’ टोपबहादुरको त्यो भनाइले बैठक हल नै स्तब्ध भएको थियो । हातमा बन्दुक बोकेका माओवादीका अनुहारमा सन्नाटा छाएको थियो । सायद आफ्ना बुबाको साथी र केही सामाजिक कार्यकर्ता माओवादी कमाण्डरका सनकमा मारिएको कुरा टोपबहादुरलाई मन परेको थिएन ।
म अर्घाखाँचीबाट मधेस झरेर बुटवल आएँ । जनयुद्धको विसर्जनपछि ०६३ मा पार्टीले आयोजना गरेको ब्युरोस्तरीय भेला कपिलवस्तुस्थित चन्द्रौटाको जुत्ता कारखानामा ३ दिन चलेको ठाउँ हेर्न मन लाग्यो र त्यता गएँ । वैशाखको प्रचण्ड गर्मीमा छाला–जुत्ता कारखानाको पुरानो फोहोर पन्छाएर बनाइएको हलमा ३ दिन सुतियो । अहिले सम्झिँदा लाग्छ– माओवादीले के उद्देश्य पूर्ति गर्न त्यस्तो फोहोर थुपारेको ठाउँमा लगेर आफ्ना कार्यकर्ता राखेको होला ?
सायद हामी भेडा नै थियौँ त्यो बेला । नेताले जे भन्यो – हस् भन्ने । त्यसपछि बुटवल निस्केर पाल्पाको रामपुर आएँ । जनयुद्ध कालभरि माओवादीको गण्डक राजधानी भनेर चिनिने त्यो ठाउँ कस्तो भयो हेर्ने ठूलो कौतुहलता थियो । माओवादीले महिनाँै अड्डा जमाएर बसेको त्यो ठाउँ काली गण्डकी किनारको ठूलो बस्ती हो । ऊ बेला पूरै बस्ती माओवादीमय थियो । सम्झिँदा पनि छुट्टै अनुभूति हुने रामपुर अब उहिलेको रामपुर रहेन । माओवादीको कुरा गर्दा एकाध मान्छे, त्यो पनि जनयुद्ध लडेका– त्यो बेला पार्टीलाई सहयोग गरेका मात्र आजको माओवादीमा बाँकी रहेको थाहा पाएँ । रामपुर पुरानो रामपुर रहेनछ । ठुल्ठूला घर, सबैतिर पक्की बाटो । नयाँ मान्छेले भरिएकाले होला एकदम नयाँ लाग्यो ।
एउटा आस्थाको भावसहित रामपुर गएको, त्यहाँ पुग्दा मन नै भरंग भयो । आस्थाको शहर त भग्न भइसकेछ । गह्रौँ मनसहित कालिगण्डकी तरेर बिरुवा हुँदै स्याङ्जाको वालिङ निस्कें । २०५८ मा माओवादीले आक्रमण गरेको स्याङ्जा बजार फर्केर आइपुगें ।
माओवादीले १ दशक लडाइँ लडे, मरे, मारे । क्रान्तिको आँखाबाट हेर्दा महान् बलिदान गरे तर आजको आँखाबाट हेर्दा, आम जनताका जीवनको आँखाबाट हेर्दा – अर्थ न बर्थ गोविन्द गाईजस्तै भयो ।
फर्केर घर आएपछि – खण्डहरमा पसेर आएको जस्तो मन विरक्तियो । लगत्तै काठमाडौं जाने काम प¥यो– मित्र मनऋषि धितालको डेरामा १ हप्ता बसें । जनादेश साप्ताहिकका तत्कालीन सम्पादक । क्रान्तिकारी पत्रकारिताको आधारस्तम्भजस्तै मेरा मित्र आजको दिनमा जीवन चलाउन नसकेर विदेश गए र पनि जीवन उस्तै सर्वहाराकै अवस्थामा छ । उनीसँग राजधानीका बाटो–गल्ली फन्का मारें । भन्दै थिए– यो घर हाम्रा पार्टीका फलाना नेताको, त्योभन्दा पल्लो घर फलानाको ।
उनीसँगै माओवादीको हेडक्वार्टर पेरिसडाँडा गएँ । चौरभरि माओवादी नेता चढ्ने मोटरको लर्को । मोटरको भीडबीच एउटा अर्को मोटर मान्छेलाई ठेलम्ला झैँ गर्दै अघि बढ्यो । कसैले भन्यो – ए ! उतै राख न । किन यता ल्याएको ? ड्राइभरले रन्किँदै भन्यो– प्रधानमन्त्रीकी छोरी चढ्ने मोटर हो यो, चिनेर कुरा गर ।
आमा सीता दाहाललाई श्रद्धाञ्जली चढाउन गएका हामी हेरेको हेर्यै भयौँ ।
काठमाडौं बसाइकै क्रममा एक मित्र जसले माओवादी भागमा परेको संस्थामा नियुक्ति पाएका छन्, उनको सरकारी मोटर चढेर घुम्न निस्क्यौं । पार्टी–क्रान्ति–वर्ग–जनपक्षीय पत्रकारिता आदिका कुरा भए । मोटरमा मैले जीवन शर्माको लोकप्रिय गीत गुन्गुनाउँदै थिएँ– बन्दुक गोली देखाएर गरिब तर्सायो, नतर्सिने युवालाई लाठी बर्सायो । हजारौं घुस खायो हाम्रो नामबाट, घुस खाने घुस्याहालाई खेदौँ गामबाट ।
अघिल्लो सिटमा बसेका साथीले सम्झाए– राजुजी ! यस्तो गीत नगाउनुस् यता आउँदा । माओवादी नेतालाई मन पर्दैनन् यस्ता गीत । व्यंग्य ठान्छन् । म खिस्रिक्क परेँ । काम विशेषले युएइको शहर दुबई जान काठमाडौं गएको थिएँ । त्यहाँ पुग्दा गैरआवासीय नेपालीको चुनावी रौनक रहेछ । जनयुद्धकालमा मेरा मित्र हरि नेपाली पनि त्यहीं थिए– उनको फेसबुक स्टाटस हेरें, लेखिएको थियो– ‘उनीहरूले त विदेशी नागरिकता लिएर छोराछोरीलाई विदेशी नागरिक बनाए, ठीकै थियो, एनआरएन नामक हरियो पासपोर्टको हड्डी फ्याँकिदिए र हामीलाई एकापसमा लडाएर तमाशा हेरी बसिरहेका छन् ।’
गाउँबाट पढ्न शहर आएको केटो माओवादी भयो र युद्धमा हिँड्यो । युद्ध सकियो । बाँच्नका लागि खाडी हिँड्यो र पनि ऊभित्र माओवादको आस्था मरेको छैन । उसको मर्न बाँकी विचारको, आस्थाको घोडा चढेर माओवादीहरू विदेशमा पनि उसलाई शासन गरिरहेका छन् र उसलाई त्यहाँ पनि पार्टीको निर्देशन आउँछ– कमरेड ! तपाईहरू श्रम गर्न गएको मान्छे एनआरएन चलाउन सक्न्नुहुन्न, फलानो व्यवसायी हाम्रो मान्छे हो, उसलाई अध्यक्ष बनाउनुस् है !
माओवादी नामक पार्टी सदस्यताको चिर्कटो गोजीमा बोकेर नयाँ अध्यक्षलाई मुठ्ठी उचाल्दै ऊ सलाम गर्छ र खुशीले उफ्रिँदै भन्छ– ‘अध्यक्ष हाम्रो पार्टीले जित्यो ।’ पाइन्टको फस्नर खोलेर मलाई भन्न मन थियो– यी... जित्यो तेरो पार्टीले । फटाहाको पार्टीले जित्यो भन् न ! तर, मैले साथीको आस्थामाथि चोट पुर्याउन चाहिन र भनेँ– बधाई कमरेड !
टिप्पणीहरू