बिदेशी कतिपयको नेपालमै बिजोग

बिदेशी कतिपयको नेपालमै बिजोग

नेपाल घुम्न आएकी अमेरिकी नागरिक अन्ना सोफिया गत वैशाख १६ गते ठमेलस्थित पर्यटक प्रहरीकहाँ पुगिन् । ७२०६४५०७६ नम्बरको राहदानी र नगद चोरी भएपछि खान, बस्नकै समस्या भएको भन्दै हारगुहार गरिन् । अप्ठेरोमा परेकी अन्नालाई प्रहरीले काठमाडौंस्थित मानवसेवा आश्रम पठाइदियो । हालसम्म पनि सोही आश्रममा आश्रय लिइरहेकी छन् । उनलाई स्वदेश फर्काउने पहलका निम्ति आग्रह गर्दै प्रहरीले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको छ । 

फ्रेञ्च पर्यटक एलेन जेन युइमेनर गत जेठ १४ गते काठमाडौंको नयाँ बसपार्क एरियामा बेवारिसे अवस्थामा फेला परे । २२ सिएफ ००९५० नम्बरको राहदानी र नगद हराएपछि अलपत्र परेका उनलाई पर्यटक प्रहरीले सोधखोज गरी सोही दिन मानवसेवा आश्रम पठाएकोमा असार २६ गते उनकै देश फिर्ता पठाइएको छ । 

आइरिस नागरिक टिमोथी डेन्नही मानसिक रोगबाट थलिएका छन् । राहदानी नम्बर पिडब्ल्यू ६४०३५१६ भएका उनलाई मलेशिया प्रवेशमा रोक लगाइएको छ । मलेशियाले ‘अफलोड’ गरेको पर्यटकलाई नेपालको अध्यागमन विभागले भने भित्र्याएको हो । गत जेठ २३ गते थापाथलीस्थित नर्भिक अस्पतालमा स्वास्थ्यकर्मीमाथि उनले हातपात तथा अभद्र व्यवहार गरेका थिए । 
त्यसपछि अस्पतालले तत्काल पर्यटक प्रहरीलाई खबर गरेको थियो । हाल खुमलटारस्थित ट्रान्सक्युटिरी हस्पिटलमा उपचार भइरहेको र दुई लाख रुपैयाँभन्दा

माथि खर्च भइसकेको छ । उक्त बिल कसले तिर्ने ? भनेर प्रहरी पर्यटक नै अलमल्ल परेको छ । अस्पतालले उपचार खर्च चुक्ता गर्न र बिरामीलाई लैजान ताकेता गरेको ग¥यै छ । यता, प्रहरीले भने दिल्लीस्थित आइरिस दूतावासका प्रतिनिधिसँग सम्पर्क गरिरहेको छ । 

५१ वर्षीय मोल्दोभियन नागरिक ट्रारिस ट्रानासोफले ठमेलमा विभिन्न उच्छृङ्कल गतिविधि गर्दै आएका थिए । एबी ०२०४३३१ नम्बरको पासपोर्ट बोक्ने उनका हर्कत पर्यटक प्रहरीकहाँ पुग्यो । पर्यटक भीसा नवीकरण नै नगरी गैरकानुनी रुपमा नेपाल बस्दै आएका उनलाई पक्राउ गरेर अध्यागमन विभागमा बुझाइएको छ । अर्का एक क्यानेडियन नागरिकलाई प्रहरीले उसैको कन्सुलेट कार्यालयका प्रतिनिधि जीवन ढुङ्गेलको जिम्मा लगाएको छ । राहदानी नम्बर एएच ४२९२९५ भएका उनी भीसाको म्याद समाप्त भए पनि नेपालमै बस्दै आएका थिए । 

यी त केही प्रतिनिधि पात्र मात्रै हुन् । विभिन्न मुलुकबाट नेपाल घुम्न आएका विदेशी नागरिक बेलाबखत यस्तो समस्यामा परिरहन्छन् । र, तिनलाई सहयोग गर्ने भनेकै पर्यटक प्रहरी हुन् । यी प्रहरीले आपतविपतमा परेका पर्यटकको अभिभावकत्व निर्वाह गरिरहेका छन् । तर, वास्तवमा भन्ने हो भने पर्यटक प्रहरीकै अवस्था नाजुक छ । विदेशी नागरिकको उद्धारमा खटिन पर्याप्त बजेट नहुँदा उनीहरु आफैं अप्ठेरोमा परेका छन् । 

‘जोगीको घरमा सन्यासी पाहुना’ झैंको अवस्थामा छन्, ती । समस्या परेका पर्यटकलाई एक छाक खुवाउन पनि सक्दैनन् । ठूलो जिम्मेवारी तर सामान्य सहयोगका लागि पनि अरुको मुख ताक्नु र उद्दार गर्नु पर्यटक प्रहरीको नियति बनेको छ । 

यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका योजना प्रमुख तथा सहसचिव राजेन्द्रकुमार केसी मानवताबाट कोही पनि पन्छिन नमिल्ने बताउँछन् । ‘यो विषयमा मन्त्रालयमा छलफल हुँदा कुरा राख्छौं । मानवताबाट कोही पनि पन्छिन मिल्दैन’ भन्न त उनले यसो भनेका छन् । 

पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपका प्रमुख (नायव उपरीक्षक) सुगन्ध श्रेष्ठ पर्यटकको सुरक्षा र सहज बसाइमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । पर्यटनले विदेशी मुद्रा आर्जन गर्न, रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले भने, ‘सरकारले मुलुकको विभिन्न पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरी धेरैभन्दा धेरै पर्यटक भिœयाउने लक्ष्य राखेको छ । त्यसैले पर्यटकको संख्या बढाउने काम, कुरा र योजना गर्दै गर्दा सरकारले उनीहरुको सुरक्षाको पाटोलाई ध्यान दिनुपर्छ । ’

नेपाल घुम्न आएका पर्यटकको सुरक्षा र सहजीकरण गर्दै आएका पर्यटक प्रहरीसामु गत आर्थिक वर्ष २०७९ मा पाँच सयभन्दा बढी उजुरी आएका छन् । गत वर्षको साउनदेखि असारसम्म पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपमा पाँच सय ३२ उजुरी दर्ता भएका थिए । नेपालमा असोज, कात्तिक र मंसिर महिना सबैभन्दा बढी पर्यटक आउने सिजन हो । त्यसपछि चैत, वैशाख र जेठ महिनामा धेरै पर्यटकहरु भित्रिन्छन् । जति धेरै पर्यटक भित्रिन्छन्, त्यति धेरै उजुरी आउने सम्भावना पनि बढ्छ । सोहीअनुरुप गत आर्थिक वर्षको चैत, वैशाख र जेठ महिनामा सबैभन्दा धेरै उजुरी परेका छन् । 
 

टिप्पणीहरू