सदाबहार बनवारीलाल
नेपालमा लब्धप्रतिष्ठित व्यवसायी तथा समाजसेवीको छवि बनाएका स्वर्गीय बनवारीलाल मित्तलको बहुआयामिक व्यक्तित्वको योगदानलाई समष्टिगत गरी स्मृति ग्रन्थ प्रकाशित भएको छ । उनका आफन्त, इष्टमित्र तथा साथीभाइहरुले आ–आफ्ना सम्झनालाई लिपिबद्ध गरि मरणोपरान्त सम्मानका लागि ‘बनबारीलाल मित्तल, एक प्रेरणा पुरुष’ ग्रन्थ प्रकाशन गरेका हुन् ।
असल व्यक्तित्वका धनि बनवारीलाल व्यवसायी मात्र थिएनन्, मानवतावादी पनि थिए । उनमा मानवतासँगै अगाध करुणा र स्नेह थियो । सरल र मिलनसार स्वभाव उनको व्यक्तित्वको विशेष विशेषता मानिन्थ्यो । सफल व्यावसायीका रुपमा नाम कमाएका उनी कानुनका ज्ञातासते थिए । धर्म, संस्कृति र संस्कारको रक्षा गर्नुपर्ने मान्यतामा मित्तल सँधै गम्भीर रहे । ‘नेपाली समाजलाई धर्म संस्कृतिले पनि धनी बनाउनुपर्छ’ भन्नेमा उनको अटल विश्वास थियो ।
मृदुभाषी र कर्मवीर त उनी थिए नै, समाज सेवा र राष्ट्रभक्ति उनको अर्को विशेषता थियो । कसैसँग ठूलो हुन नखोज्ने, कसैलाई नचिढाउने र सक्दो सहयोग गर्ने उनको व्यक्तित्वको सबिस्तार प्रकाशित ग्रन्थमा लिपिबद्ध छ ।
२०७२ सालको महाभूकम्पका बेला राहत र उद्धारका लागि दिनरात खटेका बनवारीले रक्षा र गृहमन्त्रालयको उद्धार कार्यक्रमअनुसार जनशक्तिसहित आफ्ना हेलिकप्टरहरु परिचालन गरेका थिए । करिब एक सय क्विन्टल खाद्यान्न, हजारौँ त्रिपाल, लत्ताकपडा बाँडेका थिए भने पीडितलाई खानपानसहितको आश्रय दिएका थिए ।
भारतबाट समेत ठूलो मात्रामा राहत सामाग्री ल्याउन राष्ट्रसंघमा कार्यरत आफ्ना छोरामार्फत् सहजकर्ताको भूमिका निभाएका उनले प्रकोपका बेला कति बाँडे, कति दिए भन्नेकुरा अरुलेझैँ कहिल्यै सार्वजनिक गरेनन् । समाज सेवालाई जीवनको अभिन्न अंग बनाएका उनले कहिल्यै त्यसको प्रतिफल नखोजेको उनलाई नजिकबाट चिन्नेहरूको टिप्पणी छ ।
तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुरले आमन्त्रण गरेर एक सय ७० वर्ष अगाडि उनका पुर्खालाई भारतबाट नेपाल बोलाइएको थियो । प्रतिष्ठित घरानालाई नेपाल भित्र्याउन त्यतिबेला ‘बत्तिसकोठी साहु महाजन’ का रुपमा बनवारीलालका पुर्खालाई काठमाडौं झिकाइएको थियो । ग्रन्थमा पूर्वमुख्यसचिव एवम् पूर्वराजदूत दामोदरप्रसाद गौतमले यसबारे थप प्रष्ट पारेका छन् ।
वि.सं. १९५२ चैत १० गते काठमाडौंको इन्द्रचोकमा जन्मेका बनवारीलालबारे सोही स्मृति ग्रन्थमा विष्णुप्रसाद खत्री लेख्छन्, ‘उहाँमा सर्वसाधारणदेखि राज्यका शक्ति केन्द्रसम्म निर्भिक भै सम्बन्ध कायम गर्नसक्ने क्षमता थियो । धनीमानी भएर पनि उहाँमा उत्ताउलोपन, आडम्बर र बढाईचढाई गर्ने प्रवृत्ति बिल्कुलै थिएन ।’
यसैगरी कांग्रेस नेता डा. शेखर कोइरालाले लेखेका छन्, ‘उहाँ औद्योगिक तथा व्यावसायिक क्षेत्रमा चम्किला व्यक्तित्व हुनुहुन्थ्यो ।’ पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बनवारीलाललाई खुला हृदयको फूर्तिलो, मिजासिलो र सरल व्यक्तिका रुपमा स्मरण गरेका छन् ।
त्यसैगरी, महानायक राजेश हमालले पनि पुस्तकमा बनवारीलालको व्यक्तिबाट आफू प्रभावित भएको लेखेका छन् । ‘मेरो बुबाको मात्र नभएर मेरो घर परिवारसँग उहाँको पनि घरपरिवारको सामिप्यता जोडिएर प्रगाढ पारिवारिक मित्रता कायम भएको थियो,’ हमालले चर्चा गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता अर्जुन नरसिंह केसी, राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिल थापा, काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की, पञ्चायतकालका नेता बालाराम घर्तिमगर, पूर्वमन्त्री तथा लोसपाका नेता राजेन्द्र महतोलगायत शीर्ष राजनीतिक नेताहरुले पनि बनवारीलालसँगको सम्बन्ध र उनको व्यक्तित्वका विविध पक्षबारे पुस्तकमा लेखेका छन् ।
यस्तै, नर्भिक अस्पतालका अध्यक्ष तथा समाजसेवी वसन्त चौधरी, पूर्वगभर्नर दिपेन्द्रपुरुष ढकाल, पूर्वमुख्यसचिव विमल कोइराला, पत्रकार पुरु रिसाल, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, पद्य्म ज्योति, निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जयराम लामिछाने, द्वारिका होटलका मालिक अम्बिका श्रेष्ठ, समाजसेवी अंगुरबाबा जोशी, नरोत्तम वैद्य, पत्रकार प्रतिक प्रधानलगायत व्यक्तिहरुले पुस्तकमा स्वर्गीय बनवारीलालको व्यक्तित्वबारे आफ्ना धारणा राखेका छन् ।
दक्षिण एसियामै निजी क्षेत्रको सबैभन्दा बढी हवाई उडान सञ्चालन गर्ने क्षमता बनाएका बनवारीलालका छोरा सुधीर मित्तल श्री एयरलाइन्सका सञ्चालक हुन् । संयुक्त राष्ट्रसंघमा समेत काम गरेका उनले पुस्तकमा आफ्ना पिताको व्यक्तित्वको चर्चा गरेका छन् ।
टिप्पणीहरू