एउटैलाई काखी च्याप्नु पर्ने हो र !
-सोविता गौतम, सांसद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
च्छोरोल्पा मिडिया चलाउँदै, दुःख–अप्ठेरोमा परेका चेलीबेटीका मुद्दामामिला बोकेर हिँड्दाहिँड्दै दोलखा, भीरकोटकी सोविता गौतम प्रतिनिधिसभामा काठमाडौं– २ बाट चुनाव जितेर देशकै कान्छी सांसद भएकी छन् । २७ वर्षको उमेर पुगेकी उनी सांसद नभएकी भए लण्डनमा स्नातकोत्तर अध्ययनका निम्ति जाने सोचाइमा थिइन् । त्यसका लागि छात्रवृत्तिको आवेदन भरेर नतिजाको पर्खाई थियो । राजनीति नै गर्छु भनेर चुनावअघि खासै तम्सिएकी होइनन् । मावलीखलक बालकृष्ण शिवाकोटीहरू एमालेमा पनि ओलीका निकट छन् । त्यसैले उनलाई दोलखालीले एमालेकै रूपमा हेर्थे । तर, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेर पनि जितेपछि सबै चकित परेका छन् ।
अहिले दैनिकी फेरिएको छ । बिहानैबाट तनाव शुरु हुन्छन्, कोटेश्वरको बालकुमारी पुलदेखि सिन्धुपाल्चोकको सिमाना पर्ने पटाप गाउँसम्मका दुःख, व्यथामा खेल्दै । नेपालले क्रिकेटको विश्वकप प्रिफाइनल खेल जित्यो, कीर्तिपुरस्थित घाँसे मैदानमा । दर्शकले बस्ने, हेर्ने ठाउँ नपाउँदा रुख–रुखमा झुण्डिएर खेल हेरेका तस्बिर देश–विदेशमा छरिँदा सोविता लज्जित भइन् । किनभने, उनकै निर्वाचन क्षेत्रमा पर्ने मूलपानीमा अत्याधुनिक क्रिकेट रंगशाला निर्माणाधीन छ । सरकारको बेवास्ताका कारण काम अघि बढेको छैन । भोलिपल्टै प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न गइन् र उक्त रंगशाला निर्माणलाई द्रूतता दिन माग गरिन् । प्रधानमन्त्रीकी छोरी मेयर रहेको भरतपुर महानगरमा पनि त्यस्तै रंगशाला निर्माणाधीन छ । थाहा छैन, प्रधानमन्त्रीले छोरीको शहरमा बन्दै गरेको रंगशालातिर ध्यान दिन्छन् कि सोभिताको क्षेत्रलाई ? उत्तरीभेगका गाउँहरू नाङ्लेभारे, जहरसिंह पौवा, चौकी भञ्ज्याङ, लप्सीफेदीतिर चितुवा आतंक छ । साँखु झरेपछि शहरी व्यवस्थापनका अनेकन चुनौती शुरु हुन्छन् । त्यहाँबाट सलम्बुटार, मूलपानी, गोठाटार, काँडाघारी हुँदै पेप्सीकोला टाउनप्लानिङसम्म पुग्दा देशभरिबाट बसोबासका निम्ति आएका मानिस झेल्नुपर्छ, तिनका समस्या र पीडासँग साक्षात्कार गर्नुपरेको छ । पुरानो र नयाँ सिनामंगल हुँदै कोटेश्वर, गौशाला, पशुपति क्षेत्रका समस्या त झन् ‘राष्ट्रिय’ नै छन् । विगतमा मनमोहन अधिकारी, मदन भण्डारी, माधवकुमार नेपालहरूले समाधान गर्न नसकेका समस्यासमेतको चाङ बोकेर उनी उक्त क्षेत्रको सांसद भएकी हुन् ।
– हरि गजुरेल
राजनीति के रहेछ ? चुनावमा उठ्नुअघि र जितेपछिको अनुभव सुनाउनु न !
– राजनीतिअघिको स्पिरिट छुट्टै खालको, आगोजस्तै थियो । अहिले भइरहेको अवस्थालाई परिवर्तन गर्छु भन्ने जोश थियो । विगतको अवस्था सर्ट आउट गर्छु, बदल्छु भन्ने आवेग, जोश, जाँगरले ओतप्रोत भएरै मान्छे राजनीतिमा आउने हो । रास्वपा स्थापना भएदेखि नै सो पार्टीमा आबद्ध भई राजनीतिमा अगाडि बढिरहेका थिएँ । यही पार्टीबाट समाज बदल्न सक्छौं भन्ने विश्वासले नै राजनीतिमा आएका कारण माहोल छुट्टै किसिमको थियो । शहरीदेखि ग्रामीण भेग, काठमाडौं क्षेत्र नम्बर २ ठूलो छ । मतदातालाई प्रत्यक्ष भेटेर युवा नेतृत्व भएकोले तपाईंंहरूलाई नयाँ केही गरेर देखाउन सक्छु भन्थेँ । सबैभन्दा ठूलो चुनौतीचाहिँ मेरो पार्टीको संगठन थिएन । घर घरमा गएर कुरा गरेकै कारण होला अपत्यारिलो माया र ममता प्राप्त भयो । पहिला लाग्थ्यो कि, निर्वाचित भइसकेपछि धेरै कुरा बदल्न सकिन्छ तर सबै कुरा आफूले सोचेजस्तो सहज नहुँदो रहेछ । संसदीय अभ्यासभित्र थुप्रै जटिलता रहेछन् । यसैभित्र उत्तम काम कसरी गर्न सकिन्छ भनेर सिक्दै छु । अझै पनि जोश, जाँगर मरेको छैन ।
अरुलाई चुनाव जित्न धेरै पैसा चाहिने, महिनौंदेखि तयारी गर्नुपर्ने । तर, तपाइँले त ३ लाख खर्चमै जित्ने ! कसरी यस्तो हुन्छ ?
– एक किसिमको भाष्य नै स्थापित भएको रहेछ कि भोट भनेको पैसा हो तर भोट भनेको जनताको माया पनि रहेछ । काठमाडौं क्षेत्र नम्बर २ भनेको नमुना क्षेत्र हो । युवा पुस्ताको आवाजमा विश्वास गर्ने मतदाता साँच्चै नमुना मतदाता हुनुहुन्छ । उहाँहरूले एउटा युवा पुस्ता, जसले सपना देखाएको छ । त्यसैलाई गर्नुभएको विश्वास हो यो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको परिणामलाई प्रमुख दलहरूको कार्यशैलीविरुद्धको अभिमत हो भन्छन्, स्वीकार्नुहुन्छ ?
– यसमा धेरै फ्याक्टर मिसिएको छ । हामी संसदको चौथो ठूलो शक्ति बन्यौं । एउटा कारण पुरानो दलको कार्यशैलीप्रतिको वितृष्णा पनि हो । यसका अलावा युवा पुस्ता राजनीतिमा आउनुपर्छ, नेतृत्व तहमा पुग्नुपर्छ भन्ने समयको माग पनि हो । देशको कूल जनसंख्याको झण्डै ४० देखि ४२ प्रतिशत युवा पुस्ताले ओगटेका छन् । ०६२÷६३ को आन्दोलनपछिको समयलाई मूल्यांकन हेर्ने हो देश, राजनीति उही पुरानै शैली र अभ्यासमा अगाडि बढिरहेको छ ।
तपाईंंको निर्वाचन क्षेत्र मदन भण्डारी, मनमोहन अधिकारी, माधव नेपालहरूले चुनाव जित्दै आएको ठाउँ हो । त्यहाँका जनताले ती नेताबाट नपाएको र अहिले तपाईंंसँग माग गर्ने कुरा के–के हुन् ?
– चुनावी दौरानदेखि अहिलेसम्मको अनुभव सुनाउँदा, त्यहाँका मतदाताले माया मात्र खोज्नुभएको रहेछ । हाम्रो कुरा सुनियोस्, हाम्रो ठाउँमा समय–समयमा आइदिनोस् । गुनासा सम्बोधन गरिदेओस्, सदनमा लगेर उठाओस् । भाषणमात्र होइन, गर्न सक्ने कुरा गरेर देखाओस् । त्यहाँका मतदाताले नेतालाई माया गर्नुहुँदोरहेछ तर समयको माग हो फरक टेष्ट खोज्नु, त्यो आवश्यकता पनि रहेछ । मदन भण्डारी महान् व्यक्तित्व, विद्या भण्डारी, कृष्णप्रसाद भट्टराईले पनि त्यहीँबाट जित्नुभएको । राजनीतिमा तगडा तगडा व्यक्तिले जितेर जानुभएको क्षेत्र, उहाँहरूले ममा पनि त्यो सम्भावना देख्नुभएर विश्वास गर्नुभयो ।
रास्वपा पनि सत्ताकेन्द्रित राजनीतिमा लाग्यो, अरु दलभन्दा खासै फरक भएन भन्दै छन् । कस्तो लाग्छ ?
– मतदाताले हामीलाई प्रतिपक्षमा बस भनेर म्याण्डेट दिएका थिए, हामी त्यो बुझ्छौँ तर संसदको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्ने स्थिति देखिएन । सोही कारण गठबन्धनको सरकारमा सामेल भयौँ । चौथो शक्तिको हैसियतले गठबन्धनको सरकार बन्दै गर्दा चुनावी वाचालाई न्यूनतम साझा कार्यक्रममा समावेश गर्न सफल भयौं । अब आउने नीति तथा कार्यक्रम र बजेटमा त्यही कार्यक्रमलाई समावेश गर्नेछौं । हामी परिणाममुखी राजनीति गर्छाैं भनेर आएका हौँ । क, ख, ग जसले गरे पनि जनताले परिणाम पाउनुप¥यो ।
एमालेका कारण तपाईंंहरूको पार्टीले सरकारमा उपप्रधानमन्त्रीसहित गृह र अरु महत्वपूर्ण मन्त्रालय पनि पाएको थियो । तर, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा एमालेलाई गुन तिरिएन । किन ?
– सरकारमा जाने, बाहिरिने, समर्थन लिने, फिर्ता लिने यस्तै हुँदो रहेछ राजनीतिमा ।
तर तपाईहरूको एमाले अध्यक्षसँग पनि उही खालको पिरती, प्रधानमन्त्री प्रचण्डसँग पनि उस्तै खालको प्यार तर उपराष्ट्रपतिको निर्वाचनमा न एमाले, न त गठबन्धनको उम्मेदवारलाई नै समर्थन । बरु सिके राउतको उम्मेदवार ममता झालाई सहयोग गर्नुभयो । तपाईंहरूको मत खेर गयो । यो त ढुलमुले चरित्र भएन र ?
– नेपालको राजनीतिमा माओवादी, कांग्रेस, एमाले नै ठूला दल हुन् । अरु साना दल भनेका यिनै ठूला दलका वरपर मात्र घुम्ने हुन् भन्ने भाष्य स्थापित भएको थियो । अहिले रास्वपाको १९ सिट छ । आफ्नो निर्णय गर्न सक्ने अधिकार हामीसँग छ । हामीले एउटैलाई काखा च्याप्नुपर्छ भन्ने छैन । कुन समय, कुन परिस्थितिमा के गर्दा ठीक हुन्छ सोही कुरालाई ध्यानमा राख्दै निर्णय गरेका हौं । अरु राजनीतिक खेल हुँदै गर्छन् तर परिणाम देखिने गरी कामचाहिँ होस् भनेर एउटा बाटो खोलिदिएको मात्रै हो ।
सरकारलाई दिएको समर्थन फिर्ता नलिनुमा तपाईंहरूको पार्टी सभापतिको राहदानी केसलाई जोडेर हेर्ने गरिएको छ । के भन्नुहुन्छ ?
– यसलाई जसरी पनि अथ्र्याउन सकिन्छ । हामी राजनीतिमा आउनु, सरकारमा सहभागी हुनु, नेपालको राजनीतिमा युवा पुस्ताले नयाँ–नयाँ मुद्दा उठाउनुमा रास्वपाले आफ्नो अधिकार, आफ्नो स्वविवेक प्रयोग गरेको हो । भाष्य त जस्तो पनि बनाउन सकिन्छ नि !
०५१/५२ सालताका, राप्रपाले कहिले सूर्यबहादुर थापा त कहिले लोकेन्द्रबहादुर चन्दलाई पालैपालो एमाले–काँग्रेससँग मिलेर प्रधानमन्त्री बनाउँथ्यो अहिले रास्वपा त्यस्तै संसदीय फोहोरी खेल खेल्दै गरेको आरोपबारे कत्तिको जानकार हुनुहुन्छ ?
– जनताले म्याण्डेट त प्रतिपक्षमै बस्नका लागि दिएका हुन् । सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार नबन्ने भएपछि अर्काे तरिकाबाट बन्ने भयो । त्यसैले मुलुक अनिर्णयको बन्दी नहोस् भनेरै समर्थन दिएका हौं र सरकारमा सहभागी भएका हौं । एक पटक सरकारमा गइसकेपछि समर्थन किन फिर्ता लिने भन्ने आधार वा कारण हुनुप¥यो । यस्तो स्थितिमा मनलाग्दा सरकारमा जाने, नलाग्दा बाहिरिने गर्नु भएन ।
संसदीय अभ्यास गर्न थाल्नुभएको तीन महिना भयो । कसरी चलेको रहेछ, हाम्रो संसद ?
– म कानुनकै विद्यार्थी, कानुनका दफावार पढेका कुरा मात्र हुँदा रहेछन् । दफा हेर्दा कति सजिलोजस्तो लाग्दथ्यो तर अभ्यास फरक हुँदोरहेछ । त्यो अभ्यासलाई अझै राम्रो गर्न पाइरहेको छु । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा बस्दाखेरी आफ्नो अनुभव अझै धेरै तिखार्ने मौका पाएको छु । मभन्दा सिनियर सांसद, पूर्वमन्त्री, पूर्वसांसदलगायत विद्वानसँग कुरा गर्न पाएकी छु । हामी नयाँहरूले किताबी कुरा धेरै लिएर आउँछौं भने उहाँहरूले व्यावहारिक कुरा ल्याउनुहुँदोरहेछ ।
तपाईंको नाम उपसभामुखको रूपमा एकदमै चर्चामा थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि इन्दिरा रानाभन्दा सोविता गौतम नै ठीक भन्नुभएको रहेछ तर पछि इन्दिरा राना मगरका लागि मैदान छाडिदिनुभयो । त्यसमा छाती चौडा गरिदिनुभएको हो वा अरु कुनै बाध्यता थियो ?
– उपसभाुमख रास्वपाले पाउने भएसँगै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा अनेकन टिप्पणी, अड्कलबाजी आइरहेका थिए । निश्चय पनि उपसभामुख भनेको संवेदनशील पद हो, त्यस्तो पदमा कानुन पढेको व्यक्ति जानुपर्छ भन्ने आवाज नउठेको होइन । तर, पार्टीले सो पदमा मलाई पठाए पनि ठीकै छ, अरुलाई मनोनयन गरे पनि ठीकै छ भन्ने व्यक्तिगत राय थियो । पछि पार्टीले रानालाई नै पठायो । त्यहाँ केही क्लष्टर मिलाउनुपर्ने बाध्यता पनि रहेछ ।
संसद्मा अब तपाईंलाई कुन भूमिकामा देख्न पाइन्छ ?
– तीन महिनामा धेरै हे¥यांैं सिक्यौं र जान्यौं पनि । अब मुद्दा स्थापित गर्ने समय हो । समाजका विकृति, विसंगतिलाई कानुनी हिसाबले कसरी सेटल गर्न सक्छौं भन्ने ढंगबाट काम गर्नेछु ।
टिप्पणीहरू