भूपनिधि गुरुको सम्मानमा केही शब्द
आजको जस्तो सजिलो कहाँ थियो र त्यतिबेलाको पत्रकारिता ? हातले लेखेर हप्ताको एकचोटी प्रकाशन हुने दिनसम्म भ्याउने गरी कुरियरबाट जिल्ला-जिल्लाका समाचार,लेख, विचारहरू पठाउनुपर्ने जमाना थियो त्यो । भर्खर ३० वर्षको एकतन्त्रीय अधिनायकवाद सकिएर बोल्ने,लेख्ने स्वतन्त्रता पाइएको अनि आफूले आस्था राखेको पार्टी र त्यसका नेता मनमोहन अधिकारी प्रधानमन्त्री बनेर सरकारमा गएको त्यो बेला आलोचनात्मक चेतसहित तत्कालीन नेकपा एमालेको मुखपत्र दृष्टि साप्ताहिकबाट विद्रोह गरेर 'जनआस्था साप्ताहिक" प्रकाशन गर्नु साँच्चै जोखिमको कुरा थियो । सडक, सदन र सरकारमा वामपन्थीको जगजगी चलेको बेला कम्युनिस्ट पार्टीकै सरकार र नेताका कमि,कमजोरीसमेत छिद्रान्वेषण गर्दै पत्रकारिता गर्न सजिलो छँदै थिएन । आफ्नै साथीहरू जनआस्था टिमसँग बोल्न डराउँथे,वरिपरि पर्नै मान्दैनथे त्यस्तो बेला मसक्क आँटेर माया दिन तम्सनु भएको थियो,वरिष्ठ अधिवक्ता तथा लेखक भूपनिधि पन्त । जनआस्थाका ती दिनहरू साँच्चै स्वर्णिम र गौरवपूर्ण लाग्दछन् जब योसँग जोडिन आइपुग्नु भयो समाजका एक से एक हस्तीहरू नपत्याउने हिसाबले,नसोचेको हिसाबले ।
वरिष्ठ राजनीतिज्ञ कमल कोइराला, कार्टुनिष्ट रविन सायमी,बुद्ध धर्मगुरू भिक्षु अश्वघोष,मीस नेपाल रूवी राणा,मित्र भूपनिधि पन्त,चर्चित साहित्यकार रमेश विकललगायत अनेक अनेक हस्ती हुनुहुन्थ्यो हामीसङ्ग । यीमध्ये भुपनिधि गुरुले आफ्ना रचना पठाउनु हुन्थ्यो हातले लेखेर,लयर्स क्याबिन रत्नपुरी, पोखरा-७ वडाको ठेगानाबाट । नेपालीमा एम.ए. र कानूनमा डी.एल. गरिसक्नु भएका पन्त समाजका पात्र र प्रवृत्तिहरू अनि व्यक्ति विशेषलाई लिएर विकृतिमा प्रहार गर्ने कोसिस गर्नुहुन्थ्यो । अनि हामी लेख्थ्यौं दरबारको अन्तरकुन्तरका,सेनाका जहाँ सर्वसाधारणको पहुँच पुग्दैनथ्यो- त्यहाँका यावत् नालीबेलीहरू ।
राजपरिवारका सदस्यहरू मंगलवार राती जमघट,नाचगान, रमझम,खानपिन गरेर अबेर सुते पनि बिहान उनीहरूको निद्रा छिटो खुल्थ्यो । जनआस्थाको व्यापक खोजी हुन्थ्यो पढिन्थे जनआस्थाका खबर, भूपनिधिका लेख ।
राज्यको सिन्दूर पहिरिएको कर्मचारीका रूपमा सरकारी वकील बनेर देश देशावर बुझिसक्नु भएका भूपनिधि पन्त आफ्ना अनुभूति, अनुभव र देखिएका कुरा रिट्ठो नबिराई इमान्दारिताका साथ सफा, सुन्दर अक्षरले टिपेर पठाउने गर्नुहुन्थ्यो । आश्चर्यको कुरा,उहाँका लेखनी र आलोचनाका धारहरू दरबारमा बसेका राजा, राजपरिवारका सदस्य पनि खोजी-खोजी पढ्थे कहाँनेर कमजोरी भएको छ ? समाज कता गइरहेको छ ? कसरी दरबारको नाम बेचेर मान्छेहरूले ठगिरहेका छन् ? सरकारी कर्मचारीले कति बदमासी गर्दछन् ? न्यायालय,सरकार,सत्ता,प्रशासन र वकिलले कसरी दिनलाई रात पार्छन्, न्यायाधीशले त्यसबाट कसरी फाइदा उठाउँछन् ? प्रहरीले कसरी चलखेल गर्छ ? समाजमा भ्रष्टाचार कसरी फैलन्छ ? यावत कुराहरू भूपनिधि पन्तको खिरिलो ज्यान,कडा चश्मा, अरिमुठे जुँगा,स्पष्ट आवाज,प्रष्ट वक्तृत्व र खरो लेखनीमार्फत् प्रस्तुत हुन्थ्यो जनआस्थामा र दरबारमा खोजी हुन्थ्यो बुधवार बिहान साढे ६ नबज्दै । राजपरिवारका सदस्यहरू मंगलवार राती जमघट,नाचगान, रमझम,खानपिन गरेर अबेर सुते पनि बिहान उनीहरूको निद्रा छिटो खुल्थ्यो । जनआस्थाको व्यापक खोजी हुन्थ्यो पढिन्थे जनआस्थाका खबर, भूपनिधिका लेख ।
आश्चर्य लाग्ला नेपालको पत्रकारितामा भूपनिधि पन्तको अद्वितीय,अतुलनीय र अमूल्य योगदान अर्को पनि छ भन्ने कुरा स्मरण गर्दा । धेरैलाई यो तथ्य थाहा छैन । तर म आफूसमेत संलग्न नेपाल पत्रकार संघको तत्कालीन केन्द्रीय समितिले भूपनिधि गुरूलाई विधान तयार गर्ने जिम्मा दिएको थियो । नेपाल पत्रकार संघलाई हामी महासंघमा रूपान्तरण गर्दै थियौँ र त्यसनिम्ति विधान मस्यौदा गर्ने जिम्मेवारी भूपनिधि पन्तलाई थियो ।
भूपनिधि गुरूले २०५२ पुस २० गते मलाई लेख्नु भएको पत्रबाट पनि पत्रकार महासंघको इतिहासका धेरै प्रसङ्गहरू छुट्टिन सक्छन् । उहाँले मलाई २०५२ सालकै माघ १४ मा यसबारे पत्र लेख्नुभएको छ ।
महासंघको भैरहवा बैठकबाट एउटा उपसमिति बन्यो अनि त्यसले काम अघि बढायो । वीरगञ्जका गोपाल गिरी जसको द्वन्द्वकालमा माओवादीले प्राण हर्यो, उहाँ पनि त्यसमा हुनुहुन्थ्यो । उहाँहरूले अनेक दुःख गरेर नेपाल उद्योग वाणिज्य महासंघको विधान, नियमसमेत पल्टाउनुभयो र पत्रकारिता जगतमा आजीवनजस्तै अध्यक्ष रहँदै आएका मञ्जुरत्न शाक्यका सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसला र जिल्ला अदालतमा चलेको मुद्दाका कागजात पनि झिकाउन लगाउनु भयो । पत्रकार महासंघ बनिसकेपछि त्यसमा कुन-कुन पत्रकार संघहरू, एसोसियटहरू प्रवेश गर्न लायक हुन्छन् भनेर विधान,नियमहरू पनि खोज्ने काम गर्नुभयो । त्यसमा पुलको काम गर्यौँ तत्कालीन महासचिव चन्द्र भण्डारी र मैले । भूपनिधि गुरूले २०५२ पुस २० गते मलाई लेख्नु भएको पत्रबाट पनि पत्रकार महासंघको इतिहासका धेरै प्रसङ्गहरू छुट्टिन सक्छन् । उहाँले मलाई २०५२ सालकै माघ १४ मा यसबारे पत्र लेख्नुभएको छ ।
म परें कडा सम्पादक । भूमिकासहितको लामो गन्थन भन्दा पनि ट्वाक्क,खँदिलो,सबै कुरा मिसिएको,एउटै वाक्यले धेरै कुरा बताउने,छोटो,मिठासयुक्त, उदाहरणसहितका सामग्रीको खोजीमा रहने म त्यस्तो नपाउँदा काटकुट गर्न किञ्चित मान्दिनथेँ । यसैमा भूपनिधि गुरूको आपत्ति रहन्थ्यो । उहाँले गुनासो गरिरहनुभयो र लेख्न पनि कहिल्यै छोड्नु भएन । गुरू उमेर र अनुभव दुवैले वरिष्ठ,
देश देशावर डुलेको जब्बर व्यक्तित्व हुनुका बाबजुद कति कोमल भने उहाँले सबै हिसाबले जुनियर २८ पुस २०५२ मा
लेख्नुभएको एउटा पत्र पढ्दा म चकित परेको छु । सम्बोधनमै प्रिय मित्र श्री किशोरजी,हार्दिक वन्दना । र अन्तिममा विनित भनेर लेख्नुहुन्थ्यो कति विनम्र,फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र भनेजस्तो उहाँले २८ पुस २०५२ मा अर्को पत्र लेख्नुभयो- तपाईंको प्रेरणाबाट लामो समयपछि म फेरि लेखक बन्ने रहर गरिरहेको छु । मेरा रचनालाई आफ्नो जनप्रिय पत्रिकामा स्थान दिएर उत्साह अझ बढाई दिनुभएको छ, यसका निम्ति आभारी छु । यसरी उहाँसँग लामो यात्रामा हिँडेँ म । राजविराज गएँ,लुम्बिनी गएँ, हिरण्यलाल श्रेष्ठसहित झापा कलवलगुडीबाट फर्किएँ । ती अनेक यात्राका स्वर्णीम प्रसङ्गहरू स्मरणीय रहनेछन् । तर बीचैमा भूपनिधि गुरू हामीबाट हराउनु भयो । मैले पोखरा गएको बेला निकै चोटी खोज्दा पनि फेला पार्न सकिनँ । उहाँ सितिमिति मोबाइल नचलाउने तर अकस्मात २०७९ वैशाख ३० गतेको स्थानीय चुनाव सकिएपछि जेठ ५ गते मतगणना प्रक्रिया चलिरहेको बेला एकदिन दिउँसो फोन आयो,झण्डै झण्डै १२-१५ वर्षपछि भूपनिधि गुरूको उही चिरपरिचित आवाज सुनियो- म एउटा पुस्तक निकाल्दै छु जसको शीर्षक छ- 'आस्थाका आवाज', जहाँ मैले जनआस्थामा कोरेका अनुभूति समेटिएका छन् । त्यसमा तपाईंको केही लेखकीय टिपोट चाहियो । आज मलाई गर्व लागिरहेको छ कि,गुरूलाई दुई चार शब्दमार्फत् गुरू दक्षिणा चढाउन पाएँ उहाँले जमानामा लेखेका पत्रहरूसमेत उधृत गर्दै । आदरणीय गुरू ! चिरञ्जीवी रहनुहोस्,स्वस्थ रहनुहोस्,तपाईंको कलम भुत्ते नहोस्, लेख्न थाल्नुहोस्,फेरि जुर्मुराउनुहोस् तपाईंलाई मैले उत्तिकै सम्झन्छु,जति आदर र सम्मान गर्छु भवानी भिक्षु, गोविन्द भट्ट,श्यामप्रसाद शर्मा, कमल कोइराला,भिक्षु अश्वघोष, आनन्ददेव भट्ट,विन्दिया प्रधान, भागिरथी श्रेष्ठ,इन्द्रबहादुर राईलगायत थुप्रै अग्रजलाई । तपाईं जहाँ,जस्तो अवस्थामा हुनुहुन्छ, जोस नमरोस्,जाँगर नमरोस्,तपाईंलाई हामीले फेरि पढ्न पाऊँ,शुभकामना !
टिप्पणीहरू