अभिनेतासँग घर बसाउने लताको त्यो अधुरो आकांक्षा

अभिनेतासँग घर बसाउने लताको त्यो अधुरो आकांक्षा

आकाशका तिर्मिरे तारा म गन्न सक्दिनँ
मनको कुरा मुखमा ल्याई म भन्न सक्दिनँ ।

साउने झरी ढुंगेलो बाटो बिर्सिन सक्दिनँ
बिर्सेर पनि त्यो दिन आज बिर्सिन सक्दिनँ ।

धाराको कुना निरको भेट म भन्न सक्दिनँ
झरीको पछि लागेको जून बिर्सिन सक्दिनँ ।

जुनेलो छाया मायालु उनी म भन्न सक्दिनँ
हातमा हात परेको बेला बिर्सिन सक्दिनँ ।

गत माघ २३ गते आइतबार अर्थात् श्रीपञ्चमीको दिन देहान्त भएकी भारतकी सुप्रसिद्ध गायिका लता मंगेशकरले गाएको नेपाली भाषाको गीत हो । यो गीतका रचनाकार राजा महेन्द्र अर्थात् कवि ममविवि शाह हुन् भने संगीतकार थिए हेमन्तकुमार । स्वरसाम्राज्ञीको उपमा पाएकी लताले ३६ भाषामा लगभग ३० हजारभन्दा बढी गीत गाएकी छन् जसमध्ये ३ वटा नेपाली भाषाका छन् ।

लताको जन्म मध्यप्रदेशको इन्दोर शहरमा भएको हो । घरमा सांगीतिक वातावरण थियो, पिता दिनानाथ पेशाले थिएटरका कलाकार थिए साथै शास्त्रीय संगीतको ठूलो प्रशंसक पनि । त्यसैले दिनानाथकी जेठी पुत्री लता सानैमा गुन्गुनाउने गर्थिन् । दिनानाथले फुच्ची लतामा गायनको प्रतिभा देखिसकेका थिए, त्यसैले ५ वर्षकै उमेरमा लताले संगीत र गायन सिक्ने मौका पाइन् । दिनानाथ छोरीलाई भन्थे, ‘कवितामा जसरी शब्दको महत्व हुन्छ, त्यसरी नै गीतमा स्वरको महत्व हुन्छ र गाउँदा यी दुबैको । ‘

लताको बाल्यकालको नाउँ हेमा थियो । दिनानाथ आफैँले खेलेको एउटा नाटक ‘भाव बन्धन’ को पात्र लतिकाबाट यतिबिघ्न प्रभावित बने कि छोरी हेमालाई लता बनाइदिए । एकदिन लता साँझको बेला एउटा राग अलाप्न थालिन् । दिनानाथ अचम्ममा परे । भोलिपल्ट सोधे ‘तिमीले हिजो अलापेको रागको नाउँ के हो थाहा छ ?’ लताले सहर्ष जवाफ दिइन् ‘नाइँ, थाहा छैन ।’ दिनानाथले भने, ‘त्यो राग पुरियाधनाश्री हो ।’ उनलाई लाग्यो – यो छोरीले गायनमा पक्कै केही गरेर देखाउँछे ।

सन् १९३४ मा चलचित्र ‘चण्डिदास’ रिलिज हुँदा लता मात्र ५ वर्षकी थिइन् । नायक थिए – कुन्दनलाल सहगल (के. एल. सहगल) र नायिका उमाशशी । त्यो बेलासम्म हिन्दी सिनेमामा पाश्र्व गायन भित्रिएकै थिएन । कलाकार आफैँ गीत गाउँथे । कुन्दनलाल सहगल आफैँमा शास्त्रीय गायनमा पारंगत थिए । लता दिनानाथसँग उक्त फिल्म हेर्न पुगेकी थिइन् । फिल्म हेर्दै कुन्दनलाल सहगलको व्यक्तित्व, अभिनय र गायनबाट यतिबिघ्न प्रभावित बनिन् कि घर पुगेपछि आमा शेवन्तीलाई भनिन्, ‘आमा, ठूलो भएपछि म कुन्दनलाल सहगलसितै बिहे गर्छु ।’

दिनानाथले छोरीलाई सम्झाउँदै भने, ‘तिमी ठूलो हुन्जेलसम्म त उनी बूढो भइसकेका हुन्छन् । कसरी गछ्र्यौ बिहे?’ लताले फेरि भनिन्, ‘भए नि के ? म उसैसित बिहे गर्छु ।’

उक्त चलचित्रमा ५ वटा गीत थियो । दुइटामा कुन्दनलाल सहगलको र एउटामा उमाशश्किो एकल गीत थियो भने दुइटा युगल गीत । एउटा गीतको बोल थियो ‘प्रेमनगर मैं बनाउँगी घर में ।’ गीत सहगल र उमाशशीले गाएका थिए । उक्त समयमा निकै हिट भएको यो गीतले सहगललाई गायन क्षेत्र उचाइमा पु¥याउन ठूलो सहयोग गरेको थियो । लताले पनि उक्त गीत खुबै मन पराइन्, घरमा जतिखेर पनि नाच्दै गाउँथिन् ।

फेरि सन् १९३६ मा सहगल अभिनीत अर्को चलचित्र ‘देवदास’ रिलिज भयो । प्रसिद्ध बंगाली साहित्यकार शरतचन्द्र चट्टोपाध्यायको उपान्यासमा आधारित प्रेमकथाको उक्त फिल्मले धेरै दर्शकलाई घोत्लिन विवश पारेको थियो । सहगलसँग बिहे नै गर्ने सपना देखेकी लता प्रभावित नबन्ने कुरै भएन । उनी घरमा देवदासको गीत गाउन अनि आफँै सहगल बनेर अभिनय गर्न थालिन् र जेठी बहिनी मीनालाई पार्वती अर्थात् पारो बन्न लगाउँथिन् । त्यो बेला आशा भोंसले (आशा मंगेशकर) भने मात्र ३ वर्षकी थिइन् ।

लता हुर्किसकेकी थिइन् तर स्कुलमा पाइला टेकेकी थिइनन् । एकदिन आमासित जिद्दी गरिन् कि ‘म पनि भोलिदेखि स्कुल जान्छु ।’ लता अत्यन्त जिद्दी स्वभावकी थिइन् । उनको हठका सामु अरूको केही चलेन र स्कुल जाने उनले अनुमति पाइन् । घरमा सानी बहिनी आशा सधैं सँगै हुन्थिन् । त्यसैले स्कुल जाने बेला पनि आशाले उनलाई एक्लै हुन दिइनन् । लता सानो बच्ची आशालाई बोकेर स्कुल पुगिन् । शिक्षकले सानी बच्ची लिएर स्कुल नआउन सम्झाए । लता, जिद्दी मात्र होइन, तुरन्तै रिसाउने स्वभावकी थिइन् । उनले घर फर्केपछि आमासित भनिन्, ‘स्कुलमा मेरो अपमान भयो । म सहन सक्दिनँ । म अब कहिल्यै स्कुल जान्नँ ।’

हुन पनि लतालाई आमाबाबुले त्यसपछि कहिल्यै स्कुल पठाउन सकेनन् । उनी जीवनमा १ दिन मात्र स्कुल पढेकी अब्बल दर्जाकी गायिका थिइन् । सन् १९४२ मा लता १३ वर्षको हुँदा दिनानाथको देहान्त भयो । मंगेशकर परिवारसित निकै नजिकको सम्बन्ध भएका नवयुग चित्रपट मुभी कम्पनीका मालिक माष्टर विनायकले मंगेशकर परिवारको रेखदेख गर्ने जिम्मेवारी उठाए । उनैले लतालाई गायन र अभिनय क्षेत्रमा लाग्न सहयोग गरे । उनैको सहयोगमा लताले पहिलोपटक मराठी फिल्म ’किती हसाल’ को लागि एउटा गीत गाइन् ।

तर, अन्तिममा उक्त गीत चलचित्रमा समावेश नै गरिएन । उनै विनायकले आफैँले बनाएको मराठी फिल्म ‘पहिली मंगला गौर’ मा अभिनय र गीत गाउने मौका दिए । लताले सो कार्यबापत भारु. २५ पारिश्रमिक पाएकी थिइन् । उनले यसपछि सानोतिनो अभिनय गर्न थालिन् । तर, अधिकांश भूमिका नायिकाको साथी वा बहिनीकै हुन्थ्यो । अभिनयमा रुचि थिएन तर घरको आर्थिक अवस्थाका कारण त्यसो गर्न विवश थिइन् ।

सन् १९४५ मा विनायकको कम्पनी मुम्बै सरेपछि मंगेशकर परिवार पनि उतै लागे । लताले विनायकले बनाएको फिल्ममा अभिनय र गीत गाउँथिन् । सन् १९४८ मा विनायकको मृत्युपछि संगीतकार गुलाम हैदर उनको पथप्रदर्शक बने । त्यो बेला निर्माता शशिधर मुखर्जीले ‘चलचित्र शहीद’ बनाउन लागेका थिए । उनले अत्यन्त पातलो स्वर रहेछ भन्दै लतालाई गीत गाउन दिएनन् । फिल्मका नायक थिए– दिलीपकुमार । उनले पनि हेपेरै ‘तिम्रो स्वरमा मराठी दालभातको गन्ध आउँछ’ भनिदिए ।

पछि गुलाम हैदरले नै ‘मजबुर’ चलचित्रमा लतालाई गाउन लगाए । चलचित्र चल्यो पनि । तर, लताले खासै लाभ उठाउन सकिनन् । लतालाई लता बनाएको पहिलो हिन्दी गीत थियो सन् १९४९ मा प्रदर्शित ‘महल’ को ‘आयेगा आनेवाला आएगा’ । यो चलचित्रले लता र नायिका मधुबाला दुबैलाई पहिचान र सफलता दिलायो । त्यसपछि भने लतालाई कुनै पाश्र्व गायिकाले उछिन्न सकेनन् । उनले लगातार अर्को ६ दशकसम्म गीत गाइन्, सबैको मनमा बसिन् ।

सन् १९४७ मा कुन्दनलाल सहगलको देहान्त हुँदा लता १८ वर्षकी भइसकेकी थिइन् र पनि अझै उनको गायनमा पागल थिइन् । त्यो बेला भर्खरै एउटा रेडियो किनेर ल्याएकी थिइन् । जनवरी १८ को दिन रेडियो अगाडि राखेर गीत सुन्दै थिइन् । अचानक रेडियोले कुन्दनलाल सहगलको देहान्त भएको खबर प्रसारण ग¥यो । उनी यो खबरबाट यति धेरै खिन्न बनिन् कि रेडियो जहाँबाट किनेर ल्याइएको हो त्यही पसललाई फिर्ता दिइन् ।

लता निधनको समय ९२ वर्षकी थिइन् र अविवाहित । यो होइन कि उनले जीवनमा कसैसित प्रेम नै गरिनन् । सन् २००९ मा दिवंगत राजसिंहसित लामो समय प्रेम गरेकी थिइन् । राजसिंह राजस्थानको डुंगुरपुरका शासक महारावल लक्ष्मण सिंहजीका पुत्र थिए ।

सानैदेखि क्रिकेटका सोखिन । लताका भाइ हृदयनाथ मंगेशकरका साथी अनि उनैसित क्रिकेट खेल्ने । हृदयनाथ राजसिंहलाई बेलाबखत घर लग्थे । त्यहीँ लतासित भेट भयो । यो सन् १९५९ को समय हो । लता ३० वर्षकी थिइन् अनि राज २४ का । लगातारको भेट्घाटले राज र लताबीच हिमचिम बढ्यो । दुबै एकार्कालाई मन पराउन थाले । लता पनि क्रिकेट खेल मन पराउँथिन् । राजसिंहको क्रिकेट खेल्ने तरिकादेखि मन्त्रमुग्ध हुन्थिन् भने राजसिंह लताको आवाजको ‘दिवाना’ थिए । एकले अर्काको खुवीलाई मन पराएकै कारण दुबैजना झन् नजिकिए ।

राजसिंह लतालाई प्रेमपूर्वक ‘मिठू’ भनेर बोलाउँथे । त्यसबेला लता गायन क्षेत्रमा अत्यन्त व्यस्त भइसकेकी थिइन् । प्रेमीसित भेट्न र समय बिताउन धौधौ पथ्र्याे । राजले आफ्नो प्रेमिकाको उपस्थितिलाई गौण बनाउन टेपरेकर्डर साथमै बोक्थे र लताद्वारा गाइएका उनलाई सार्है मनपर्ने गीत सुन्थे । उनीहरू यति धेरै नजिकिए कि बिहे गरेर घरजम बसाउने निधोमा पुगे ।

तर, राजसिंहका पिता लतालाई बुहारी बनाउन तयार भएनन् । लता शाही खान्दानको नभई साधारण परिवारकी भएको जिकिर उनको थियो । तथापि, पुत्रभन्दा पुत्रवधू जेठी हुनुहुँदैन भन्ने कारण पनि वाधक बनेको थियो । राजसिंह पितालाई औधी माया र आदर गर्थे त्यसैले पिताको निर्णयविरुद्ध जान चाहेनन् । बरू, जिन्दगीभर अविवाहित बन्ने अठोट गरे र सो अठोटलाई अन्तिम समयसम्म निभाए ।

यता, अधुरो प्रेमकै कारण लताले पनि आजीवन अविवाहित रहने निर्णय गरिन् । यद्यपि, प्रेम विवाहमा परिणत गर्न नसके पनि राजसिंह र लता लामो समयसम्म साथी बनिरहे । धेरै पटक च्यारिटी शोमा उनीहरूको भेट भइरह्यो । राजसिंह राजस्थानको क्रिकेट टिम सेन्ट्रल जोनबाट खेल्थे । उनले इण्डियन क्रिकेट क्लबको १३ वर्षसम्म अध्यक्षता पनि गरे ।

त्यसो त लता र आसामका कवि, गायक, संगीतकार, अभिनेता, फिल्म निर्माता भूपेन हजारिका एकापसमा प्रेम गर्थे भन्ने खबर पनि नफैलिएको होइन । भूपेन उमेरले लताभन्दा ३ वर्ष जेठो थिए । भूपेनकी श्रीमती प्रियम्दा पटेल हजारिकाले ‘डिवाइ ३६५’ टीभी च्यानललाई अन्तर्वार्ता दिँदै आफ्नो लोग्नेको लतासँगको प्रेमप्रसंगबारे खुलासा गरेकी थिइन् । मुम्बै बसाइका क्रममा दुबै जनाको प्रेम उत्कर्षमा पुगेकै कारण आफू कोलकाता फर्कनुपरेको बताएकी थिइन् ।

भूपेनले पनि ’साँझ भै आयो, कपिली पारी, कुन गोर्खाली तरूनीले प्यारी गाईलाई हराइ’ ’ए डोको ए डोको, ए उकाली ओराली बाटोमा बोक्छौं ठुल्ठूला मान्छेको डोको’ ’ओ टिष्टा तिमी, ओ टिष्टा तिमी बग्छौ किन ?’ जस्ता नेपाली गीत गाएका छन् । यी गीत उनैद्वारा रचिएका हुन् ।

टिप्पणीहरू