माला र पालाको पसलमा धेरै भीड

माला र पालाको पसलमा धेरै भीड

तिहारको अन्तिम दिन दिदीबहिनीहरुले दाजुभाइलाई निधारमा सप्तरंगी टीकाको साथमा गलामा माला लगाइदिने गर्दछन् । टीका लगाइसकेपछि दिदीबहिनीहरुले बिशेषतः सयपत्री र मखमली फूलको माला लगाइदिने प्रचलन छ ।

मखमली फूल कहिल्यै नओइलाउने र सयपत्री फूलको सँधै रहने भएकाले यी फूलको माला लगाउने गरिएको बताइन्छ । अर्कोतर्फ, मखमली र सयपत्री फूलको मालाको धार्मिक एवम् पौराणिक महत्व समेत रहेको छ । दिदीबहिनीले तिहारमा गणेशको पूजाको साथै यमराजको आह्वान गर्छन् । बिमिरो, ओखर, तेल, मखमलीको माला, कटुस आदिको प्रयोगले दाजुभाइको सुख–समृद्धि, आरोग्य तथा दीर्घायु हुने धार्मिक तथा पौराणिक मान्यता पनि रहेको छ ।

तिहारमा सप्तरंगी टीकाजस्तै फूलको पनि विशेष महत्व हुने भएकाले बजरमा फूलको माग समेत उच्च हुने गरेको छ । बजारमा अहिले फूल तथा मालाको व्यापारको चहलपहल धेरै देखिन्छ । किसानले आर्थिक उपार्जन गर्ने उद्देश्यले गरेको फूल खेतीको अहिले बजारमा अत्यधिक माग भएको देख्न सकिन्छ । सडकपेटी, चोक, फुटपाथ तथा पुष्पपसलमा समेत मानिसहरुको घुँइचो लाग्न थालेको छ ।

तिहारमा दाजुभाइलाई लगाइदिन माला र घरकोठा सजावटको निम्ति सर्वसाधारणले फूलको जोरजाम गर्न थालेका छन् । राजधानीका पुष्पपसलहरुमा सयपत्री फूलको माला मूल्य प्रतिगोटा ९० देखि एक सय तथा मखमली फूलको माला ५० रुपैँयामा बिक्री भइरहेको छ । धेरैजसो ठाउँमा एक झुप्पामा १० वटा माला झुण्डाएर बिक्री गर्न थालिएको छ । त्यस्ता ठाउँमा सर्वसाधारणको भीड धेरै देखिन्छ ।

तिहारमा सप्तरंगी टीका र मालाका साथै बत्ति बाल्ने माटाका पालाको पनि राम्रो व्यापार भएको छ । घर उज्यालो बनाउन विद्युतीय झिलिमिली बत्तिको प्रयोग गरे पनि लक्ष्मीपूजाको लागि पाला किन्नेको घुँइचो उस्तै देखिन्छ । काठमाडौंका फुटपाथ, भेँडासिंह, लगनखेल, भक्तपुर तथा पूजासामाग्री पसलमा माटाका पाला किन्नेको भीड लागेको छ । त्यसैले तिहारलाई दीपको पर्व अर्थात दीपावली पनि भन्ने गरिएको हो ।

टिप्पणीहरू