लोडसेडिङको खास के हो लफडा ?

ढल्केबर–मुजफ्फरपुर ४ सय केभी प्रशारण लाइन ४ सय केभी, खिम्ती–ढल्केबर २ सय केभी, हेटांैडा मातातीर्थ १ सय ३२ केभी पूर्ववर्ती सरकारकै पालामा निर्माण सम्पन्न भएर केन्द्रीय ग्रिडमा थपिएको हो । जसको अभावमा काठमाडौं लोडसेडिङ हटाउने कल्पनासमेत गर्न सकिँदैनथ्यो । गत वर्षको फागुन ५ गते पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् प्राधिकरणका तत्कालीन प्रमुख मुकेश काफ्लेलाई सँगै दिल्ली लगेर ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनको उद्घाटन गरेका थिए । अहिले त्यही लाइनको बलमा काठमाडौंको लोडसेडिङ हटेको हो ।

 उसो त, देशभर लोडसेडिङ हटाउने उद्देश्यसाथ विद्युत् प्राधिकरण लागेको थियो । बढीमा चार घण्टा विद्युत अभाव हटाउने यसै वर्षको कार्ययोजना थियो भने अर्काे वर्ष लोडसेडिङ जिरोमा झार्ने पूर्वप्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भन्दै आएका थिए । त्यो कुरा आगामी वर्षदेखि सम्भव पनि छ ।

अघिल्लो वर्ष र अहिलेको समयको तुलना पनि गर्नुपर्ला । एक वर्षअघि भूकम्पको पीडा छँदै थियो । त्यही कारण कति विद्युत् गृह भत्किए । प्राधिकरणको आफ्नै सुनकोशी आयोजना भूकम्पपछाडि क्षतविक्षत भएर यसै वर्ष थपिएको हो । त्यस्तै, निजी लगानीका माथिल्लो मस्र्याङ्दी, सानिमा २० मेगावाट, अपर माइ, माइ क्यास्केट, दरम खोलालगायतबाट उत्पादित बिजुली यसै वर्षदेखि प्रशारण लाइनमा थपिएको हो ।

यसका क्षमता झण्डै एक सय मेगावाट हुन आउँछ । त्यहीमाथि नाकाबन्दीको सास्ती हुँदा ग्यास अभाव घर–घरमा बिजुलीबाटै खाना पाक्थ्यो । त्यसबेला ग्यासको काम बिजुलीबाट गर्नुपर्ने हुँदा दैनिक ५० मेगावाट बढी खपत हुने गरेको प्राधिकरण स्रोतको भनाइ छ ।

मोटामोटी हिसाबले केलाउने हो भने यसै वर्षदेखि ८० मेगावाटको खिम्ती ढल्केबर, निजी क्षेत्रबाट एक सय र प्राधिकरणको आफ्नै सुनकोशी १५ मेगावाट गरी झण्डै २ सय मेगावाट विद्युत् प्रशारण लाइनमा थपिएको छ । सिष्टम पनि सुध्रिएको छ । भूकम्पपछि बिजुलीबाटै खाना पकाउने क्रम बढ्दा पाँच सय ट्रान्स्फर्मर पड्केको थियो । ती सबैलाई फेरेर अहिलेको सिष्टमलाई बलियो बनाइएको अवस्था छ, यो सबै काम मुकेश काफ्ले प्रमुख हुँदा नै भएको हो । अर्काेतिर अहिले पानीको सतह कञ्चन र राम्रो हुने समय हो । र, अहिले कुलमान घिसिङ र जनार्दन शर्माहरूले चाहेर पनि विद्युत् कटौती हुने अवस्था छैन ।

अझै पनि १२ सय मेगावाट हाराहारीमा दैनिक विद्युत् माग छ भने खपत ९ सय मात्र छ । यहीबीच पुसपछाडि भारतबाट थप्ने भनिएको अर्काे ८० मेगावाटको ढल्केबर मुज्जफ्फरपुर प्रशारण लाइन जोड्न नसकिए फेरि शुरु हुने उही कालोरात हो । विद्युत् प्राधिकरण उही विद्युत् कटौतीको सेड्युल प्रकाशन गर्ने हो । यस्तो अवस्था जान्दाजान्दै चिलिमे जलविद्युत् परियोजनालाई सफल पार्ने कुलमान घिसिङहरू सबै काम मैले गर्दा भयो भन्दै रमाउनु क्षणिक न्यानो मात्र हो ।

टिप्पणीहरू