सुटुक्क कांग्रेसीलाई स्वाद

न्यायपरिषद्मा वरिष्ठ अधिवक्ताद्वय लक्ष्मीबहादुर निराला र रामप्रसाद श्रेष्ठ कानुनविद् सदस्यको रूपमा छिर्दा धेरै वामपन्थी वकिल खुशी भएका थिए ।

निराला प्रधानमन्त्रीको कोटाबाट, श्रेष्ठ बारको कोटाबाट र कानुनमन्त्री लीलानाथ श्रेष्ठसमेत गर्दा न्यायपरिषद्मा वामपन्थीकै बहुमत छ ।

जब न्यायपरिषद्ले फागुन २८ मा सर्वाेच्च अदालतका लागि दुई र उच्च अदालतका लागि १८ न्यायाधीश सिफारिस ग¥यो त्यसपछि सबै झल्याँस्स भएका छन् ।

प्रधानमन्त्री केपी ओलीनिकट एमालेकै कानुन व्यवसायी र पुष्पकमल दाहाल प्रचण्डनिकटले यसपटक ठूलो क्षति व्यहोर्नुपरेको चर्चा छ । प्रधानमन्त्री ओलीनिकट रमेश बडाल र पूर्वमाओवादीनिकट दीनमणि पोखरेलले मुखैमा आएको नियुक्ति गुमाएको चर्चा चलिरहेको छ ।

दुवै प्रधानन्यायाधीशको लाइनमा पर्ने लबिङमा थिए । आ–आफूमा एकअर्काप्रतिको रिसले गर्दा सर्वाेच्चका दुई पदमा एउटा पनि कानुन व्यवसायीलाई लगिएन भने उच्चको १८ पदमा न्यायाधीश बनाउँदा कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन आबद्धले बहुमत पद फुत्काएका छन् ।

‘हाम्रो खेमाका साथीहरू अब भइहालिन्छ नि भनेर मख्ख परी बसे, नियुक्ति अर्कैले फुत्काए’, प्रगतिशील कानुन व्यवसायी संगठनका एक नेताले भने, ‘योग्य व्यक्ति जताका पनि पर्न सक्छन् तर परिषद्मा पुगेर पनि राजनीतिक सन्तुलन किन मिलाइएन भन्ने विषयमा भने अध्ययन हुन्छ नै ! हाम्रा योग्य साथीलाई एकअर्काबीचको रिसकै आधारमा फालिनु उचित हँुदैनथ्यो ।’ परिषद्ले राजनीतिक सन्तुलन भत्काउने गरी गरेको नियुक्तिमा समेत सूक्ष्म अध्ययन गरिने उनले बताए ।

बडालले प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री ओलीको तर्फबाट निजी कानुन व्यवसायीलाई संयोजनको जिम्मा लिएका थिए भने पोखरेल प्रचण्डनिकट हुन् ।
उता एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङकै भाञ्जा कृष्ण आङदम्बेले समेत उच्च अदालतको नियुक्ति गुमाएका छन् ।

उच्चको नियुक्तिमा परेका सागर बिष्ट, जगदीश घिमिरे, निर्मला शाक्य र श्रीधरा पुडासैनी चिनिएकै डेमोक्रेटिकका सदस्य हुन् । बिष्ट नेपाल बार एशोसिएशनका केन्द्रीय सदस्य र काभ्रे जिल्ला बारको अध्यक्ष भइसकेका कांग्रेसी हुन् भने घिमिरे काठमाडौं जिल्ला अदालत बारको अध्यक्ष भइसकेका स्थापित कांगे्रेस हुन् । शाक्य डेमोक्रेटिक लयर्स एशोसिएशनको पूर्वअध्यक्षसमेत रहेका नेपाल बारका पूर्वअध्यक्ष शेरबहादुर केसीको ल फर्ममा काम गर्दै आएकी कानुन व्यवसायी हुन् ।
घिमिरे सर्वाेच्चका न्यायाधीश ईश्वर खतिवडाका आफन्त हुन् भने पुडासैनी पूर्वप्रधानन्यायाधीश विश्वनाथ उपाध्याय र केदारनाथ उपाध्यायकी भाञ्जी हुन् ।

माधव नेपाल र प्रचण्डको खेमाबाट न्यायपरिषद् सदस्य बनेका रामप्रसाद श्रेष्ठले नेम्वाङ र अग्नि खरेलको सिफारिसका कानुन व्यवसायीलाई छानीछानी सिध्याएको पनि वामपन्थीबीच चर्चा छ ।

– भीष्मकान्त अर्याल, थापा गाउँ काठमाडौं

टिप्पणीहरू