सडक विस्तारमा अवरोधपछि कारबाहीकाे चेतावनी
जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सडक विस्तारको कार्यमा अवरोध पुर्याउनेलाई कारबाहीको चेतावनी दिएको छ ।
हेटौंडा बजार क्षेत्रको सडक विस्तारका लागि सबै तयारी भइसकेको अवस्थामा केही व्यक्तिले अवरुद्ध गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रशासनले उनीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो । आज एक सूचना जारी गर्दै प्रशासनले कसैलाई कानुनविपरीत कार्य नगर्न–नगराउन सूचित गरेको छ ।
‘सार्वजनिक विकास निर्माणको यस कानुनसम्मत कार्यलाई अवरोध पुर्याउने गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भै त्यस्तो किसिमको गतिविधि गर्ने ती व्यक्तिहरुप्रति पूर्ण सचेत रहेको व्यहोरा अवगत गराउँदै सडक डिभिजन कार्यालयको यस अभियानमा कानुनविपरीत कार्य नगर्न–नगराउन पुनः अनुरोध गरिन्छ’,सूचनामा उल्लेख छ ।
‘सार्वजनिक सडक ऐन, २०३१’ ले सडक सीमाको २५ मीटरभित्र सडक विभागको स्वीकृति प्राप्त नगरी प्रवेश मार्ग बनाउन, कुलो वा खाडल खन्न वा भत्काउन, किला, लठ्ठा, तगारो गाड्न वा हाल्न र घर, टहरा वा छाप्रो बनाउन निषेध गरेको छ । सो ऐनविपरीत हेटौंडा उपमहानगरपालिकाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म अनधिकृत संरचना निर्माण गरिएको छ ।
सडक डिभिजनले यसअघि ती संरचना हटाउन सूचना जारी गरेको थियो । तर, संरचना धनीहरुले क्षतिपूर्ति माग्दै २०७८ पुस १९ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरे । अदालतले क्षतिपूर्ति नपाउने फैसलाका साथै डिभिजनविरुद्ध परेको रिटहरु खारेज गरेको हो । त्योसँगै डिभिजनले गत मंसिर ५ गते सूचना जारी गरेर १५ दिनभित्र सडक सीमा मिचेर बनाइएको संरचना हटाउन निर्देशन दिएको थियो ।
तर, केही समूहले उक्त कार्यको विरोध गरिरहेका छन् ।
टिप्पणीहरू