को हुन् सरकार ढाल्ने विदेशी ?
एघारौं महाधिवेशनमा आफू तीन पटक बोल्ने, अरू कोही नबोल्ने र छलफल पनि नहुने गरी तयारी थालिएको एमाले अध्यक्ष केपी ओलीले नेताहरूलाई सुनाएका छन् । कात्तिक २३ गते आइतबार गुण्डुमा भेट्न पुगेका एमाले लेखा आयोगका १८ पदाधिकारी र सदस्यहरूलाई सो कुरा बताएका हुन् ।
मंसिर २७ गते उद्घाटन मन्तव्य, त्यसपछि बन्दसत्रमा प्रतिवेदन पेश र निर्वाचित भएपछि गरी तीनपटक आफू बोल्ने योजना रहेको ओलीले सुनाएका थिए । ‘यसपटक बन्द सत्रमा छलफल हुँदैन, म बोल्छु अनि सिधै निर्वाचनमा जाने हो,’ ओलीले भने, ‘साथीहरू चुनाव लड्छन्, सकिएपछि निर्वाचित अध्यक्षका हिसाबले समापन मन्तव्य दिन्छु र महाधिवेशन सकिन्छ ।’
लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेलले महाधिवेशन सरल र सामान्य तरिकाले गर्नुपर्छ भन्ने धारणा राखेपछि ओलीले किन साधारण, भव्य गर्ने हो भनेका थिए । ‘एमाले र केपी ओलीमाथि यत्रो आक्रमण भएको बेला तपाइँहरू सामान्य गर्ने भन्नुहुन्छ ?’ ओलीले अगाडि भने, ‘झन् शानदार तरिकाले गर्ने हो, एकताको र अध्यक्षको क्रेज देखाउने हो ।’ उक्त टोली ओलीलाई भेट्न तीन वटा एजेण्डासहित गएको थियो । पहिलो– आयोगका गतिविधिबारे जानकारी, संशोधित विधानमा आयोगका सदस्यहरूको मर्यादा, काम कर्तव्य र अधिकार तथा तेस्रो– आयोगका सदस्यहरूलाई केन्द्रीय कमिटीमा लैजाने विधि ।
यी एजेण्डा अध्यक्ष डा. कँडेलले राखेका थिए । सचिव शिव अधिकारी र सदस्य मीनराज कँडेलसहितले एमाले केन्द्रीय कार्यालयमा तयारी गरी टोली गुण्डु गएको थियो । सोहीअनुसार विद्या भण्डारीको पार्टी सदस्यताको विषय तीनै जनाले उठाए । ‘सबैलाई समेटेर जाँदा पार्टी झन बलियो हुन्छ, ।’ कँडेलले भने, ‘अध्यक्ष कमरेड, तल–तलसम्म राम्रो सन्देश जान्छ– सबैलाई मिलाएर लैजाऊँ ।’
सचिव शिव अधिकारीको पनि यस्तै धारणा थियो । सबैको कुरा सुनेपछि ओलीले भने– ‘लेखा आयोगले राम्रो गरेको छ, अध्यक्षसहित सबैलाई बधाई छ । दश बुँदेहरूलाई ल्याएर उपाध्यक्ष, सचिव बनाएँ, मन्त्री बनाएँ, मलाई पार्टीबाट निकाल्नेहरूलाई सम्मान दिएँ, अहिले के गरे, हेर्नुभएकै छ ।’ विद्या भण्डारी पार्टीमा सक्रिय हुँदा आफूविरुद्ध लाग्ने भएका कारण रोकिएको आशय पोखिएको लेखा आयोगका एक सदस्यले बताए । उनका अनुसार एकता त भन्ने तर विद्या भण्डारीलाई जसरी पनि रोक्ने लाइन छ । महाधिवेशन सकिएपछि बल्ल विद्या भण्डारीका बारेमा छलफल गर्न सकिने धारणा ओलीले सुनाएको उनले जानकारी दिए ।
‘मेरो राष्ट्रवाद र लोकप्रियतालाई कमजोर पार्न षड्यन्त्र भइरहेका बेला साथीहरू बहकिन्छन्, कोही बिक्छन्,’ उनले भने, ‘यत्रो षड्यन्त्र, प्रतिगमन, असंवैधानिक सरकार बनेको बेला एकजुट हुनुपर्ने र नेतृत्वलाई साथ दिनुपर्नेमा उल्टै विदेशीको एजेण्डा बोक्छन् ।’ सबैलाई समेट्नुपर्छ भन्नेलाई अनेक तर्क गरी ओलीले जवाफ फर्काए । भन्दै थिए– ‘२०५४ मा फुटाए, ०७८ मा फेरि फुटाए । अब तिनलाई केही गर्दिन भनेर तामा तुलसी भाक्न लगाउनु ?’
विद्या भण्डारीको नाम सिधै त लिएनन् तर भन्नुसम्म भने, ‘मैले जे–जसरी साथ–सहयोग गरेँ त्यसको प्रतिफल के भयो ? जति माथि पुग्यो, उति मेरो विरुद्ध लाग्ने माध्यम बन्यो, मैले यस्तो बेला पनि सोच्नुपर्दैन र !’ विधान महाधिवेशनले २५१ जनाको केन्द्रीय कमिटी बनाउने निर्णय गरे पनि महाधिवेशनबाट संख्या थपिने ओलीले सुनाएको ती पदाधिकारीले जानकारी दिए ।
टिप्पणीहरू