यतिसम्म गरिएको रहेछ त्यसदिन प्रहरीमाथि ?

यतिसम्म गरिएको रहेछ त्यसदिन प्रहरीमाथि ?

भदौ २३ गतेको जेनजी प्रदर्शन र भदौ २४ को विध्वंश नेपाली नागरिकका लागि अविस्मरणीय रहने छ । नागरिकले जिन्दगीमा कहिल्यै नदेखेको विध्वंश देखेको र प्रहरीले भोगेको कष्टकर क्षण थियो त्यो ।

सिपाहीदेखि कमाण्डरसम्म भोकभोकै दुई दिन लगातार सडकमा प्रदर्शनकारीसँग लडिरहँदा उनीहरूको बर्दी खोसियो, हतियार लुटियो । कर्तव्य निर्वाहका क्रममा तीन जनाले वीरगति प्राप्त गरे भने सयौं घाइते भए । कतिपयको आँखा फुट्यो, कतिपयको हात भाँच्चियो । 

पहिलो निशाना संसद् भवन थियो । पहिलो दिन नै संसद् भवन छिर्न खोजेका थिए । प्रहरीहरूले रोक्न सक्दो प्रयास गरे । हानेको ढुंगा सहे । भवनभित्रै छिरेर तोडफोड र आगजनीमा उत्रिएपछि मात्रै रबर बुलेट र अश्रुग्याँस प्रहार गरे । त्यसदिन माइतीघर मण्डलामा खटिएकी थानकोट वृत्तकी डिएसपी एलिजा गिरीको नाकमा ढुंगा लागेको थियो । नाकबाट ह्वाल्ह्वाल्ती रगत बग्दाबग्दै पनि उनी फिल्डमा खटिरहिन् । त्यसैगरी, कालिमाटी वृत्तका डिएसपी मधुकुमार थापाको खुट्टामा रड प्रहार गरियो । उनको खुट्टा अहिले पनि सुन्निरहेको छ । मधुकुमार त्यसदिन एलिजासँगै माइतीघरमा तैनाथ थिए । डिएसपी राजबहादुर महर्जन पनि प्रदर्शनमा घाइते भए । 

प्रहरी वृत्त, लैनचौरका डिएसपी जागेश्वर भण्डारीलाई उत्तिकै चोट लागेको छ । यद्यपि, आफूलाई लागेको चोटको वास्तै नगरिकन उनीहरूले ड्युटी गरिरहे । प्रदर्शनकारीहरूले अन्य सार्वजनिक संरचनामा पनि आगजनी गर्न खोज्दा प्रहरीले हात नै जोडेर त्यसो नगर्न बिन्ती चढाएका थिए । 

‘जेनजी प्रदर्शनमा प्रहरीले सार्वजनिक सम्पत्ति जोगाउन गरेको प्रयत्न प्रशंसायोग्य छ । हातमा साबेल, रड, केमिकल केक बोकेर आएका प्रदर्शनकारीसँग उनीहरू डटेरै लडे । केही नहुँदा त प्रहरी देशका लागि यसरी लड्छ भने सरकारले अलिकति मात्र सपोर्ट गरिदियो भने कति गर्ला !’
 

टिप्पणीहरू