रात परेपछि मधेशमा बबाल
मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पाँच जना सांसदलाई पदमुक्त गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै उनले उनीहरुलाई पदमुक्त गरिएको आधिकारिक घोषणा गरेका हुन् ।
सभामुख मण्डलले लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित भएको जनाउँदै नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपाका सांसदहरू मनिष कुमार सुमन, सञ्जय कुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर प्रसाद कलवारलाई पदमुक्त गरिदिएका छन् ।
रात परेपछि सुनाइएको उक्त निर्णयपछि त्यहाँको राजनीति थप पेचिलो बनेको छ ।संविधानको धारा १८० अनुसार प्रदेशसभालाई जानकारी नदिई लगातार १० वटा बैठकमा अनुपस्थित रहेमा सदस्यको स्थान रिक्त हुने व्यवस्था छ । सभामुख मण्डलले जारी गरेको सूचनामा भनिएको छ, ‘मधेश प्रदेशसभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० बमोजिम लगातार १० बैठकमा अनुपस्थित रहेका निम्न माननीय सदस्यहरू मिति २०८२ मंसिर २७ गतेदेखि प्रदेशसभा सदस्यबाट पदमुक्त भएका छन्, र उनीहरूको स्थान रिक्त भएको व्यहोरा प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’



टिप्पणीहरू