पहिले कृषि थोक बजार अहिले प्रदेश सभा सचिवालय

पहिले कृषि थोक बजार अहिले प्रदेश सभा सचिवालय

मोरङको कटहरी गाउँपालिका–१, जमटोकीमा रहेको कृषि थोक बजार कोशी प्रदेश सभाको सचिवालय बनाइएको छ । भदौ २४ गतेको जेन जी विध्वंशमा प्रदेश सभाको भवन ध्वस्त पारिएकाले कृषि थोक बजारमा सारिएको छ ।

सभामुख अम्बरबहादुर विष्ट र उपसभामुख सिर्जना दनुवार आ–आफ्नो कार्यकक्षमा सरिसकेका छन् । नवनियुक्त सचिव सुदर्शन खड्का र अन्य महाशाखाको कार्यकक्ष पनि स्थापना भइसकेको छ । अब सोही बजारबाट प्रदेश सभाको सचिवालयसँगै संसद् बैठक, सबै संसदीय दलका कार्यालय, मिडिया सेन्टर, कार्यक्रम हल, लाइब्रेरी, मर्यादापालकहरुको कार्यालयदेखि चमेना गृह सञ्चालन हुनेछ । 

संघीय कृषि मन्त्रालयले २०७५ सालमा व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का लागि १७ करोड रुपैयाँ लागतमा सो भवन निर्माण गरेको थियो । मन्त्रालयले २०७५ चैत ३ गते प्रदेश सरकारलाई सो भवन हस्तान्तरण गर्यो । कृषि विकासका लागि स्थापना गरिएको उक्त भवन लामो समयदेखि प्रयोगविहिन अवस्थामा थियो । 

बिचौलियाको कारणले प्रयोगमा आउन नसकेको भवनलाई गाउँपालिकाका कर्मचारीहरुले डेराको रुपमा प्रयोग गर्दै आएका थिए । परिसरमा गाउँपालिकाले हटिया लगाउँथ्यो । जेनजी विध्वंशमा खरानी बनेको प्रदेश सभाको भवनमा इन्जिनियरले रातो स्टिकर टाँसिदिएपछि प्रदेश सभाले साँघुरो मिडिया सेन्टरको एउटा कोठामा सचिवालय सञ्चालन गरेर आपतकालीन सेवा प्रदान गर्दै आएको थियो । 

सचिवालय सञ्चालनमा आएसँगै कोशी प्रदेश सरकारले मंसिरको दोस्रो साताभित्रै हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।

टिप्पणीहरू