निख्खर कालो चितुवा हेर्नेको घुइँचो
ललितपुरको जावलाखेलस्थित केन्द्रीय (सदर) चिडियाखानामा कालो चितुवा (प्यान्थर) हेर्नेको भीड लागेको छ । इलामबाट उद्धार गरेर ल्याइएको चितुवा अवलोकनका लागि चिडियाखानामा राखिएको छ । निख्खर कालो सो चितुवा हेर्नका लागि आगुन्तकको घुइँचो लागेको चिडियाखानाका प्रमुख सत्यनारायण साहले बताए ।
‘यो चितुवालाई इलामबाट उद्धार गरेर ल्याइएको हो । चिडियाखानामा पहिलोपटक यस्तो जनावर राखिएकाले पनि हेर्नेको भीड लागेको छ । हिजो र आज यहाँ आउनेको भीड छ’,उनले भने । कालो चितुवा कुनै छुट्टै प्रजाति नभएर सामान्य चितुवा नै हो ।
जेनेटिक म्युटेसनका क्रममा अत्यधिक मेलोनिन उत्पादन भएको अवस्थामा कालो पोतो बन्छ । सोही कालो पोतोले गर्दा चितुवाको शरीर कालो बनेको हो । १७ देखि ९० किलोग्राम तौल हुने कालो चितुवा नेपाल, भुटान, भारत, बंगलादेश, श्रीलंका, इन्डोनेसिया, भियतनाम, अफगानिस्तान र अफ्रिकाका केही मुलुकमा पाइन्छ ।
प्रमुख साहका अनुसार नेपालमा यस्तो चितुवाको संख्या निकै कम छ । मांशाहारी प्रजातिको कालो चितुवाले मृग, हरिण, बाँदर, बँदेल, दुम्सी, खरायो, चरा र अन्य ससाना जनावरको मासु खान रुचाउँछ । २३ वर्ष औसत आयु भएको चितुवाले हरेक तीनदेखि चार महिनामा गर्भधारण गर्छ ।
एक पटकमा चितुवाले दुईदेखि चार वटासम्म बच्चा जन्माउने गर्दछ ।

टिप्पणीहरू