नेशनल आईडीको आधारमा मतदाता नामावली

नेशनल आईडीको आधारमा मतदाता नामावली

राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य शुरु भएको छ ।

निर्वाचन आयोगले आजबाट नेशनल आईडी विवरणको आधारमा सम्बन्धित व्यक्तिको उपस्थितिबिनै मतदाता सूचीमा नाम दर्ता गराउन थालेको हो । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले हालसम्म दर्जनौंको त्यसरी मतदाता नामावलीमा नाम दर्ता भइसकेको जानकारी दिए । 

‘कार्यालय आइरहन झन्झट हुने र लामो लाइन बस्नुपर्ने भएकाले यो व्यवस्था गरिएको हो । अहिले मतदाता नामावलीमा दर्ताका निम्ति अनलाइन फाराम भर्नेहरुको हामीले परिचयपत्रमा भएको विवरणका आधारमा धमाधम नाम दर्ता गराइरहेका छौं,’ उनले भने, ‘यसले सेवा प्रवाह चुस्तदुरुस्त हुनुका साथै सेवाग्राहीलाई पनि धेरै सहज भएको महसुल भएको छ ।’

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका निम्ति निर्वाचन आयोगले यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेको छ । तर, समय सकिन लाग्दा नाम दर्ता गराउनेको संख्या बढेपछि आयोगले राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनबाटै दर्ताको व्यवस्था मिलाएको हो ।

टिप्पणीहरू