कारागारबाट भागेका कैदी खोज्न कार्यदल

कारागारबाट भागेका कैदी खोज्न कार्यदल

भदौ २४ गतेको महाविध्वसंको क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे १४ हजार कैदीबन्दीमध्ये ५ हजार बढी अझै फरार छन् ।

देशभरका विभिन्न कारागार र प्रहरी हिरासत कक्षबाट १४ हजार ५५४ जना कैदीबन्दी भागेकोमा अहिलेसम्म ९ हजार ४४१ जनामात्रै पक्राउ परेको गृह मन्त्रालयले जानकारी दिएको छ । कैदीबन्दीलाई पुन: कारागार फर्काउन प्रहरीले विशेष अभियान नै चलाएको छ ।

सिंहदरबारमा आज बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दीलाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरिरहको पनि जानकारी दिए । 

फरार कैदीहरूको सूची सार्वजनिक गरी सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा नदिन सबै निकायमा पत्राचार गरिएकोसमेत उनले बताए । खोजतलासका लागि सबै जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको र सुरक्षातहमा विशेष अपरेसनसमेत जारी रहेको पनि उनले सुनाए । 

'फरार कैदीहरू  सार्वजनिक निकायमा सेवा लिन आएमा सेवा प्रदान नगर्न सबै निकायमा पत्रचार गरिएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरी खोजतलास तीब्रता दिइएको छ', गृहमन्त्रीले भने, 'सुरक्षा निकायमार्फत समेत फरार कैदी पक्राउ गर्न विशेष अपरेसन चलाउने कार्यलाई अगाडि बढाइएको छ ।' 

फरार कैदी र लुटिएका हतियार प्रमुख सुरक्षा चुनौतीका रूपमा रहेको बताउँदै गृहमन्त्री अर्यालले यो चुनौतीलाई परास्त गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताएका छन्। 

नक्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सुरक्षाको कारण देखाउँदै सो पार्टीका नेता-कार्यकर्ताले त्यहाँबाट निकालेपछि देशभरका जेलबाट कैदीबन्दी भाग्नेक्रम सुरु भएको थियो । आफ्नो कारण हजारौँ कैदीबन्दी फरार भएपछि आलोचनामा परेका लामिछाने चार दिनपछि फेरि कारागार फर्किएका थिए।

टिप्पणीहरू