महाविध्वंशमा जलेका निवेदन खोज्दै अदालत

महाविध्वंशमा जलेका निवेदन खोज्दै अदालत

काठमाडौं जिल्ला अदालतले जेनजी विध्वंशका क्रममा आगजनीमा परेका 'फैसला कार्यान्वयन निवेदन' पुनः पेश गर्न आह्वान गरेको छ । 

फैसला कार्यान्वयनका लागि दर्ता भएका झण्डै एक सय थान निवेदन फेला नपरेपछि अदालतले अर्को निवेदन मागेको हो । आज जारी सूचनामा ३० दिनभित्र आवश्यक कागजातसहित निवेदन दिन सम्बन्धित पक्षलाई सूचित गरिएको छ ।  

‘फैसला कार्यान्वयनका निवेदन पुनः प्राप्ति गर्ने प्रयोजनका लागि स्पष्ट बुझिने देहायबमोजिमका कागजातसहित मुद्दाका वादी, प्रतिवादी तथा सरोकारवालासमेतबाट मिति २०८२–०७–२६ गतेदेखि हाललाई ३० दिनभित्र अदालतमा उपस्थित हुनुपर्नेछ’, सूचनामा उल्लेख छ । 

भदौ २४ गतेको महाविध्वंशमा सर्वोच्चसहित विशेष, काठमाडौं जिल्ला अदालतमा ठूलो क्षति पुगेको छ । हजारौं थान मिसिलसहित महत्वपूर्ण कागजात जलेर खरानी भएको छ । 

बरमहलस्थित जिल्ला अदालत भवन आगजनीले ध्वस्त भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणको पुरानो भवनबाट सेवा सुचारु गरिएको छ ।

टिप्पणीहरू