प्रचण्ड-माधव मिलेपछि मोर्चाबाट निस्किए विप्लव
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टीबीच एकीकरण भएसँगै विघटनमा पुगेको समाजवादी मोर्चाबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा अलगिएको छ ।
तीन दलले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी गठन भएसँगै मोर्चाको औचित्य समाप्त भएको निष्कर्षसहित त्यसबाट अलग भएको विप्लवले जानकारी गराएका हुन् । आज वक्तव्य जारी गर्दै उनले नयाँ सन्दर्भमा अब अहिलेकै स्वरुपमा मोर्चाको औचित्य नरहेको बताए ।
'समाजवादी मोर्चामा आवद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिष्ट पार्टी बनाइसकेका छन्', विज्ञप्तिमा भनिएको छ, 'यस्तो स्थितिमा आजैको स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हामो पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ ।'
राष्ट्रिय मुद्दाहरूमा समान धारणा बनाउँदै पार्टी एकतासम्मको लक्ष्य बनाएर २०८० साल असारमा समाजवादी मोर्चा अस्तित्वमा आएको थियो । त्यतिबेला माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपासँगै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि त्यसमा सहभागी थियो । तर, गत वर्ष साउनमा जसपा विभाजन भएसँगै उपेन्द्र मोर्चाबाट अलगिएपछि महिन्द्र राय यादवको नेपाल समाजवादी पार्टी जोडिएको थियो ।
त्यसयता विप्लवलाई संयोजक बनाएर मोर्चाले देशव्यापीरूपमा सञ्जाल विस्तार गरेको थियो । स्थानीय तहसम्मै संगठन बनाएको मोर्चाले काठमाडौँसहित सातै प्रदेशमा आमसभा पनि गरेको थियो ।
राष्ट्रिय स्वाधिनता, राज्यको अग्रगामी रुपान्तरण र जनजीविकाको सवालमा मोर्चाले केही महत्वपूर्ण काम गरेको विप्लवले जनाएका छन् । यद्यपि, जुन रफ्तारमा काम गर्नुपर्ने हो त्यो सम्भव नभएको उनको भनाइ छ ।
मोर्चा घोषणासँगै विप्लवको नेकपाले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो । तर, जेनजी आन्दोलनपछि आफ्नै नेतृत्वमा वामपन्थी ध्रुवीकरण अघि बढाउने पक्षमा उभिएका विप्लव मोर्चाका तीन घटकबीचको एकतामा सहभागी भएनन् ।
नेकपामा विद्रोह गरी दुईवटा समूह भने नेपाली कम्युनिष्ट पार्टीमा एकीकृत भैसकेको छ । विप्लवले भने माओवादी केन्द्रबाट अलग भएका जनार्दन शर्मा र एकीकृत समाजवादीका घनश्याम भुसालसँग मिलेर जाने सहमति गरेका छन् ।

टिप्पणीहरू