सोल्टीमोडको छलफलपछि देउवाका विश्वासपात्र पनि विशेष महाधिवेशनकै लाइनमा

सोल्टीमोडको छलफलपछि देउवाका विश्वासपात्र पनि विशेष महाधिवेशनकै लाइनमा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका कट्टर समर्थक केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि आगामी चुनावअघि विशेष महाधिवेशनको पक्षमा उभिएका छन्।

हाल काँग्रेसभित्र १५औं महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा विवाद तीव्र बनेको छ। संस्थापन पक्ष आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने इतर पक्ष चुनावअघि नै विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने माग गर्दै आएको छ।

यस्तै परिस्थितिमा देउवाका विश्वासपात्र कार्कीले आज बसेको केन्द्रीय समिति बैठकमा एकाएक चुनावअघि ‘विशेष नीति महाधिवेशन’ गर्न प्रस्ताव गरेका हुन्।

उनको प्रस्ताव अनुसार, विवाद अन्त्यका लागि चुनावअघि गरिने विशेष महाधिवेशनलाई ‘नीति महाधिवेशन’का रूपमा रुपान्तरण गर्न सकिने बताइएको छ। पार्टी महाधिवेशनको विषयमा दुई धारबीच विभाजन भई फुटको सम्भावना देखिएको बेला कार्कीले मध्यमार्गी प्रस्ताव ल्याएका हुन्।

उनका अनुसार, अहिले काँग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरिसकेका छन् । त्यसैले चुनावअघि नीति–विशेष महाधिवेशन गर्नुपर्ने उनको तर्क छ।

बैठकमा कार्कीले भने, ‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको परिस्थितिमा चुनावअघि विशेष महाधिवेशन गरौँ। त्यो विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा गरौँ। त्यसबाट शिक्षा, स्वास्थ्य, सन्तुलित कूटनीति लगायतका विषयमा धारणा तय गरौँ। नेतृत्व पछि छानौँला।’

हिजो मात्रै संस्थापन पक्षका १३ जना नेताहरूले पनि प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेका थिए।

कालिमाटी सोल्टिमोडस्थित केन्द्रीय सदस्य राजेन्द्र केसीको घरमा बसेको उक्त बैठकमा केन्द्रीय सदस्य आङगेलु शेर्पा, डा. डिला संग्रौला, पुष्पा भुसाल, प्रदीप सुनुवार, मदनकृष्ण श्रेष्ठ, अब्दुल सत्तार, योगेन्द्र चौधरी, अर्जुन जोशी, देवेन्द्रराज कँडेल, धना खतिवडा र नानु बास्तोला सहभागी थिए। उनीहरूले केन्द्रीय समिति बैठकमा निर्वाचनअघि नै १५औं महाधिवेशन गर्न दबाब दिने निर्णय गरेका थिए।

त्यस्तै, काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशनको कार्यतालिका पेस गरेका छन्। अर्का सहमहामन्त्री (देउवा पक्षीय) महेन्द्र यादवले भने २०८३ साल वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका छन्।

अधिकांश संस्थापन पक्षका नेता र केन्द्रीय सदस्यहरू नै आमचुनावअघि महाधिवेशन गर्नुपर्ने धारमा उभिएपछि काँग्रेसभित्रको यो छलफलले नयाँ मोड लिने संकेत देखिएको छ।

टिप्पणीहरू