मन्त्री र सचिव फेरि विदेश जाँदै

मन्त्री र सचिव फेरि विदेश जाँदै

अन्तरिम सरकारले पनि प्रायः सबैजसो क्याबिनेट बैठकमा मन्त्री, सचिव तथा सरकारी अधिकारीहरुलाई विदेश भ्रमणमा पठाउने निर्णय गर्दै आएको छ । हिजोको क्याबिनेट बैठकले गरेका डेढ दर्जन निर्णयमध्ये तीन वटा विदेश भ्रमणसँग सम्बन्धित छन् । यसअघिका सरकारमाथि विदेश भ्रमण गराएको आरोप लाग्दै आएको थियो ।

हिजोको बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको भारत भ्रमण स्वीकृत गरेको छ । भारतको विशाखापटनमा आगामी शुक्रबार र शनिबार हुने ३० औं पार्टनर समिटमा मन्त्री सिन्हा सहभागी हुने कार्यक्रम छ ।

त्यस्तै, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालको भारत भ्रमण स्वीकृत गरिएको छ । भोलिदेखि नयाँ दिल्लीमा हुन लागेको ‘नेपाल–भारत कोर्डिनेशन मिटिङ’ को ९ औं बैठकमा सहभागी हुन आईजीपी अर्याल नेतृत्वको प्रतिनिधिमण्डल आज त्यता गइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव विश्वबाबु पुडासैनीलाई अष्ट्रेलिया जान पनि स्वीकृति दिएको छ । आउँदो मंसिर ८ गतेदेखि १२ गतेसम्म सिड्नीमा हुने एक कार्यक्रममा सहभागिताका लागि पुडासैनीलाई अनुमति दिइएको हो ।

टिप्पणीहरू