हिजो नियुक्त मन्त्रीलाई आज स्पष्टीकरण

हिजो नियुक्त मन्त्रीलाई आज स्पष्टीकरण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेश सरकारकी नवनियुक्त मन्त्री कञ्चन विच्छालाई स्पष्टीकरण सोधेको छ । पार्टीको केन्द्रीय अनुशासन आयोगले आज उनीसँग २४ घण्टे स्पष्टीकरण मागेको हो । 

एमाले संसदीय दलका नेता सरोजकुमार यादवले हिजो बिहान मुख्यमन्त्रीको शपथ खाएलगत्तै तीन मन्त्री नियुक्त गरेका थिए । एमालेबाट लखन दास, संघीय समाजवादी पार्टीबाट विमला अन्सारी र राप्रपाबाट बिच्छा मन्त्री बनेका थिए ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बिच्छालाई सरकारबाट तुरुन्त फिर्ता हुन हिजो निर्देशन दिएका थिए । तर, उनले अध्यक्षको निर्देशन नमानेपछि आज केन्द्रीय अनुशासन आयोगका सचिव भक्तिप्रसाद सिटौलाले ‘राप्रपाको विधान २०४८ (संशोधन सहित २०७८) दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो ?’ भन्दै पत्र पठाएका हुन् । 

मुख्यमन्त्री नियुक्तिको विवादले हिजोदेखि मधेशको अवस्था तनावग्रस्त छ । सरकार गठनको आह्वान नै नगरी बर्दिबासस्थित एक होटलमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई सरकारले बर्खास्त गरिसकेको छ । 

सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै तीन वटा रिटसमेत परेको अवस्था छ ।

टिप्पणीहरू