झाँक्रीशैलीले जहिल्यै झन्झट
नेपाली राजनीतिमा विद्रोहको विम्व बनेकी रामकुमारी झाँक्रीआत्मसमर्पण भावमा नेकपा एमालेमा फर्किइन् । झण्डै ४ वर्षपछि पुरानै घर फर्किएकी उनलाई भित्र्याउन 'घर फर्क' अभियानको नाममा निकै तामझाम गरिएको थियो । २०७७ पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेदेखि नै 'ओली विरोधी' खेमाको उर्जाशील नेतृ थिइन् झाँक्री ।
तत्कालीन नेकपामा प्रचण्ड-माधव समूहले चर्काएको अन्तरसंघर्षलाई सडक र मिडियामार्फत हाइलाइटमा ल्याउने काम गरेकी झाँकीले आफ्नै अध्यक्ष प्रधानमन्त्री रहेको सरकारको विपक्षमा भोट हालिन् । ओली सरकार ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा सर्वोच्च अदालतमा लाइन लागेर दस्तखत गरिन् । पार्टी विभाजन गर्ने बेलासमेत निर्णायक भूमिकामा रहेकी उनी अहिले एमालेमा फर्किँदा भने धेरै गलिसकेको देखिएकी छन् ।
माधव नेपालले पार्टीलाई माओवादीमा बिलय गराए भन्दै एमाले फर्किएपनि उनको घर फर्किने तयारी भने ०७९ को चुनाव लगत्तैदेखि हो । झाँक्रीले जब गुल्मीमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चालगायत ५ दलीय गठनबन्धनबाट उम्मेदवार हुँदा पनि पराजय व्यहोरिन् त्यसपछि एमाले फर्किने मनसाय बनिसकेको थियो ।
गुल्मीबाट काठमाडौं फर्किनेक्रममा बुटवल आइपुग्दा भेटिएका विष्णु पौडेलसँगको कुराकानीमा उनले एमाले छोडेर गल्ती गरेको आसय व्यक्त गरेकी थिइन् । निर्वाचन हारेदेखि नै एमालेसँगको आत्मीयताले तानिएकी झाँक्रीले यतिबेला भने सानदार ढंगले भाषण गर्ने मौका पाइन् । पार्टी प्रवेश कार्यक्रममा 'कलम चिन्ह फिर्ता ल्याएकी छु' भन्दै ओलीको हातमा कलम थम्याएर सिङ्गै नेकपा एस आफ्नो पक्षमा रहेको जनाऊ दिइन् ।
तर, नेकपा एस विभाजित भएर देखिनेगरी तीन टुक्रा भएको छ । ओलीका समकालीन नेता घनेन्द्र बस्नेतदेखि घनश्याम भुसालसहितको एउटा समूह पार्टी पुनर्गठनको तयारीमा जुटेको छ । यो समूह पार्टीको नाम र चुनाव चिन्ह कलम जोगाउन लागिपरेको देखिन्छ ।
यत्तिकै पनि एमाले फर्कन तयार भएर बसेका केही केन्द्रीय सदस्यलाई जम्मा पारेर गर्वका साथ ओलीलाई कलम बुझाए पनि झाँक्रीसँग नेता-कार्यकर्ताको ठूलोपंति भने छैन । उनीसँगै 'घर फर्किएका' मध्ये चिनिएका नेता एकजना किसान श्रेष्ठ हुन् । उनी ओलीको खम्बा भएर उभिएका महेश बस्नेतका खास मान्छेका रूपमा चिनिन्छन् । उनी एक वर्षदेखि एसमा निश्क्रिय थिए ।
अर्का केन्द्रीय सदस्य सिन्धुपाल्चोकका गम्भीरलाल श्रेष्ठ र भक्तपुरका ध्रुव विष्ट सहकारी क्षेत्रका व्यक्तिहरूसँगको सम्बन्ध र प्रभावका कारण नेकपा एस हैन एमालेतिरै निकट थिए । माइलस्टोन सहकारीलाई संकटमा पारेको र पैसा फिर्ता दिन नसकेको विषयमा विवादमा जोडिएका व्यक्ति हुन् गम्भीरलाल । ध्रुव चैं हाल जेलमा रहेका सहकारी बैंकका अध्यक्ष केबी उप्रेती निकटका रूपमा चिनिन्छन् ।
पार्टी प्रवेश कार्यक्रममा कसैलाई पद सुनिश्चित नगरिएको भनिए पनि झाँक्री र श्रेष्ठलाई महाधिवेशनबाट केन्द्रीय सदस्य पक्का गरिएको जानकारहरू बताउँछन् ।
झाँक्रीले ०७७ पुस ५ पछि गरेका भाषणहरूमा ओली, एमाले र तत्कालीन राष्ट्रपति विद्या भण्डारीलाई गरेका गाली सुन्दा आज पनि लाज मान्नुपर्ने खालका छन् । उनका गालीयुक्त भाषण सुन्नेहरूलाई नै लज्जित तुल्याउने खालका थिए । तर, अहिले ओली र विद्याबीच द्धन्द्ध चर्किएको मौका पारेर एमाले भित्रिएकी झाँक्रीले अब अध्यक्ष ओलीको बचाउमा गर्ने भाषणको पनि अनुमान गर्न गाह्रो छैन ।
यो बीचको पाठ सिकाइले माधव,झलनाथ र प्रचण्डलाई गाली गर्ने सवालमा भने झाँक्री अब सच्चिन सक्नेछिन् । ओलीलाई विरोध गर्दा 'बोल्न पाइन्छ' भनेर मुखमा बाँधेको टेप खोलेर फ्याँक्दै प्रदर्शनीमार्गको सडक सभामा बोलेको जस्तै 'घर फर्क' कार्यक्रममा रातो कफन शीरमा बाँध्ने, झण्डा बोक्नेदेखि ओलीलाई कलम बुझाउने जस्ता विम्व बडो सीपयुक्त ढंगले प्रदर्शन गरिन् ।
तथापि, कुशलतापूर्वक विगतका दाग मेटाएर एमाले पस्न खोजेपनि उनलाई स्वागत गर्नेहरूले नै सामाजिक सञ्जालमै कटाक्ष गरेको देखिन्छ । राजनीतिमा अनेक शैलीले आफूप्रति एटेन्सन तान्न सक्ने झाँक्रीको राजनीतिक जीवन कस्तो हुन्छ ? त्यो उनको भूमिका र गतिविधिमै भर पर्ला !
तर, विरोधका नाममा विगतमा गरेका अशिष्ट गालीप्रति आत्मबोध नगरी परिस्थितिअनुकूल हुने नाममा भएको यो घर फिर्तीले भने राजनीतिको विकृत रोग दोस्रो पुस्तामा पनि सर्लक्कै सरेको स्पष्ट छ ।

टिप्पणीहरू