कुसुमको रिट खारेज,देवीलाई जस्तै समात्ने तयारी
दर्जनौं सहकारीको रकम हिनामिना गरेको आरोपमा नेकपा एमालेका पूर्वसांसद एवं प्रभु ग्रुपका सञ्चालक देवीप्रकाश भट्टचन समातिएसँगै प्रभु म्यानेज्मेन्टकी पूर्वप्रबन्ध निर्देशक कुसुम लामालाई पनि पक्राउ गर्न बाटो खुलेको छ ।
लामो समयदेखि ‘स्टे अर्डर’ का भरमा जोगिँदै आएकी उनको आज उच्च अदालत पाटनले रिट खारेज गरिदिएको छ । न्यायाधीशद्वय राजकुमार खतिवडा र अवनी मैनाली भट्टराईको संयुक्त इजलासले लामाको रिट खारेज गरिदिएको हो ।
योसँगै उनलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । लामालाई आजै पक्राउ गर्ने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को तयारी थियो । त्यसका निम्ति सिआइबी टोली बिहानैदेखि अदालतमा तैनाथ थियो । तर,लामा अदालतमा देखा परिनन् । र सिआइबी टोली रित्तो हात फर्कियो । विदेशमा रहेका नेपालीका गाउँमा रहेका आफन्तलाई सहकारीमार्फत गाउँमै विप्रेषण भुक्तानीको व्यवस्था मिलाउने नाममा तीन दर्जन बढी सहकारीको अर्बौँ रकम हिनामिना गरी दुई वर्षदेखि लामा सम्पर्कविहीन छिन् ।
आजै पक्राउ गर्ने केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को तयारी थियो । त्यसका निम्ति टोली बिहानैदेखि अदालतमा तैनाथ थियो । तर,लामा अदालतमा देखै परिनन् ।
उनी हाल मलेसियामा घरजम गरी बसेको बुझिएको छ । सहकारी संस्थाहरुको उजुरीपछि प्रहरीले यससम्बन्धमा अनुसन्धान अघि बढाएको थियो । त्यस क्रममा लामालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी जारी गरे तापनि उच्च अदालतको स्टे अर्डरका कारण रोकिएको थियो ।
तर,यही प्रकरणमा उनका साझेदार भट्टचन गत कात्तिक ११ गते समातिएसँगै उच्च अदालतले लामाको स्टे अर्डर पनि खारेज गरिदिएको हो । अब उनी जुनसुकै बेला पक्राउ पर्न सक्छिन् भने यस प्रकरणमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई तान्ने उनको दाउ पनि कमजोर बन्न पुगेको देखिन्छ ।

टिप्पणीहरू